काठमाडौं । साहस ऊर्जा लिमिटेडले निर्माण गरिरहेको ८६ मेगावाटको सोलु खोला (दूधकोसी) आयोजनाबाट २०७९ जेठ २० गतेदेखि व्यावसायिक रूपमा बिजुली उत्पादन गर्ने भएको छ ।
आयोजनाको आउँदो फागुनमा सम्पन्न भई परीक्षण उत्पादन गर्ने भएको छ । त्यसपछि आयोजनाबाट व्यावसायिक रूपमा बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । हालको निर्माण प्रगतिलाई ध्यानमा राखी कम्पनीले नयाँ कार्यतालिका तयार पारेको हो । हालसम्म आयोजनाको ७२ प्रतिशत काम सम्पन्न भएको छ ।
आयोजना निर्माणका लागि निर्माणाधीन अवस्थामा हुने ब्याज खर्चसमेत गरी ११ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ७९ हजार रुपैयाँ रहेको छ । लागतको हिसावले सोलुखोला दूधकोसी सस्तो आयोजना भएको छ ।
जलविद्युत आयोजनाहरूको लागत बढेर प्रतिमेगावाट २० करोड रुपैयाँसम्म पुगेको छ । तर, सोलुखोला दूधकोसीको धेरै कम छ । कुल लगानी रकममध्ये कम्पनीले ३ अर्ब ५० करोड रुपैयाँ स्वपुँजीबाट र बाँकी रकम बैंकको ऋणबाट लगानी रहेको छ ।
सिभिल संरचना, हाइड्रोमेकानिकल, इलेक्ट्रो मेकानिकल र प्रसारण लाइनको गरी समग्रमा २८ प्रतिशत काम सक्न बाँकी छ । उक्त कार्यका लागि ४ अर्ब ६४ करोड रुपैयाँ थप लाग्ने अनुमान गरिएको कम्पनीले प्राथमिक सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ ।
आयोजनाको प्रमुख पानीको स्रोत सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोसी गाउँपालिका लगायतका गाउँपालिकाहरूमा अवस्थित सोलु खोलाको पानी रहेको छ । प्रस्तावित १२ किमि लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको निर्माणाधीन लमाने सब–स्टेसन (तिङ्गला) मा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।
आयोजनाको सिभिल निर्माणको काम सीई कन्सट्रक्सन, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिको ठेक्का भ्वाइथ हाइड्रोले पाएको छ ।
परियोजनाको प्रसारण लाइनको कार्य गर्नका निम्ति गौरा कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भई ठेकेदार आयोजना स्थलमा परिचालन भइसकेको छ । उक्त ठेकेदारले परियोजनाको टावर लगायतका सम्पूर्ण डिजाइनको कार्य सम्पन्न गरी भारतमा टावर फ्याब्रिकेसनको कार्य अघि बढाइसकेको छ ।
साथै परियोजनाको प्रसारण लाइनका लागि आवश्यक जग्गा खरिदको कार्य अन्तिम चरणमा छ भने सरकारी जग्गा भोगचलन तथा रूख कटान सम्बन्धित निकायबाट स्वीकृतिको प्रक्रियामा रहेको छ ।
१०५ करोडको आईपीओ निष्कासन
साहसले हाल १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेर बाँकी लगानी जुटाउने तयारी थालेको छ । जसमध्ये ३५ करोड रुपैयाँ बराबरको स्थानीय र ७० करोड बराबरको सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको छ ।
आईपीओ निष्कासनपश्चात् संस्थापक सेयरसमेत गरी कुल सेयर पुँजी ३ अर्ब ५० करोड रुपैयाँ हुनेछ । ब्याजदर ९ प्रतिशत अनुमान गरिएको छ । साथै, बैंक शुल्क ऋण रकमको ०.१ प्रतिशत प्रक्षेपण गरिएको छ ।
कम्पनीमा हाल ८०८७ जना संस्थापक सेयरधनी छन् । कम्पनीको प्रवन्धपत्र तथा नियमावलीअनुसार जारी पुँजीको ७० प्रतिशत संस्थापक, १० प्रतिशत सोलुखुम्बु जिल्लाका बासिन्दा र २० प्रतिशत सर्वसाधारण, कम्पनीमा कार्यरत कर्मचारी र अन्य सेयरधनीहरूको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई साउन २९ गते शुक्रबारदेखि आईपीओ निष्कासन गरिसकेको छ । २९ धितोपत्र निष्कासन बन्द हुने मिति (छिटोमा) भदौ ११ र ढिलोमा भदौ २७ गते हुने साहसले जनाएको छ ।