मनीष अर्याल/नेपाल फोटो लाइब्रेरी
पूर्वी नवलपरासी (नवलपुर) को उत्तरी भेगमा पर्ने ग्रामीण पालिकामध्य बुलिङटार गाउँपालिका पनि पर्छ। नेपालमै पर्यटकीय क्षेत्रमा चिनिएको महाभारत शृंखलाअन्तर्गत समुद्री सतहदेखि १९३६ मिटर अग्लो देवचुलीडाँडाको काखमा अवस्थित सुन्दर गाउँमा मगर जातिको बाहुल्य छ। सुन्दर र शान्त गाउँमा घरबास (होमस्टे) को सञ्चालन २०७३ देखि सुरु गरिएको हो।
गाउँकै नाम र मगर समुदायलाई जोडेर ‘चुलीबोझा मगर सामुदायिक होमस्टे ’नाम दिइएको छ। पूर्वपश्चिम राजमार्गबाट २५ किलोमिटरको दूरीमा उत्तरतर्फ लागेपछि चुलीबोझा पुग्न सकिन्छ। बुलिङटार गाउँपालिका–४ मा अवस्थित छ, चुलीबोझा सामुदायिक मगर होमस्टे। मगर होमस्टेमा मगर समुदायको कला–संस्कृति (करुवा र झाम्रे नाच)सँगै स्थानीय क्षेत्रमा उत्पादित वस्तुबाटै बनेका खाना परिकार कोदोको ढिँडो, सिस्नुको अचार, लोकल कुखुराको स्वाद लिन पाइन्छ। होमस्टेअन्तर्गत हाल पाहुनाका लागि १३ वटा घर रहेका छन्। होमस्टेमा तीन वटा हलकोठासहित २४ कोठा रहेको र एकै दिन ५० जनासम्म पाहुना राख्न सक्ने व्यवस्था छ।
जिल्लाभित्र र नजिकका छिमेकी जिल्लाबाट पनि आन्तरिक पर्यटक बास बस्न र रमाइलो गर्न आउने गरेको होमस्टे सञ्चालक हेमलाल बराल बताउँछन्। जिल्लाकै अग्लो देवचुलीडाँडामा पदयात्रा गर्न जाने पर्यटक, तराईबाट गर्मी छल्न आउने र होमस्टेमा बास बस्न आउने गरेका छन्।
चुलीबोझामै उत्पादन भएको कोदो, मकै, फापरको ढिँडो, लोकल कुखुराको मासु, दाल, सिस्नो, अमिलो, सुन्तला, केरा , तरुल, पिँडालु, भट्ट, गहतलगायत गेडागुडी परिकारको स्वाद लिन पनि बजारमा बसोबास गर्नेहरू होमस्टे आउने गर्छन्। मगर समुदायको मौलिक संस्कृति जगेर्ना गर्न र पर्यटकलाई मनोरञ्जन दिन मगर समुदायमा चर्चित करुवा नाच, झाम्रे नाच प्रस्तुत गर्ने गरिन्छ।
चुलीबोझामा रहेको होमस्टेबाट देवचुली र वरचुली डाँडा, उत्तरतर्फ धौलागिरि, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य, धौबादीको फलाम खानीको डाँडासमेत अवलोकन गर्न सकिन्छ। यस्तै यहाँका भीरमा रोपिएका अम्रिसो खेती र रमणीय वातावरणले जोकोहीको मन रमाउँछ। पाहुनाको सेवाशुल्क निर्धारण साथै व्यवस्थापन यहाँको होमस्टे समितिले गर्छ।