काठमाडौं । हिन्दु धर्मावलम्बीले आज नागको पूजा गरेर नागपञ्चमी मनाउँदै छन्। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजार्चना गरी मनाइँदैछ।
नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नी, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने धार्मिक मान्यता रहेकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ।
वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ।
उदयकालको पञ्चमी तिथि भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुंगेलले बताए।
काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी