काठमाडौं । इन्द्रजात्रा काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो ।
इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो। इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो ।
भदौ शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ ।
सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन् । इन्द्रजात्रा र लिंगो (ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।
येँया पुन्ही (इन्द्र जात्रा)को दिन शुक्रबार अपराह्न बसन्तपुर क्षेत्रमा जीवित देवी कुमारीको रथा यात्रा गरिँदै काठमाडौँवासी जीवित देवी कुमारीका साथ श्री गणेश, श्री भैरवको पनि रथा यात्रा गरिएको थियो ।
शुक्रबार अपराह्न बसन्तपुरस्थित गढीबैठक हलबाट जीवित देवी कुमारी, श्री गणेश तथा श्री भैरवको रथयात्राको अवलोकन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत स्वदेश तथा विदेशका उच्चपदस्थ अधिकारी ।