पछिल्लो समय मोबाइल अति आवश्यक उपकरण भइ सकेको छ। २१आंै शताब्दीमा विज्ञानले मान्छेलाई नयाँ–नयाँ उपकरण दिइरहेको छ। यसमा मोबाइल पनि विज्ञानको अनौठो आविष्कार हो। समयको परिवर्तनसँगै प्रविधिमा पनि धेरै छिटो परिवर्तन भइरहेको छ। समयसँगै अहिले टाढा–टाढाका आफन्तसँग बोल्न त्यति कष्ट गर्नुपर्दैन।
नेपालको सन्दर्भ कोट्याउँदा अहिलेको समय जसरी हरेक व्यक्तिको हातहातमा मोबाइल देख्न सकिन्छ तर आजभन्दा एक दशकअघि सायदै यसरी जोकोहीसँग मोबाइल हुन्थ्यो। टेलिफोन सम्पर्कका लागि सहरमा विभिन्न स्थानमा टेलिफोन बुथ हुन्थे भने गाउँमा भने टेलिफोन भएको घर बिरलै पाइन्थे। गाउँमा यस्तो अवस्थामा एक कल फोन गर्न घन्टौ लगाएर हिँड्नुपथ्र्यो।
यस्तो छ, मोबाइल प्रयोगको क्रान्ति
विश्व इतिहासमा सन १९७३ मा मोटोरोलाका इन्जिनियर मार्टिन कपुरले आफ्नो प्रतिद्वन्द्वी कम्पनीका कर्मचारीसँग पहिलोचोटि गरेको कुराकानी नै मोबाइल फोनमा गरिएको पहिलो कुराकानीको रुपमा लिइएको छ। त्यसको १० वर्षपछि मोटोरोलाले मोबाइल फोन बजारमा ल्याएको थियो, जसको मूल्य २ लाख रुपैयाँ थियो। मोटोरोलाको पहिलो ह्यान्डसेटको नाम थियो–डायना टीएसी। यसको ब्याट्रीलाई एकचोटि चार्ज गरे मात्र ३५ मिनेट कुरा गर्न सकिन्थ्यो। यसको तौल ७९४ ग्रामसम्मको थियो।
सन् १९८५ मा बेलायतका हांस्य कलाकार एरिन वाइजले सैन्ट कैथरिन बन्दरगाहबाट वोडाफोनको कार्यालयमा फोन गरी बेलायतमा पहिलो पटक मोबाइल फोन सुरुआता गरेको इतिहास छ। यसपछि ओ–२ नामक मोबाइल सेटले आफ्नो सेवा सुरु गर्यो। वोडाफोनको १० लाख ग्राहक बनाउन डेढ वर्षको समय लाग्यो। फ्रान्सिसी व्यवसायी फिलिप खानले सन् १९८७ को जुन ११ तारिखमा आफ्नी छोरी सोफीको फोटो लिएसँगै क्यामरा जडान गरिएको मोबाइलको सुरुआत भयो।
यसको सुरुआतीका दिनमा टचस्क्रिन थियो। यसमार्फत इमेल, इलेक्ट्रिकल पेजर, क्यालेन्डर, क्यालकुलेटर र एड्रेस बुकका रुपमा काम गर्ने खालको बनाइयो। यसैगरी मोबाइलमार्फत टेक्स मेसेज पठाउने तरिका र यसका अक्षर १६० सीमासहितको नयाँ प्रविधि फ्रीडेलहम हेलिब्रान्ड नामका एक जर्मन इन्जिनियरले सुरु गरे।
सन् १९९३ मा आयोजित वायरलेस वल्र्ड कम्फरेन्समा आईबीएम नामक पहिलो स्मार्ट फोन बजारमा आयो। सन् २०१२ मा १ अर्ब ७९ करोड वटा मोबाइल बिक्री भयो, जसमा नोकिया, सामसुङ र एप्पेलका रहेका छन्।
नेपालमा मोबाइल जीएसएम सुरुआत २२ वर्ष अगाडि भएको इतिहास छ। जीएसएम मोबाइल परीक्षण २०५६ वैशाख १ मा सुरु भएको थियो भने औपचारिक रुपमा ५६ वैशाख ३० बाट पोस्टपेड मोबाइल वितरण प्रारम्भ भएको थियो।
पहिलो चरणमा नेपालमा भित्रिएका मोबाइल नर्टेल कम्पनीको पहिलो पुस्ता अर्थात् १ जी थिए, जुन उच्च वर्ग र ओहोदाका मानिसको पहुँचमा मात्र सीमित थियो। किनभने, यो निकै महँगो थियो, जुन मध्यम वर्गको पहुँच भन्दा बाहिर थियो।
२०६० भदौ ६ देखि तत्कालीन नेपाल दूरसञ्चार संस्थान हाल (नेपाल टेलिकम)ले प्रिपेड मोबाइलको सुरुआत गरेको थियो। यसअघि पोस्टपेड मात्र प्रयोगमा थियो। सरकारले नेपाल दूरसञ्चार संस्थानलाई २०६१ मा नेपाल टेलिकममा परिवर्तन गरेपछि भने नेपालमा मोबाइल सेवा द्रुुत गतिमा अघि बढ्यो। नेपाल टेलिकमले सीडीएमए सेवाको सुरुआत पनि सोही वर्ष सुरु गर्यो, जसले उच्च हिमाली भेगमा मोबाइल सेवा सञ्चालन गर्न सहज भएको हो।
शब्द/तस्बिरः मनीष अर्याल/नेपाल फोटो लाइब्रेरी