ताप्लेजुङमा रहेको पाथीभरा मन्दिर प्रसिद्ध तीर्थस्थल हो। पाथीभरा मन्दिर हिन्दु एवं बौद्ध धर्मावलम्बीको पवित्र धार्मिक गन्तव्य हो। विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभरा सदरमुकाम फुङलिङबाट करिब २० किलोमिटर पूर्वोत्तरतर्फ समुद्र सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित छ।
फुङलिङ बजारबाट एक दिनको पैदल यात्रामा पाथीभरा मन्दिर पुगिन्छ। यो मन्दिरमा वर्षभरि भक्तजनको घुइँचो लाग्ने गर्छ। अन्न भरेको पाथी झैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखर (टुप्पो) मा देवीको उत्पत्तिस्थल रहेकाले यी देवीको नाम ‘पाथीभरा देवी’ रहेको किंवदन्ती छ।
ताप्लेजुङका रैथाने लिम्बु समुदाय पाथीभरालाई ‘मुक्तवुङ’ भनेर चिन्छन्। लिम्बूु भाषामा ‘मुक्तु’ को अर्थ शक्ति वा बल र ‘वुङ’ को अर्थ बाटाृे हुन्छ। अर्थात, लिम्बु जाति पाथीभरालाई शक्ति वा बलको स्रोत वा बाटोका रूपमा बुझ्छन्।
फेदीबाट लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङ्गोघारीको बाटो हुँदै लगभग दुई घन्टा ठाडो उकालो हिँडेपछि पाथीभरा मन्दिर रहेको डाडाँमा पुग्न सकिन्छ। जहाँबाट कञ्चनजंघा, कुम्भकर्णजस्ता हिमशृंखला अवलोकन गर्न सकिन्छ।
कसरी पुग्ने पाथीभरा मन्दिर?
काठमाडौं कोटेश्वर र गोंगबु नयाँबसपार्कबाट गाडीमार्फत ताप्लेजुङ जान सकिन्छ। माइक्रोबसमा करिब २४ घन्टाको यात्रा तय गरेपछि ताप्लेजुङ पुगिन्छ। पुगेलगतै त्यहाँबाट बोलेरो गाडीमा सुकेटार हुँदै डेढ घन्टामा सानोफेदी पुग्न सकिन्छ। सडक स्तरोन्नति भइरहेकाले केही समय लाग्छ।
सानोफेदीसम्म मात्र सडक पुगेकाले त्यहाँबाट भने करिब पाँच किलोमिटर उकालो यात्रा गरेपछि मात्र पाथीभरा मन्दिर पुग्न सकिन्छ। बीचमा बास बस्न पर्याप्त होटल तथा लज छन्।
पाथीभराको आम्दानी ६६ लाख बढी
पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ। इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो।
समितिका अनुसार फागुनमा २१ लाख ७० हजार दुई सय ९४, चैत महिनामा २० लाख ६४ हजार सात सय ४३ र वैशाखमा १८ लाख ८५ हजार एक सय पाँच रुपैयाँ भेटी सङ्कलन भएको छ। त्यस्तै जेठमा हालसम्म ५ लाख रुपैयाँ भन्दा बढी रकम सङ्कलन भइसकेको छ।
यसअघि मन्दिरमा हुने रकम समितिले पारदर्शीरुपमा सार्वजनिक नगरेको भन्दै स्थानीयले आवाज उठाउँदै आएका थिए। रकम अपारदर्शी भएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परिसकेको छ।
नयाँ समिति आएपछि सङ्कलित रकम सार्वजनिक गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए। “पाथीभरा मन्दिर व्यवस्थापनको स्वामित्व परिवर्तन भएकोे एक सय दिनमा ६६ लाख ६१ हजार तीन सय ७८ रुपैयाँ भेटी सङ्कलन भएको छ। यसले नयाँ समितिलाई काम गर्ने हौसला थपेको छ”, उनले भने।
स्थानीय तह निर्वाचनपछि पहिलो कार्यकालमै कार्यविधि निर्माण भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। हाल मन्दिर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले लिएको छ।
यसअघि मन्दिरमा सङ्कलित रकम पारदर्शी नभएको भन्दै आवाज उठेपछि गाउँपालिका र सर्वदलीय बैठकले मन्दिरको पुरानो समितिको हिसाब नियन्त्रणमा लिएर अनुसन्धान गर्न जिल्ला प्रशासनलाई पत्र पठाउने निर्णय गरेको छ।
यसअघिको समितिले पछिल्लो छ वर्षसम्म मन्दिरको आयव्यय सार्वजनिक गरेको थिएन। राजनीतिक दल र स्थानीय तहले जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा पुरानो समितिको विवरण सार्वजनिक गराउने प्रयासमा गर्दै जेठ १४ गते सार्वजनिक सुनुवाइ तोके पनि कार्यक्रम भने सञ्चालन हुन सकेन।
लेखा परीक्षकले समयमै आवश्यक सम्पूर्ण कागजात प्राप्त गर्न नसकेका कारण प्रतिवेदन तयार हुन नसक्दा सार्वजनिक सुनुवाइ हुन सकेको थिएन। यसअघिको समितिले भने यही जेठ ३२ गते सार्वजनिक सुनुवाइ गर्ने बताएको छ।
इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले पालिकाले पठाएको पत्रका आधारमा पुरानो समितिलाई समय तोकेरै साधारणसभा गर्न लगाउने र संस्थाको लेखा परीक्षण प्रतिवेदन हेरेपछि फरक परेमा कानुनी प्रक्रिया अघि बढाइने बताए।