पछिल्लो समय शिवपुरी राष्ट्रिय निकुञ्जस्थित गोकर्णेश्वर नगरपालिका–१ मा रहेको मानव निर्मित विशाल धाप ड्याम ताल पर्यटकको नयाँ गन्तव्य बन्दै गएको छ। बर्खाको समय पानी जम्मा गरेर हिउँदमा बागमतीमा बगाउने उद्देश्यले निर्माण गरिए पनि काठमाडौं नजिकै रहेको मनमोहक मानव निर्मित ताल पर्यटक रोजाइमा पर्न थालेको हो। बागमती सरसफाइको उद्देश्यले बाँध निर्माण सुरु गरिए पनि अहिले यो ताल पर्यटकीय हिसाबले आकर्षक गन्तव्य स्थलको रूपमा परिचित हुँदै छ।
ड्याम करिब १३ हेक्टरमा फैलिएको छ। ड्याम अवलोकन गर्दा तालको ७५ प्रतिशत भाग देखिनुका साथै सिजनअनुसार विभिन्न हिमशृंखला र निकुञ्जभित्रका अन्य प्राकृतिक दृष्यसमेत अवलोकन गर्न सकिन्छ।
धाप बाँध पुग्न शिवपुरी–नागार्जुन निकुञ्ज हुँदै जानुपर्ने हुन्छ। यहाँ सुन्दरीजल, मूलखर्क, हिलेभन्ज्याङ हुँदै जान सकिन्छ भने कागेश्वरी मनोहरा नगरपालिकाको कागेश्वरी मन्दिरको दर्शन गर्दै बीच बाटोमै पर्ने मडिचुड दहको अवलोकन गर्दै जान सकिन्छ। त्यसैगरी धाप ड्याम बाट ३ किमिको दूरीमा अवस्थित अर्को पर्यटकीय स्थल चिसापानीमा खाना खाजा खाएर पुन काठमाडौं फर्कन सकिन्छ।
चाबहिलबाट बाँधसम्मको दूरी करिब ३५ किलोमिटर भएकाले आफ्नै सवारीसाधनको प्रयोग गरेर पनि धाप ड्याम पुग्न सकिन्छ। त्यसैगरी चाबहिल–साँखु–जरसिङपौवा हुँदै पनि ताल पुगिन्छ। यो रुटबाट जाँदा ३३ किलोमिटरको दूरी पार गर्नुपर्छ।
धाप ड्याम निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले प्रतिव्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क लाग्छ। साथै, मोटरसाइकल÷स्कुटरमा जाँदा प्रतिसाधन १५० र व्यक्तिको छुट्टै शुल्क गरी २५० रुपैयाँ तिर्नुपर्छ।
‘पर्यटकका लागि अहिले कुनै पनि आवश्यक पूर्वाधारहरू बनिसकेका छैनन्। केही समयमा सार्वजनिक शौचालय, ड्यामको हेरचाहका लागि भ्यू पोइन्टलगायत आवश्यक पूर्वाधार निर्माण सुरु भइरहेको छ।
शब्द/तस्बिर : नेपाल फोटो लाइब्रेरी