काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाको प्रदर्शनी ‘टेक एक्स २०२४’मा विद्यार्थी, कर्पोरेट क्षेत्र र सर्वसाधारणको सहभागिता उल्लेख रहेको छ।
प्रदर्शनीमा स्वचालित एआई गन, रोबोटिक डग, लाइब्रेरी तथा एयरपोर्ट म्यानेजमेन्टका लागि लक्षित गरी निर्माण गरिएका असिस्टेन्ट एआई रोबोट र गोदाम व्यवस्थापनको अर्धस्वचालित प्रविधि, एआई रोबोटिक शिक्षकको अवलोकन गर्न पाइन्छ।
विद्यार्थीले पासवर्ड क्रयाकिङको विश्लेषण गर्ने रोबर्ट पनि प्रदर्शनीमा राखेका छन्। प्रदर्शनीमा बैंकिङ, टुर गाइड, फुटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, रोबोट वारलगायत ३० भन्दा बढी परियोजना रहेका छन्।
डिल्लीबजारस्थित सफ्टवेरिका कलेज अफ आईटी एन्ड इकमर्सको आयोजनामा कलेज परिसरमा आयोजित मेलामा कलेजमा स्नातक तह दोस्रो र तेस्रो वर्षमा अध्ययनरत सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेका उत्पादन प्रदर्शन गरिएको कलेजका निर्देशक अमृत थापाले बताए।
साउन १५ देखि सुरु प्रदर्शनी २० गतेसम्म सञ्चालन हुनेछ। प्रविधिमा रुचि राख्नेले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सक्नेछन्।