सोलु। पछिल्लो समय नेपालमा विदेशीका साथै स्वदेशी पर्यटकको चहलपहलले पर्यटन क्षेत्रमा उत्साह जागेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को ९ महिना (जनवरीदेखि सेप्टेम्बर) सम्म ६ लाख ८५ हजार हाराहारी विदेशी पर्यटक भित्रिएका छन्। पर्वतीय सिजनमा पर्यटक संख्या वृद्धि हुने पर्यटन व्यवसायी छन्। ट्रेकिङमा पनि विशेषगरी आन्तरिक पर्यटकको संख्या उत्साहजनकै छ। हिमाल आरोहणसँगै नजिकबाट हिमाल हेर्न नेपालमा पदमार्ग बग्रेल्ती छन्।
ट्रेकिङ रुचाउनेका लागि सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिकामा नयाँ पदमार्ग सुरु भएको छ। ‘एभरेष्ट दूधकोसी सांस्कृतिक पदमार्ग’ नाम दिइएको पदमार्ग तल्लो सोलु क्षेत्रबाट सुरु भई विश्वकै सर्वोच्च शिखर सगरमाथासँगै २८ बढी हिमाल दृश्यावलोकन गर्दै स्थानीय शेर्पा, खालिङ राईहरुको संस्कृतिमा रमाउन पाइनेछ। माप्य दूधकोसीको सहयोगमा दक्ष गाइड, नक्सा विज्ञ, जीपीएस एक्सपर्टलगायत टिमको निरन्तर अध्ययन र मिहिनेतपछि यो नयाँ पदमार्ग सुरुआत गरिएको हो।
यो पदमार्ग सोलु सदरमुकाम सल्लेरी बजारबाट ७ किलोमिटर दूरीमा रहेको माप्य दूधकोसी पालिका–५ मा पर्ने सिलिगुडी डाँडा (३०२०) मिटरबाट सुरु हुन्छ। काठमाडौंबाट हिँडेको पहिलो दिनमै सल्लेरी पुगेर त्यहाँबाट जिपमा सिलिगुडी डाँडा पुग्न सकिन्छ। सिलिगुडी डाँडामा पालिकाको सहयोगमा गोठ स्टे तयार पारिएको छ। सल्लेरी–लुक्ला सडक खण्डअन्तर्गत पर्ने सिलिगुडी डाँडामा गोठ स्टेलगायत अन्य होटल पनि छ । सिलिगुडी डाँडामा यात्राको थकाइ मेटाउँदै सगरमाथासँगै २८ अन्य हिमाल देख्न पाइन्छ।
यही डाँडाबाट एभरेष्ट दूधकोसी सांस्कृतिक पदमार्ग सुरु हुन्छ। सिलिगुडी डाँडाबाट रातनांगे डाँडा हँुदै हिमशृंखलाको अनुभव लिँदै गुराँसैगुराँसको जंगल हुदै करिब ४ देखि ५ घन्टाको ट्रेकिङपछि घुम्नेमेरागाउँ पुग्न सकिन्छ। घुम्नेमेरा शेर्पा समुदाय बसोबास गर्ने गाउँ हो। सांस्कृतिक पदमार्गअन्तर्गत पर्ने घुम्नेमेरामा रहेको च्याङमितेङ गुम्बामा शाकाहारी खाना खाएर स्थानीय शेर्पाको नाच र संस्कृतिमा रमाउन पाइन्छ। घुम्नेमेराबाट उकालो लाग्दै करिब २ घन्टाको हिँडाइपछि कुदाम मिड क्याम्प पुग्न सकिन्छ। कुदाम मिड क्याम्प खुला चौर भएकाले तत्काललाई टेन्ट गाउँपालिकाले व्यवस्था गर्ने र गोठ स्टे बनाउन पालिकाले योजना अगाडि बढाएको छ। पहिलो रात कुदाम मिड क्याम्पमा बिताएर दोस्रो दिन बिहानै सूर्योदय हेर्न मिड क्याम्प देखि १ घन्टा उकालो चढाइपछि कुदाम हाई क्याम्प (३२०० मिटर )।
एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्गमा पर्ने सबैभन्दा उचाइमा पुग्ने कुदामबाट २८ वटा बढी हिमाल आँखै अगाडि अवलोकन गर्न सकिन्छ। कुदाम बाट नुम्बुरचुलि (६९५९), कार्यलुङ (६५११), बिगफेरा (६६००), चोबुजे (६६८५), लोबुचे (६९९५), चुम्बु (६८५९), काङ्तेका (६७८३), मेरापिक (६४७६), चाम्लाङ (७३१९) लगायत अन्य २८ बढी हिमाल देख्न पाइन्छ।
कुदाम हाई क्याम्पमा दृश्यावलोकन गरिसकेपछि फेरि मिड क्याम्प झरेर दोस्रो दिनको गन्तव्य योतेल्मेतर्फ लाग्न सकिन्छ। कुदाम मिड क्याम्प बाटो ओरालो बाटो हुँदै करिब २ देखि ३ घन्टाको समयमा योतेल्मे पुग्न सकिन्छ। योतेल्मेमा गाउँपालिकाले पर्यटकलाई खान र बस्न मिल्ने गरी गोठ स्टे निर्माण गरेको पालिका उपाध्यक्ष गौरव राईले बताए।
तेस्रो दिन बिहान पहेंला सुनजस्तै ट्ल्केका हिमाल आँखै अगाडि देख्न पाउदा मन आनन्दित हुन्छ। योतेल्मेबाट करिब ३ घन्टाको हिँडाइपछि खालिङ राईहरुको बसोबास थलो ठूलढुंगा पुगिन्छ। यहाँ राई संस्कृतिमा रमाउँदै भूमे नाचलगायत अन्य खालिङ राईसँग जोडिएका नाच हेर्न पाइन्छ।
‘एभरेष्ट दूधकोसी सांस्कृतिक पदमार्ग’अन्तर्गतको तीनदिने ट्रेकिङ ठूलढुंगामा आएर टुंगिन्छ। यही पदमार्गबाट सगरमाथा आधारशिविर र मेरापिकको पदमार्गमा जोडिन सक्छौं।
तस्बिर/शब्दः मनीष अर्याल/नेपाल फोटो लाइब्रेरी