काठमाडौं । चालु आर्थिक वर्षमा सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा एनआईसी एसिया बैंक भएको छ । चैतसम्म एनआईसी एसियाले २ खर्ब ९५ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । साउनयता एनआईसीको निक्षेप संकलन बढ्दै गएको देखिएको छ ।
यस्तै सबैभदा कम निक्षेप संकलन गर्नेमा नेपाल बंगलादेश बैंक भएको छ । नेपाल बंगलादेशले ७५ अर्ब २८ करोड रुपैयाँ निक्षेप परिचालन गरेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । २७ वटा वाणिज्य बैंकहरुले निक्षेप बढाएर ३९ खर्ब ४४ अर्ब रुपैयाँ पुर्याएका छन ।
एनआईसी एसियाले समीक्षा अवधिमा ८४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप बढाएको छ । चैतमा मात्रै एनआईसी एसियाको ८ अर्ब २४ करोड रुपैयाँ निक्षेप बढेको एसोसिएसनले जनाएको छ ।
यस्तै दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक भएको छ । ग्लोबलको निक्षेप बढेर चैतसम्म २ खर्ब ५८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । ९ महिनाको अवधिमा बैंकले ३१ अर्ब ३९ करोड रुपैयाँ निक्षेप बढाएको छ ।
यस्तै तेस्रो स्थानमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक भएको छ । राष्ट्रिय वाणिज्यको निक्षेप परिचालन २ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । ९ महिनामा बैंकले १० अर्ब ७४ करोड रुपैयाँ निक्षेप थपेको छ । तेस्रो स्थानमा नबिल बैंक रहेको छ । नबिलको निक्षेप २ खर्ब १४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
चैतसम्म २७ वटा वाणिज्य बैंकको निक्षेप ४ खर्ब ५४ अर्ब रुपैयाँ बढेको छ । चैतमा मात्र बैंकहरुले १ खर्ब १७ अर्ब ९५ करोड रुपैयाँ निक्षेप बढाएको एसोसियसनले जानकारी दिएको छ । समीक्षा अवधिमा स्ट्यान्डर्ड चाटर्ड बैंक, नेपाल एसबीआई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकको निक्षेप परिचालन घटेको छ ।
यस्तै कर्जा लगानीमा पनि एनआईसी एसिया नै अघि देखिएको छ । चैतसम्म एनआईसी एसियाले २ खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ९ महिनामा एनआईसीले ८६ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी बढाएको एसोसिएसनले जनाएको छ ।
यस्तै ग्लोबल आईएमईको २ अर्ब ३५ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । ९ महिनामा सो बैंकले ३५ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस्तै नबिलले १ खर्ब ९३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ९ महिनमा नबिलले ४० अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी बढाएको छ ।साउनदेखि चैतसम्म बैंकहरुको कर्जा प्रवाह ६ खर्ब ६८ अर्ब १८ करोड रुपैयाँ बढेको छ ।
निक्षेप परिचालनको जस्तै कर्जा प्रवाहामा पनि नेपाल बंगलादेश बैंकको सबैभन्दा कम रहेको छ । नेपाल बंगलादेशले चैतसम्म ६८ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
चैतमा मात्रै बैंकहरुको कर्जा लगानी १ खर्ब ६१ अर्ब ९९ करोड रुपैयाँ बढेको एसोसियसनले जनाएको छ । बैंकहरुको कुल कर्जा लगानी चैतसम्म ३५ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ छ ।