काठमाडौं । प्रतिस्पर्धाबाट कर्मचारी सञ्चय कोषका वरिष्ठ प्रवन्धक अर्जुनकुमार गौतम हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् । सीईओमा छनौट भए पनि उनको एचआईडीसीएलमा नियुक्ति भएको छैन । नियुक्तिपत्र लिएर करार सम्झौतापछि उनले एचआईडीसीएको सीईओको जिम्मेबारी सम्हाल्ने छन् ।
सञ्चय कोष एचआईडीसीएलको संस्थापक लगानीकर्ता हो । २०७५ साउनकोे दोस्रो साता बसेको एचआईडीसीएलको १७० औं सञ्चालक समिति बैठकले ऊर्जामा लगानी बढाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो ।कम्पनीले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
सरकारले ३ वर्षअघि नै ५ अर्ब ५० करोड रुपैयाँ हकप्रद सेयरमा लगानी गरेको छ । बाँकी तीनवटा संस्थाबाट ३ अर्ब ३० करोड र सर्वसाधारणबाट २ अर्ब रुपैयाँ लगानी जुट्न बाँकी छ । ३ वटा संस्थाले थप लगानी गरेपछि मात्र सर्वसाधारणलाई हकप्रद सेयर निष्कासन गर्न पाइन्छ ।
१०/१० प्रतिशतका दरले स्वामित्व लिएका सञ्चय कोषका अतिरिक्त नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको हकप्रद सेयर खरिद गर्नुपर्ने हुन्छ । ३ वटा संस्थाको ३०, सरकारको ५० र सर्वसाधारणको २० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । तर सञ्चय कोष, लगानी कोष र बिमा संस्थानले एचआईडीसीएलले दिंँदै आएको लाभांश प्रतिअसन्तुष्टि जनाउँदै थप लगानी गर्न मानेका छैनन् ।
सीईओमा छनौट भएका गौतमले नै एचआईडीसीएलको हकप्रद सेयरमा लगानी गर्न रोकेका हुन् । गौतम चार्टर्ड एकाउन्टेट पनि हुन् । कम्पनीको वित्तीय अवस्था राम्रो नभएको र लगानीबाट राम्रो प्रतिफल नपाउने तर्क गौतमले गरेपछि कोषले हकप्रद सेयरमा थप लगानीको निर्णय गरेको छैन । अब तिनै व्यक्तिले एचआईडीसीएलको जिम्मेबारी सम्हालेका छन् । अब सञ्चयक कोषले एचआईडीसीएलको हकप्रद सेयर किन्छ कि किन्दैन त्यो हेर्न बाँकी छ ।
क्यापिटल नेपालसँग संक्षिप्त कुरा गर्दै सीईओ गौतमले सञ्चय कोषले लगानी गर्नुअघि केही कुरामा सुधार आवश्य भएको बताएका छन् । ‘कोषले लगानी नगर्ने भनेको छैन संस्थामा केही सुधार आवश्यक भएकाले त्यो कुरा सम्बोधन भएपछि लगानी हुनेछ,’ उनले भने ।
दीर्घकालीन योजना नभएको र प्रतिफल धेरै कम दिने भन्दै संस्थापक लगानीकर्ता कर्मचारी सञ्चय, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थाले हकप्रद सेयरमा लगानी गर्न हिच्चकिच्चाइरहेका छन् ।
यसअघिका सीईओ छविराज पोखरेलले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने बेलामा लगानीको ग्यारेन्टी गरिसकेको बताएका छन । सोही प्रतिबद्धताअनुसार कम्पनीले लगानीकर्तालाई लाभांश दिइरहेको उनले जिकिर गर्दै आएका थिए ।
लगानीको क्षमता विस्तार र पुँजीगत आधार बलियो बनाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । एचआईडीसीएलले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
तीनवटा संस्थाले लगानी गरेमा एचाआईडीसीएलको चुक्तापुँजी बढेर २२ अर्ब रुपैयाँ पुग्ने छ । यो सञ्चित कोष र बोनस सेयर बाहेकको रकम हो । सरकारका तर्फबाट अर्थ मन्त्रालयले २ अर्ब, जलस्रोत तथा ऊर्जा तथा सिँचाइ मन्त्रालयले १ अर्ब, कानुन तथा न्याय मन्त्रालयले १ अर्ब र महालेखा नियन्त्रकको कार्यालयले १ अर्ब रुपैयाँ थप लगानी गरेका छन् ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एचआईडीसीएलले ४२ करोड ८३ लाख रुपैयाँ खुदनाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको यही समयको भन्दा कम हो । गत आर्थिक वर्षमा ५५ करोड ३६ लाख रुपैयाँ नाफा गरेको थियो ।