काठमाडौं । साउन १ गतेदेखि अनिवार्य रुपमा सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न दिएको निर्देशन संशोधन हुने भएको छ । इम्बोस्ड नम्बर प्लेट जडानको विषयलाई लिएर चौतर्फि विरोध भइरहेको बेला संसदमा समेत विरोध भएसँगै संशोधन सहितको सूचना प्रकाशनका लागि यातायात व्यवस्था विभागले तयारी गरेको छ ।
विभागका महानिर्देशक नमराज घिमिरेले मंगलबार बेलुकासम्ममा संशोधित सूचना प्रकाशनका लागि तयारी गरिरहेको जानकारी दिए । विभागले दिएको निर्देशन सर्वसाधारणले बुझ्न नसक्दा विरोध भएको बताउँदै सबैले बुझ्ने गरी नयाँ सूचना जारी गर्न लागिएको उनको भनाइ छ ।
अनावश्यक रुपमा आर्थिक बोझ थप्नका लागि विभागले इम्बोस्ड नम्बर जडान गर्न लागेको भन्दै सर्वसाधारणहरु विरोधमा उत्रिएपछि सोमबार विभागका महानिर्देशक घिमिरेले भौतिक, पूर्वधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलसँग भेट गरेका थिए । विरोधको विषयमा सचिव सिग्देलसँग भेट गरेपछि विभागले नयाँ सूचना जारी गर्न लागेको हो ।
संसदमा पनि इम्बोस्ड नम्बर प्लेट आवश्यक नभएको र जनतालाई त्रास फैलाउने गरी निकालिएको सूचना खारेज गर्न सरकारसँग माग गरेका थिए ।
यसैबीच विभागको सूचनालाई आधार मान्दै इम्बोस्ड नम्बर जडान गर्नसमेत सर्वसाधारणहरु लागेका छन् । यातायात कार्यालय गुर्जुधारामा इम्बोस्ड नम्बर जडान गर्नेको लर्को नै लागेको देखिन्छ ।
विभागले सवारीहरुमा अबिलम्ब इम्बोस्ड प्लेट जडान गर्न गराउन बागमती प्रदेशअन्तर्गत व्यवस्था कार्यालय (साना ठूला सवारी), एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा, काठमाडौं र गण्डकी प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी) पोखरा, कास्की र ती कार्यालयमा दर्ता भएका सबै सवारीहरुका सवारीधनीहरुलाई आग्रह गरेको छ ।
ती कार्यालयहरुमा दर्ता भएका सवारीहरुमा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी व्यवस्था कार्यान्वयन भए नभएको सम्बन्धमा साउन १ गतेदेखि ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने र तोकिएअनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबही गर्नेसमेतको चेतावनी विभागले दिएको छ ।
सूचनामा उल्लेख भएअनुसार साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नभएका सावारीलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही हुनेछ ।
इम्बोस्ड नम्बर प्लेट जडानका लागि बंगलादेश र अमेरिकाको जोइन्ट भेन्चर कम्पनीले ठेक्का लिएका छन् । तर, इम्बोस्ड नम्बर प्लेटको गुणस्तर राम्रो नभएको तथा खाल्डाखुल्डीमा प्लेट नै झर्ने समस्या रहेको सर्वसाधारणले गुनासो गर्दै आएका छन् । साथै बेलायत, इजरायलमा देवनागरिक लिपिमा लेखिएको इम्बोस्ड नम्बर प्लेट नेपालमा नलेखिएको विषयमा समेत सर्वसाधारणले असन्तुष्टि जनाएका छन् ।