काठमाडौं उपत्यकाको प्रमुख पर्व घोडेजात्रा अवसरमा मंगलबार नेपाली सेनाले टुँडिखेलमा घोडेजात्रा कार्यक्रम आयोजना गरी घोडाका विभिन्न खेल कौशल प्रस्तुत गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल सहभागी घोडेजात्रामा सैनिकले घोडा दौडाएर विभिन्न खेल कौशल प्रस्तुत गरेका थिए भने उत्कृष्ट प्रदर्शन गर्ने सैनिकलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा राइड पास, ब्यानर डिस्प्ले, टांगन घोडा दौड, चार्जर घोडा दौड, नेपाली सेना र गैरसैनिकको साइकल दौड, सो जम्प, क्याभली राइड, टेन्ट पेगिङ, क्रस टेन्ट पेगिङलगायत घोडचढी कला देखाइएको थियो। त्यस्तै लान्स हिट प्याक, लान्स सुइरो र क्रिज, स्वर्ड एण्ड वाटरमेलन, रेन फ्री जम्त तथा महिला सिक्स वार, भल्टिङ एन्ड एक्रोब्याटिक्स तथा हर्ष पिटी, म्युजिकल राइड, क्रस कन्ट्री, पोनी ले डाउन ड्रिल, हंगेरियन पोस्ट र कम्बाइन्ड फायर जम्प पनि प्रदर्शन गरिएको नेपाली सेनाले जनाएको छ। समारोहमा डग सोअन्तर्गत विभिन्न रोमाञ्चक कला पनि प्रदर्शन गरिएका थिए।
घोडेजात्रालाई परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजयको रूपमा मनाइन्छ। टुँडिखेलमा दौडने घोडाको टापले दानवको आत्मालाई दबाउन मद्दत गर्ने सांस्कृतिक विश्वास रहिआएको छ।
तस्बिरः नेपाल लाइब्रेरी