छठ पर्वको महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ । जनकपुरधामसहित तराई मधेसमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजाघाटलाई दुलहीझैँ सिङ्गारिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पोखरीका घाटलाई सिङ्गारिएर पूजाको तयारी पूरा गरिएको हो । पोखरी नै पोखरीको सहरका रूपमा चिनिएको जनकपुरधामका पोखरीमा छठ पूजाका लागि यहाँका स्थानीय युवा क्लबले टेन्ट र पण्डाल लगाएका छन् ।
जनकपुरधामको गङ्गासागर पोखरीका अतिरिक्त धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्डलाई स्थानीय युवा क्लबले सिङ्गारिएका छन् ।
यस्तै ग्रामीण क्षेत्रका जलाशयमा समेत पूजाघाट बनाउने र सजाउने काम तीव्र बनेको छ । पूजास्थलका रूपमा प्रयोग गरिने जलाशय र आसपासको क्षेत्र सरसफाइमा स्थानीय युवाका साथै सेना र प्रहरीले पनि साथ दिएका छन् । बजारमा छठीमैयाको महिमा भएका भोजपुरी र मैथिलीका गीत र घर–घरमा छठीमैयाका गीत भएका सिडी एल्बम गुञ्जिरहेका छन् ।
पर्वको पहिलो दिन ‘नहाय खाय’ विधि मनाइन्छ । मिथिलाञ्चलवासीका लागि प्रमुख पर्वमध्ये छठ पनि एक मानिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिनदेखि सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुने पण्डित रामकुमार शास्त्रीले बताए।
सुनसरीको इनरूवा, राजविराज, मोरङको सुन्दरहरैँचा र कास्की आदि ठाउँमा छठ पूजाका लागि पूजास्थल सिँगारिँदै ।
रासस