काठमाडौं । निर्माण सुरु भएको दुई दशकपछि काठमाडौं र ललितपुरवासीले आइतबार मेलम्चीको पानी धारामा पाउँदै छन् । मेलम्ची खानेपानी विकास समितिले प्रसारणतर्फ हेडवक्र्स र सुरुङ निर्माण गरी पानी प्रशोधन केन्द्रसम्म पठाउनेछ ।
शुक्रबार नै मेलम्चीको पानी प्रशोधन केन्द्रमा पठाउने र सञ्चित गरेर वितरणको तयारीसमेत थालिसकेको समितिका प्रवक्ता राजेन्द्रराज पन्तले बताए ।
‘सुन्दरीजलको अवस्था के छ भनेर पानी हाल्न प्रयास गरिरहेका छौं । त्यसपछि वितरणका लागि पानी उपलब्ध हुने गरी तयारी अघि बढाएका छौं,’ उनले भने, ‘औपचारिक रूपमा पानी वितरण हुने गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र आयोजना विकास निर्देशनालयले तयारी गरिरहेको छ ।’
सुन्दरीजल प्रशोधन केन्द्रमा पानी रिजर्भ गरी राखिएको हुन्छ । अहिले मेलम्ची पानी बागमतीमा बगाइएको छ । त्यो पानी सुन्दरीजलमा भरेपछि फिल्टर वाटर ‘रिजर्भ’ भरिएसँगै जति पठाउन पर्ने हो त्यति मात्रामा पानी पठाइनेछ । सुन्दरीजल प्रशोधन केन्द्रमा पानीको परीक्षण शुक्रबार हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रशोधन केन्द्रमा मेलम्चीको पानी परीक्षण भइसकेको छ ।
केयूकेएलले चैत १५ गते काठमाडौं उपत्यकावासीका धारामा पानी वितरणको चाँजोपाँजो मिलाएको छ । सो दिन राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी धारा खोलेर औपचारिक रूपमा उपत्यकावासीलाई पानी वितरण गर्ने छिन् ।
केयूकेएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यले मेलम्चीको पहिलो चरणमा १७ करोड लिटर पानी थपिँदा उपभोक्ताका धारामा अब दैनिक एक पटक वितरण गर्न सकिने बताए । अहिले मुस्किलले ९ दिनमा एक पटक उपत्यकावासीका धारामा पानी वितरण हुँदै आएको छ ।
केयूकेएलका अनुसार, हाल काठमाडौं उपत्यकामा ८ करोड लिटर पानी वितरण हुँदै आएको छ । मेलम्चीको १७ करोड लिटर पानी थपिएपछि उपत्यकावासीलाई २५ करोड लिटर पानी बाँड्न सकिनेछ । २४ सैं घण्टा नै पानी दिने लक्ष्य भए पनि मागअनुसार अझै पानीको आपूर्ति अपुग हुने केयूकेएल बताउँछ ।
केयूकेएलका अनुसार, हाल काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । यसले अझै उपत्यकामा १८ करोड लिटर पानी अझै अपुग रहेको देखिन्छ ।
वर्षायाममा उपत्यकामा पानीको भूमिगत ‘रिचार्ज’ गर्न र पानी सञ्चिति गर्न सकिने हुँदा मागअनुसारको पानी उपलब्धतामा सहज हुनेछ । तर, हिउँदमा भने मेलम्चीको पहिलो चरणमा थपिने पानीले माग नधान्ने केयूकेएलको भनाइ छ ।
नयाँ पोखरी र पाइपलाइन निर्माणको काम उपत्यकाभित्र तीव्र रूपमा भइरहेको छ । मेलम्चीको पानी नयाँ बिछ्याइएका पाइप, पोखरी र धारामार्फत वितरण गर्न केही ढिला हुने भएपछि सरकारले पुरानै पाइप र धारामार्फत पानी वितरण गर्दैछ । पुरानो पाइपबाट पानी वितरण गर्दा पानीको ‘लिकेज’ बढ्ने खतरा उत्तिकै छ । त्यसको मर्मत, ‘लिकेज’ हुन सक्ने जोखिम न्यूनीकरण र निरीक्षण गर्न जनशक्ति तयार पारिएको केयूकेएलले जनाएको छ ।
पहिलो चरणमा काठमाडौं उपत्यकाका पुराना पाइपबाट नै धारामा वितरण गर्ने योजना छ । चक्रपथ भित्रका अधिकांश क्षेत्र जहाँ केयूकेएलकै मौज्दात पाइपलाइनिङ भएको क्षेत्रमा पानी वितरण हुने शाक्यले बताए ।
मेलम्चीको पहिलो चरणको १७ करोड लिटर पानी उपत्यकामा ल्याउन र बाँकी काम सम्पन्न गर्दासम्म ३१ अर्ब रुपैयाँ हाराहारी खर्च हुने प्रवक्ता पन्तको भनाइ छ । आयोजना निर्माण सुरु हुनुअघि २४ करोड ९० लाख अमेरिकी डलर अनुमान गरिएको थियो । पछि, मेलम्ची विभिन्न कारणले लम्बिएपछि त्यसको लागत रकम संशोधन गरियो ।
पछिल्लो संशोधित लागत ३१ करोड ३० लाख डलर १ डलरबराबर १ सय १६ रुपैयाँलाई आधार मान्दा ३६ अर्ब ३० करोड रुपैयाँ हुनेछ । हालसम्म ३० अर्ब रुपैयाँ हाराहारी खर्च भइसकेको पन्तले जानकारी दिए । तत्कालीन अवस्थाको डलरको भाउका आधारमा ३१ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको हो ।
यस्तो छ मेलम्चीको इतिहास
पूर्वप्रधानमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले २०५१ को मध्यावधि चुनावमा काठमाडौंको सडक मेलम्ची पानीले पखालिदिने वाचा गरेका थिए । २०५८/०५९ मै सुरु मेलम्ची आयोजना २०६४/०६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
मेलम्ची खानेपानीको चर्चा सुरु भएको तीन दशक भए पनि औपचारिक रूपमा आयोजना निर्माण सुरु भएको दुई दशक अर्थात २० वर्षभन्दा बढी भइसकेको छ ।
जतिखेर परियोजना निर्माणको थालनी सुरु भयो, त्यतिबेला निर्माण सामग्री, दक्ष जनशक्ति र आर्थिक स्रोतले पनि अभाव झेल्यो । त्यसको व्यवस्थापनमा बढी समय खचिर्नुपर्यो ।
वि.सं. २०५५ सालमा मेलम्ची खानेपानी आयोजना विकास समिति गठन भएदेखि मेलम्ची खानेपानी परियोजनाको महत्वपूर्ण काम २७ किलोमिटर लामो सुरुङमार्ग निर्माणको खरिद प्रक्रिया नै १० वर्ष ढिला गरी सुरु भयो ।
सुरुङमार्ग निर्माणको खरिद प्रक्रिया अघि बढाउन आर्थिक वर्ष २०६५/०६६ मा दस्तावेज बनाउन सुरु गरिएको पन्त बताउँछन् । विद्यमान सार्वजनिक खरिद प्रक्रिया, नीति परिमार्जन, परियोजना कार्यान्वयनका लागि विदेशी दातृ निकायसँग भर पर्नुपर्ने, डिजाइन पनि विदेशी परामर्शदाताबाट गराउनुपर्ने, सुरुङ निर्माण लागि आवश्यक निर्माण सामग्री अभाव लगायतको व्यवस्थापनकै कारण एक दशक त्यतिकै बित्यो ।
वि.सं. २०६६ सालमा चिनियाँ कम्पनी चाइना रेल्वे १५ ब्युरो कर्पोेरेसनले सुरुङमार्ग निर्माणको ठेक्का पाएको थियो । तर, सो कम्पनीले कामप्रति देखाएको उदासीनताको कारण निर्माणले त्यति गति लिन सकेन । उसले ३ वर्षमा ६ किलोमिटर मात्रै सुरुङमार्गको काम गर्यो ।
चार वर्षका लागि सुरुङमार्ग निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीले तोकिएको समयभित्र सक्ने छाँटकाँट देखिएन । त्यसपछि आयोजना पक्षले ठेक्का रद्द गर्न बाध्य भयो । बाँकी काम सम्पन्न गरी पुनः नयाँ ठेक्का प्रक्रियामा जान कम्तीमा १ वर्ष त्यसै पुग्यो ।
त्यसपछि वि.सं. २०७१ सालमा इटालियन निर्माण व्यवसायी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्स्ट्रि(सीएमसी)ले ठेक्का पायो । बाँकी सुरुङमार्ग निर्माणको काम अघि बढायो । इटालियन कम्पनीले विस्तारै काम अघि बढाउँदै थियो । त्यसबखत वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले आयोजनाको काम थप प्रभावित हुन पुग्यो । त्यसपछि करिब २ वर्ष मेलम्चीको कामले त्यति राम्रोसँग गति लिन सकेन ।
तत्कालीन २०७४ चैत २७ मा सीएमसीले २७ किलोमिटर लामो सुरुङमार्ग निर्माणको काम पूरा गर्यो । सुरुङमार्ग फिनिसिङ, हेडवक्र्स लगायतका काम अघि बढाउन नपाउँदै सीएमसी आफ्नै आन्तरिक वित्तीय संकटका कारण मेलम्ची आयोजनाबाट हात झिक्यो । इटालियन कम्पनीले वि.सं २०७५ पुसमा आयोजनाबाट हात झिकेपछि सरकारले सो कम्पनीसँगको ठेक्का रद्द गर्न पुग्यो ।
सुरुङमार्ग, हेडवक्र्स र फिनिसिङ लगायतका काम सम्पन्न गर्न साविककै आपूर्तिकर्ताबाट गराउन मन्त्रिपरिषद्बाट निर्णय भयो । त्यसका लागि चीनको सिनो हाइड्रो कर्पोरेसनसँग गत २०७६ असोजमा ठेक्का सम्झौता भई काम अघि बढ्यो । एक वर्षभित्र सुरुङमार्गको फिनिसिङ र हेडवक्र्सको काम सक्ने गरी सम्झौता भए पनि कोरोना महामारीले काम प्रभावित हुन पुग्यो ।
तर, कोरोना महामारी पूर्व नै सिनो हाइड्रोले निर्माणलाई तीव्रता दिएकाले अहिले सम्झौताको ५ महिना ढिला गरी मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न हुँदैछ । फागुन २२ गते मेलम्चीबाट सुरुङमा खसालिएको पानी परीक्षण गरिएको थियो । परीक्षणका लागि फागुन १० मा सुरुङमा खसालिएको सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पानी फागुन २२ मा काठमाडौंको सुन्दरीजल आइपुगेको थियो ।
गत असारमै सुरुङमा पानी परीक्षण सुरु गरिएको थियो । त्यसक्रममा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट १७ फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएपछि परीक्षण कार्य नै रोकिएको थियो । फुटेको गेट नम्बर १७ लगायत अन्य संरचना पुनः जाँच गरी पानी सुरुङबाट पठाइएको थियो ।