शब्द/तस्बिरः नेपाल फोटो लाइब्रेरी
गोरखा पर्यटकका लागि नयाँ र नौलो गन्तव्य होइन। यहाँको इतिहास, मनास्लु हिमाल र मनास्लु सर्किट, विभिन्न जातीय संस्कृति तथा संस्कारले गोरखालाई विश्वमै चिनाएको छ। पछिल्लो समय सडक यातायातले जोडिएका गोरखाका विभिन्न गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहलसमेत बढेको छ। पर्यटकका लागि नयाँ गन्तव्यको रुपमा भच्चेक–बारपाक, माछीखोला ट्रेक विकसित हुँदै गरेको छ।
गोरखाको अजिरकोट गाउँपालिका भच्चेकबाट सुरु गरी धार्चे गाउँपालिकाको माछीखोलामा पुगी अन्त्य हुने सो ट्रेक आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हुन सक्छ । सो ट्रेकमा भच्चेक बजार, मादले गाउँ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार, बारपाक, लाप्राक, गुम्दा, यामगाउँ, लप्सीबोट गाउँ पर्दछन्। ७२ गोरखा भूकम्पले क्षति पुगेका यी गाउँको अवलोकन गर्दै, स्थानीय उत्पादनको स्वाद लिँदै यात्रा गर्न सकिने सो रुटमा गुरुङ संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्नसमेत सकिन्छ।
राजधानी काठमाडौंको नयाँबसपार्कबाट बाहिरिन ७ बजे भच्चेकका लागि छुटेको बसले ३ बजे भच्चेक बजार पुर्याउँछ। एक दिन भच्चेक बजारका विभिन्न स्थान घुमफिर गरी भोलिपल्ट सो रुटका लागि यात्रा सुरु गर्न सकिन्छ। पहिलो दिन भच्चेक, मादले गाउँ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार हुँदै बारपाकमा बास बस्ने गरी जान सकिन्छ।
बारपाक यातायातको सुविधाले जोडिएको हुनाले बस तथा विभिन्न यातायात साधन प्रयोग गरीसमेत बारपाक पुग्न सकिन्छ। करिब १५ बढी घर रहेको बारपाक ७२ गोरखा भूकम्पको केन्द्रबिन्दुसमेत हो। आन्तरिक तथा बाह्य पर्यटकको निकै चहलपहल देखिने बारपाकले भूकम्पपछि आफ्नो मौलिकता गुमाएको छ। परम्परागत घर भत्किएपछि यहाँ आधुनिक र कंक्रिटका घर बनेका छन्।
एक दिनको बारपाकको बसाइपछि करिब साढे दुई घन्टाको यात्रापछि पुग्न सकिन्छ, धार्चे गाउँपालिकाको लाप्राक गाउँ। लाप्राक पुरानो गाउँ पुग्नुभन्दा पहिले नै लाप्राकको नयाँ बस्तीले पर्यटकलाई स्वागत गरिरहेको हुन्छ। ७२ भूकम्प र पहिरोको जोखिमका कारण गैरआवासीय नेपालीले बनाइदिएको सो नयाँ बस्ती पर्यटकको अर्को आकर्षण केन्द्र हो।
लाप्राक पुरानो गाउँ पहिरोको जोखिमका विच पनि त्यहाँका मानिस खेतीबारीका लागि भने नयाँ बस्तीमा खासै बस्ने गर्दैनन्। आलु, जौ, कोदो यहाँको प्रमुख उत्पादन हो। परम्परागत घर तथा गुरुङ संस्कार र संस्कृतिअनुसारको अतिथि स्वागत यहाँको विशेषता हो। खेतीबारी, घाँसदाउरामै रमाउने यहाँका मानिसको बानी हो।
लाप्राकमा एक दिन बिताएपछि अर्को दिनको यात्रा सुरु हुन्छ, गुम्दाका लागि। लाप्राकबाट करिब दुई घन्टाको दूरीमा रहेको गुम्दा गाउँ पनि सडक सन्जालले जोडिएको छ। पहेंलो जौ बारी, र जौ भित्र्याउन हतारिएका स्थानीयले बारीमा काम गरिरहेको देखिन्छ, सो गाउँमा। यहाँ विभिन्न समय विभिन्न मेला लाग्ने गर्छन्। आलु मेला, मकै विवाह यहाँका सांस्कृतिक मेलामध्येमा पर्दछ
गुम्दामा एक दिन बिताएपछि यामगाउँ, लप्सीबोट हुँदै माछीखोला पुग्न सकिन्छ। माछीखोला बूढीगण्डकी र रेचे खोला (हाइड्रो खोला) को दोभानमा अवस्थित छ, जुन प्रख्यात मनासलु सर्किटको प्रस्थान बिन्दुसमेत हो। माछीखोलासम्म गोरखाबजार र काठमाडौँका लागि दिवा तथा रात्रिकालीन सार्वजनिक यातायातको समेत सुविधा छ। यसरी करिब चारदेखि पाँच दिनको भच्चेक, बारपाक, माछीखोला ट्रेक अन्त्य गर्न सकिन्छ।
आर्थिक हिसाबले निकै सस्तो सो ट्रेक सडकको अवस्था सुधार भएपछि मोटरबाइक तथा जिपमा समेत गर्न सकिन्छ । आन्तरिक र बाह्य पर्यटकका लागि नयाँ गन्तव्यको रुपमा भच्चेक, बारपाक, माछीखोला ट्रेक स्थापित हुन सक्छ।