पोखरा–बागलुङ हाइवेको बीचमा पर्ने काँडेबाट उकालो लागेपछि सुरु हुन्छ मार्दी हिमाल बेसक्याम्प जाने रुट । अरु रुट पनि छन् तर चल्तीको रुट काँडेबाट उकालो लागेपछि सुरु हुन्छ ।
अष्ट्रेलियन क्याम्पबाट नै माछापुच्छ्रेसँग आँखा जुधाएर बाटो अघि बढ्छ, केहि ठाउँमा समथर र केही ठाउँमा उकालो अनि सँगै जंगलको उकालोको मजा लिंदै पोथाना, पितम देउराली, कोकर फरेस्ट क्याम्प, लो क्याम्प, हाइ क्याम्प हुँदै मार्दी हिमाल बेस क्याम्प पुग्न सकिन्छ । बाटोमा रहेका साना खाजा पसलहरुले पैदलयात्रुलाई स्वागत गरिरहेका हुन्छन् ।
पितम देउरालीसम्म स्थानिय बस्तीले रमणिय बनाउँछ । बाटोमै अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि हिमालसँग ठोकिएजस्तै गरि हिड्न पाउँदाको अनुभव झन बेग्लै । झनै जंगलको त कुरै बेग्लै ।
यो रुटको अन्तिम बसाईं भने हाइक्याम्पमा हो । पुगेको दिन हाइक्याम्पमा बसेर विहानै हिमालमा घामको पहिलो झुल्को हेर्ने आन्तरिक र विदेशी पर्यटक भ्यू पोइन्टतिरको उकालो लाग्छन् ।
विहान मोबाइल लाइट र टर्च लाइटले मान्छेको लस्कर पनि रमाइलो लाग्छ । अप्पर भ्यू पोइन्ट पुगेपछि घामपनि उदाउन थाल्छ । अनि सुरु हुन्छ हिमालमा घामको स्पर्श । ठ्याक्कै आँखा अगाडी माछापुच्छ«े, अन्नपूर्ण र मार्दी हिमाल देखिएपछि मन फुरुङ्ग भैहाल्छ । ४२०० मिटरको भ्यूपोइन्टबाट अगाडी मार्दी हिमाल बेसक्याम्प हो ।
अधिकाँश भ्यूपोइन्टमा रमाएपनि केहि भने बेसक्याम्प नै पुग्छन् । बेसक्याम्प ४५०० मिटरको उचाइमा छ । एकैछिनमा घाम लाग्ने, एकैछिनमा बादल । घाम र बादलले हिमाललाई जिस्काएजस्तो । कतिखेर पुरै बादल हटेर पुरै हिमाल देख्न पाइन्छ भन्ने व्यग्र प्रतिक्षामा पर्यटकहरु । घाम र बादलको लुकामारीले पनि एकैछिन रमाइलो बनाउँछ ।
बेसक्याम्पस वा अप्पर भ्यू पोइन्टबाट फर्केर आउने भनेको हाइक्याम्प हो । त्यसपछि फिडिङ गाउँको ओरालो यात्रा सुरु हुन्छ । अनि हेम्जा हुँदै पोखरा र नत्र उहि गएको रुटबाट फर्कने विकल्प त छँदैछ ।