काठमाडौं। असनचोकबाट बांगेमुढातिर लाग्दा सायद कोही पनि नहुन सक्छ, हार्मोनियमको आवाज नसुन्ने। हत्तपत्त कोही पनि नछिर्ने पुरानो र साँघुरो घर। हे, त्यही घरको पहिलो तल्लामा छ, हरेराम म्युजिक सेन्टर। हरेराम शाह अर्थात् हार्मोनियम मिस्त्री। नेपाली संगीत जगतमा लागेका र लाग्दै गरेका जोकोहीलाई पनि थाहा छ, हरेरामबारे। बुबा थाकाराम शाहको पाँच दाजुभाइमध्येका जेठा छोरा हुन्, हरेराम। हरेरामले जे–जति सिके, आफ्नो बुबासँगै सिके। उनी बुबासँग १५ वर्षकै उमेरमा हार्मोनियम बनाउन नेपालका विभिन्न जिल्ला चहारे। पछि २०३४/३५ तिर मात्र असनको न्हैकंनतलाको घरमा डेरा गरी हार्मोनियम मर्मत गर्न थालेको उनी बताउँछन्। त्यस समयदेखि उनी हार्मोनियम मर्मतमै सक्रिय छन्।
हरेराम शाह उमेरले ६ दशक कटिसकेका छन्। उनी प्रत्येक दिन आफ्नो म्युजिक सेन्टरमा हार्मोनियम मर्मत गर्न व्यस्त देखिन्छन्। पुख्र्यौली पेसा भएर होला जोस र जाँगरमा अलिकति पनि कमी आएको छैन। तर, आँखालाई भने चस्मा नभई नहुने भएको छ।
उनी कुशल हार्मोनियम मिस्त्री मात्र होइनन्, हार्मोनियम वादक पनि हुन्। १६÷१७ वर्षकै उमेरमा गायक एंव संगीतकार फत्तेमान राजभण्डारीले रुचाइएका उनलाई नेपाली संगीतका महान् हस्ती अम्बर गुरुङले हार्मोनियम बजाउन सिकाएका थिए। गुरुङले हरेरामलाई हार्मोनियम बजाउन मात्र भने सिकाएनन्, पछि आफ्नो वाद्यवादक भित्रसमेत राखेको हरेराम सुनाउँछन्।
पाकिस्तानी गजल सम्राट गुलाम अलिदेखि नेपालका महान सांगीतिक हस्तीले पत्याएका हरेराम आफ्नो पसलमा हार्मोनियम मर्मत गर्न आउने जोकोहीसँग पनि मिठो बोल्ने गर्छन् र संगीत–साधना गर्न हौसला दिने गर्छन्। तीन सन्तानका बुबासमेत रहेका उनी यही कामबाट दुई छोरा र एक छोरीलाई डाक्टर बनाउन सफल भएका छन्। श्रीमती सुनैना शाह र दुई छोराले पनि हार्मोनियम मर्मत गर्ने भएकाले हरेराम खुसी छन्। हरेरामले अहिले १७ वर्षीय चन्दन झा र इन्द्रजीत शाहलाई हार्मोनियम मर्मत तालिम दिइरहेका छन्।
तस्बिरः नेपाल फोटो लाइब्रेरी