मङ्गलबार, असोज १२ २०७८ ०३:२९ PM

×

३ करोड खर्चेर ‘साइलेज’ उत्पादन गर्दै अन्नपूर्ण सहकारीः लागत घट्दै, उत्पादन बढ्दै

images

काठमाडौं । चितवनमा सञ्चालित अन्नपूर्ण दुग्ध सहकारी संस्थाले व्यावसायिक रूपमा प्रशोधित घाँस(साइलेज) उत्पादन गर्न थालेको छ । सहकारीले झन्डै ३ करोड रुपैयाँ लगानीमा मेसिन तथा प्रविधि भित्र्याएर ‘ड्राई साइलेज’ उत्पादन सुरु गरेको हो । 

सहकारी संस्थाले पशुको आहारमा हुने महँगी र उत्पादन लागत घटाउन साइलेज उत्पादन थालेको जनाएको छ । उन्नत गाई तथा पशुको आहारका रूपमा रहेको दाना र चोकरको भाउ अत्यधिक महँगो भएको र उत्पादन लागत घटाउन साइलेज उत्पादन गर्न थालिएको सहकारीका व्यवस्थापक करुण पोखरेलले बताए ।

उनका अनुसार, साइलेज उत्पादन र दाना मिल बनाउन ३ करोड रुपैयाँ  लगानी गरिएको बताए । झन्डै ३२ टनसम्म दैनिक रूपमा साइलेज उत्पादन गर्ने क्षमता भए पनि पूर्णक्षमतामा साइलेज उत्पादन हुन सकेको छैन । अहिले दैनिक १० टनसम्म मात्रै साइलेज उत्पादन भइरहेको उनले बताए । 

दुधिलो मकैको बोट र त्यसको घोँगाबाट ‘साइलेज’ उत्पादन गर्न सकिन्छ । सहकारीले किसानबाट मकैको बोटसहितको घोँगा खरिद गरेर साइलेजन उत्पादन गर्ने गरेको छ ।

सहकारीले प्रतिकेजी ३ रुपैयाँका दरले किसानबाट कलिलो मकैको बोट खरिद गर्छ । यदि, किसानले सहकारीसम्म ल्याएको खण्डमा प्रतिकेजी ४ रुपैयाँमा सहकारीले खरिद गर्ने गरेको छ ।

यता, साइलेज उत्पादन तयार गरेर सहकारी संस्थाले भने प्रतिकेजी १२ रुपैयाँ किसानलाई बिक्री गर्ने गरेको छ । सहकारीको आफ्नै १३ कठ्ठा जग्गामा साइलेज उत्पादन र दाना उद्योग सञ्चालनमा आएको छ । 

साइलेज उत्पादन भएपछि बिक्रीका लागि बजारको कुनै समस्या नभएको पोखरेलले बताए । बरु, उत्पादन गर्ने समस्या भएको उनको भनाइ छ । 
गत आर्थिक वर्ष २०७६/०७७ मा दाना उद्योग पुरानो भएको थियो । नयाँ मिल बनाउनु पर्नेमा बागमती प्रदेश भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले प्रस्ताव माग गरेको थियो । 

पशु आहार परियोजना भनेर सहकारीले प्रस्ताव पेश गर्यो । त्यसअन्तर्गत पशुदाना र साइलेज उत्पादन गर्ने उद्योग थियो । प्रस्तावउपर सहकारीले पशु आहार परियोजना निर्माणका लागि ३ करोड रुपैयाँ लगानी गरेको थियो ।

सहकारीले किसानको दुग्ध संकलन गर्नुका साथै उन्नत जातका गाई पाल्ने किसानलाई सदस्य बनाएर दूधको बिक्री तथा वितरण गर्दै आएको छ ।
उन्नत जातका गाईको आहार दाना र चोकर खुवाएरभन्दा साइलेज खुवाउँदा उन्नत गाईको दूध तुलनात्मक रूपमा बढ्न थालेको त्यहाँका किसानले बताएका छन । गाईले साइलेज खान मन पराउने र प्रोटिनको मात्रा पनि बढी भएकाले उत्पादन लागत घट्नुका साथै दूध उत्पादनसमेत बढेको छ । 
प्रविधि भित्र्याएर दाना तथा चोकरबाट हुने उत्पादन लागत घटाउने प्रयास थालेको छ । सिन्धुली, काभ्रे, विराटनगर, रामेछापलगायत विभिन्न जिल्लाका किसानबाट साइलेजको ‘अर्डर’ आइरहेको सहकारीले जनाएको छ । 

बुधबार १८ चैत २०७७ ०२:४० PM मा प्रकाशित

प्रतिक्रिया