चितवन । चितवनको सिमलतालमा बस दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी कार्यलाई सुरक्षा निकायका अधिकारीहरूले तीव्रता दिएका छन्।
सिमलतालमा लेदोसहितको पहिरोमा परी तीन दिनदेखि त्रिशूली नदीमा हराइरहेका दुई यात्रु बहाक बसको खोजी आइतबार बिहानैदेखि पनि जारी गरहेको छ। खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको टोली सक्रिय छ।
नदीमा पानीको सतह केही घटे पनि यात्रु र बस अझैँ फेला पर्न सकेका छैनन्। आज भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पनि घटनास्थलको निरीक्षण गरेकी छन्।
सशस्त्र प्रहरी बल नेपाल एवं विपद् तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव पौडेलका अनुसार नेपालका नदीमा खोजतलास गर्नसक्ने अन्तर्राष्ट्रिय तालिम प्राप्त गोताखोर र प्रविधिको प्रयोगगरी खोजतलास भइरहेको छ। बंगलादेशबाट तालिम प्राप्त १० जना गोताखोर परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर तीन गढिमाइ बाहिनी मुख्यालय मकवानपुरका वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी तीर्थ पौडेलले एन्कर (फलामे हुक), वाटर ड्रोन (सोनार), पाइप इन्स्पेक्सन स्वेर क्यामरालगायत आधुनिक उपकरणको प्रयोग गरी खोजी कार्य भइरहेको बताए।
'नदीको धमिलो र बगिरहेको पानीमा गोताखोरले आधुनिक उपकरणको प्रयोग गरी खोजी गरिरहेका छन्', उनले भने, 'अन्तर्राष्ट्रिय रुपमा समुन्द्रको सफा पानीका लागि तयार पारिएका उपकरण धमिलो पानीमा प्रभावकारी नहुने भएकाले सोहीअनुसारका उपकरण प्रयोग गरिएको छ।'
हालसम्म तीन वटा शव फेला परेका छन्। असार २८ गते बिहान ३:३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर २९ नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए।
तस्बिर : नेपाल फोटो लाइब्रेरी।