संघीय राजधानीबाट करिब १ सय ६३ किलोमिटर दुरीमा रहेको गोरखा जिल्लास्थित अजिरकोट गाँउपालिकाको भच्चेक बजार कोलाहल वातावरणबाट मुक्त हुन र ‘रिफ्रेसमेन्ट’ का लागि नयाँ गन्तव्य बन्दै गएको छ।
समुद्र सतहबाट १ हजार ७ सय ५० मिटर उचाइमा अवस्थित भच्चेकको चिसो हावापानीले सबैलाई आनन्दित बनाउँछ।
पक्की सडक सञ्जालले जोडिएको यस क्षेत्रमा हिजोआज आन्तरिक पर्यटक बास बस्ने गरी घुम्न आउने गर्दछन्। उक्त क्षेत्रबाट हिउँचुली, बौद्ध, गणेश, र अन्नपूर्ण हिमाल अवलोकन गर्न र तस्बिर खिचाउन पनि पर्यटक आकर्षित भएका देखिन्छन्।
वरिपरि गुरुङ, तामाङ, व्राह्मण र क्षेत्री गाँउ रहेको उक्त क्षेत्रमा विभिन्न जातिका संस्कार, परम्परा तथा संस्कृति अवलोकन गर्न, बुझ्न र अध्ययन गर्न पाइन्छ।
भच्चेक बजारबाट केवल १५ मिनेट दुरीमा रहेको नम्की गाउँमा पर्यटकका लागि ‘होमस्टे’ को व्यवस्था छ। विशेषगरी तामाङ समुदायको बाहुल्य रहेको नम्कीमा स्थानीय खाना र पर्यटक मनोरञ्जनका लागि नाचगानको समेत व्यवस्था छ।
भच्चेक क्षेत्रबाट ऐतिहासिक चेपे नदी, धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित दूध पोखरी, नागेपोखरी र निम्चे पोखरीको पैदल यात्रासमेत गर्न सकिन्छ।