पाल्पाको तानसेनका २२ वर्षीय आयुष सुवेदीको कथा नेपालमा युवा उद्यमशीलताको सम्भावना र महत्त्वलाई उजागर गर्छ। देशको आर्थिक विकास र रोजगारी सिर्जनामा युवाको भूमिका लागि प्रेरणाको स्रोत बन्न सक्छ। उनले मात्र १८ वर्षको उमेरमा आफ्नो व्यावसायिक यात्रा सुरु गरे, जुन धेरैका लागि अचम्मको विषय हुन सक्छ।
हाल व्यवसाय व्यवस्थापनमा स्नातक अध्ययनरत आयुषको शैक्षिक र व्यावसायिक यात्रा निकै रोचक छ। उनका बुबा चिकित्सक हुन्। उनी चाहन्थे, आयुष पनि डाक्टर बनून्। तर, आयुषको मनमा व्यवसाय गर्ने व्यवसायी बन्ने इच्छा थियो।
‘मैले बुबाको सपनाअनुसार नै डाक्टर पढ्न प्लस टूसम्म काठमाडौंमा अध्ययन गरें। तर, कोभिड–१९ को समय परिवारसँग व्यवसाय गर्ने प्रस्ताव राखेँ। अध्ययनमा लाग्ने खर्च व्यवसायमा लगानी गर्ने र त्यसैबाट मुनाफा कमाउने मेरो योजना थियो’,उनी विगत स्मरण गर्छन्।
परिवारको समर्थनमा आयुषले १ करोड रुपैयाँ लगानीमा तिलोत्तमा नगरपालिका ९, रुपन्देहीको शंकरापुरमा मदानी होटल सुरु गरे नेपालकै राम्रो नगरपालिकामध्येको नगरपालिका मानिने तिलोत्तमा नगरपालिकाको सिद्दार्थ राजमार्ग अन्तर्गत शंकरापुरमा उनको होटल छ। होटलमा १६ वटा कोठा (स्वीट, डिलक्स, सामान्य), मिटिङ हल, ब्यांक्वेट, बार र रेस्टुरेन्ट छन्। राजमार्गमै रहेकोले लामो यात्राका यात्री, विशेषगरी भारतीय पर्यटक उनकेा मुख्य ग्राहक हुन्।
तर, यो यात्रा सजिलो थिएन। ‘व्यवसाय दर्तादेखि नै धेरै चुनौतीहरू आए’, उनी भन्छन्, ‘नेपाली प्रशासनिक प्रक्रिया झन्झटिलो छ। सानै उमेरमा व्यवसाय गर्दा मानिसले विश्वास नगरेको अनुभव गरें।’
आयुषले सुरुवाती चरणमा हिसाब–किताबदेखि व्यवस्थापनसम्म सबै काम आफैं गरे। ‘होटलमा चोरी भएको र उधारो खाएर पैसा नउठेको जस्ता समस्याहरू पनि भोगें’, उनी थप्छन्। यी चुनौती बाबजुद आयुषले उल्लेखनीय सफलता हासिल गरेका छन्। उनको होटलले २० जनालाई प्रत्यक्ष र मौसमी आधारमा थप १०–१२ जनालाई रोजगारी दिएको छ। हालै उनले थप १ करोड लगानी गरेर नयाँ संरचना निर्माण गरेका छन्, जसमा कुल लगानी २ करोड पुगेकाे छ।
‘मेरो लक्ष्य होटललाई एउटा राष्ट्रिय ब्रान्डको रूपमा स्थापित गर्नु र देशभर शाखाहरू विस्तार गर्नु हो’, आयुष आफ्नो भविष्यको योजना बताए। आयुषको कथाले देखाउँछ कि उमेर सफलताको बाधक होइन। दृढ संकल्प, परिवारको समर्थन र कडा परिश्रमले कसरी एक युवालाई सफल उद्यमी बनाउन सक्छ भन्ने उनको यात्रा एक उदाहरण हो। उनको अनुभवले नेपालका अन्य युवाहलाई पनि आफ्नो सपना पछ्याउन र उद्यमशीलताको बाटोमा अघि बढ्न प्रेरणा दिनेछ।
आयुषको कथा नेपालमा युवा उद्यमशीलताको सम्भावना र महत्वलाई उजागर गर्छ। यसले देशको आर्थिक विकास र रोजगारी सिर्जनामा युवाहरूको भूमिका कति महत्त्वपूर्ण हुन सक्छ भन्ने देखाउँछ। आयुषजस्तै अरू धेरै युवा उद्यमीको उदय नेपालको आर्थिक भविष्यका लागि आशाको किरण हुन सक्छ।
तस्बिरः मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी