काठमाडौं । टेलिभिजन सेवा प्रदायक डिशहोम र प्रभु टिभी एक आपसमा गाभिने (मर्ज) भएका छन् । स्याटलाइट प्रविधिमा आधारित डिशहोम र ओटीटी प्रविधिमा आधारित प्रभु टिभी एक भएर सेवा दिने तयारी गरेका हुन् । प्रभु टिभी प्रभु ग्रुपले प्रबद्र्धन गरेको कम्पनी हो ।
डिशहोममा आईएमई ग्रुप, चिनियाँ व्यवसायी, सुदीप आचार्य समूह र प्रभु ग्रुपको पनि लगानी छ । डिसमिडिया नेटवर्क लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
मर्जमा जाने भएपछि आईपीओ निष्कासन रोकिने संभावना छ । यद्यपी बोर्डले कम्पनीको आईपीओ निष्कासन प्रस्तावलाई प्रोसेडिङ स्टाटसमा राखेको छ ।
डिशहोमको अध्यक्ष देवीप्रकाश भट्टचनले आफ्नो केही सेयर आईएमई गु्रपलाई बिक्री गरेर ३ वर्षअघि प्रभु टिभी सुरु गरेका थिए ।
ओटीटी प्रविधिमा सुरु भएको प्रभु टिभीले पछिल्लो पटक इन्टरनेटमा पनि सेवा दिन थालेको छ । डिशहोमले पनि टिभी र इन्टरनेटमै सेवा दिइरहेको छ ।
उद्देश्य एउटै भए पनि बजार हिस्सा बाँडिने र प्रतिस्पर्धा हुने भएकाले आईएमई ग्रुप र प्रभु गु्रपबीच डिशहोम र प्रभु टिभीलाई मर्ज गर्ने विषयमा पटक–पटक छलफल भएको हो ।
डिशहोमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदीप आचार्यले डिशहोम र प्रभु टिभी मर्ज हुने विषयमा कुराकानी भइरहेको बताए । यस विषयमा धेरै पटक छलफल पनि भएकाले अब अन्तिम निर्णय हुन बाँकी रहेको उनले सुनाए ।
‘दुवै टिभीमा केही संस्थापक (प्रमोटर) एकै रहेको र बजारमा अझ गुणस्तर सेवा दिने उद्देश्यले मर्ज गर्ने विषयमा छलफल भएको हो,’ उनले क्यापिटल नेपालसंग भने ।
स्याटलाइट प्रविधिमा आधारित डिशहोमको नेपालभर आफ्नो नेटवर्क रहेको छ । डिशहोम नेपालमा सबैभन्दा बढी प्रयोग हुने टेलिभिजन अपरेटर कम्पनी पनि हो । डिशहोमले पछिल्लो पटक फाइबर इन्टरनेटलाई पनि तीव्र रूपमा फैलाएको छ ।