काठमाडौं । नेपालमा कोभिड कहरकाबीच वाणिज्य बैंकहरु व्यवसाय विस्तारमा आक्रमक देखिए पनि कतिपय भने सुस्ताएका छन । खासगरी स्रोतका रुपमा जुटाइने निक्षेप संकलनमा पछिल्ला बैंकहरु अघि बढिरहंदा अघिल्ला बैंकहरु पछि परेका छन ।
प्रतिस्पर्धाबीच कुनै बैंकले करिव ३ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कतिपय बैंकले १ खर्ब रुपैयाँ पनि पुर्याउन सकेका छैनन् । निक्षेपलाई बैंकहरुको स्रोतका रुपमा लिने गरिन्छ । निक्षेप बढेसंगै व्यवसाय फस्टाउने गर्छ ।
व्यवसाय फस्टाउनु भनेको बैंकको आम्दानी बढ्ने र त्यसले नाफालाई पनि बढाउँदै जान्छ । यसबाट लगानीकर्ताको प्रतिफललाई समेत सुनिश्चितता दिन्छ ।
निक्षेप नबढ्दा बैंकहरुलाई कर्जा लगानीमा समस्या हुन्छ । कम कर्जा लगानीबाट बढी फाइदा उठाउने अवस्था आउन गाह्रो हुन्छ । स्रोत बढ्दै गए कर्जा लगानीमा सहज हुने मात्र हैन केन्द्रीय बैंकको निर्देशनानुसार कर्जा पुँजी निक्षेप अनुपात (सीसीडी) कायम गर्न पनि सहज हुन्छ ।
यसले बैंकका लागि लगानीका बाटाहरु खोल्दै जान्छ र आगामी दिनमा बैंकको व्यवसाय वृद्धि भइरहेको छ भन्ने आधार दिन्छ । तर, पछिल्लो समयमा कतिपय बैंकहरुको वृद्धि सुस्त हुँदा निक्षेप बढ्न सकेको छैन । त्यसका अतिरित्त अन्य सुधारका आयामहरुसमेत नदेखिने अवस्था आएको छ ।
यो पनि हेर्नुहोस
निक्षेप र कर्जा लगानीका आधारमा एनआईसी एसिया बन्यो ठूलो बैंक, कुनको कति ?
नेपाल बैंकर्स संघले दिएको पछिल्लो विवरणअनुसार एनआईसी एसिया बैंकले २ खर्ब ९५ अर्ब निक्षेप संकलन गर्दा एनबी बैंकको सबैभन्दा कम ७५ अर्ब २८ करोड रुपैयाँ मात्रै रहेको छ । एनबीको चालु वर्ष निक्षेप वृद्धि २ अर्ब रुपैयाँ मात्रै बढेको छ । एनबीको भन्दा एनआईसीको निक्षेप झण्डै ४ गुणा बढी छ ।
१ खर्ब पनि नकटाउने बैंक एनबी मात्र हैन तर सबैभन्दा पछि परेको बैंक हो यो । एनबीलाई पछ्याउदै गरेको कुनै बेलाको अग्रमोर्चामा रहने स्ट्यान्डर्ड चाटर्ड बैंकको ८४ अर्ब १० करोड रुपैयाँ मात्र निक्षेप छ । स्टयान्डर्ड चाटर्डको चालु आर्थिक वर्षको ९ महिनामा १५ अर्ब रुपैयाँ स्रोत खुम्चिएको छ । असारमा स्ट्यान्डर्ड चाटर्डको ९९ अर्ब रुपैयाँ निक्षेप थियो ।
त्यस्तै १ खर्ब पनि निक्षेप नपुग्ने बैंकहरुमा सिभिल बैंक ८७ अर्ब ९० करोड रुपैयाँ छ । सिभिलको चालु वर्षको निक्षेप वृद्धिदर झण्डै २८ अर्ब रुपैयाँ छ ।
खर्ब क्लवमा चढ्न नसकेको सेन्चुरी कमर्शियल बैंकको पनि चालु वर्षमा करिव १९ अर्ब रुपैयाँ निक्षेप बढ्दै ८९ अर्ब २० करोड रुपैयाँ पुगेको छ । लुम्बिनी बैंक र नवदुर्गा फाइनान्स कम्पनी मर्ज गरेर ठूलो भएको बैंक अफ काठमाण्डु (बीओके) पनि अझै खर्ब क्लवमा पुग्न सकेको छैन । साढे ४ अर्ब रुपैयाँ निक्षेप वृद्धिदर रहेको बीओकेको कुल निक्षेप ९७ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।
सबैभन्दा बढी निक्षेप भएको एनआईसी एसियाले बैक अफ एसियालाई मर्ज गरेको हो । एनबीले नेपाल बंगलादेश फाइनान्स र नेपाल श्रीलंका मर्चेन्ट बैंकलाई प्राप्ति गरेको छ ।