बुधबार, कात्तिक ३ २०७८ १०:३० AM

×

उद्योगीले कहिलेसम्म खेपिरहने लाइन ट्रिपिङको मार ? दिनमै ८ पटकसम्म जान्छ बिजुली  

images

काठमाडौं । पछिल्लो पटक प्रमुख औद्योगिक नगरी भैरहवामा सञ्चालित उद्योगमा छिनछिनमा झ्याप–झ्याप लाइन जाने ‘ट्रिपिङ’ समस्या बढ्दै गएको छ । विगत दुई महिनादेखि भैरहवामा रहेको उद्योगले दैनिक औसतमा ६ देखि ८ पटकसम्म लाइन ‘ट्रिपिङ’ हुने गरेको उद्योगीको गुनासो छ । 

कोरोना महामारीपछि सञ्चालनमा आएका उद्योगहरूले गुणस्तरीय बिजुली पाउन सकेका छैनन् । उद्योग सञ्चालन भइरहँदा बीचमै लाइन जाने गर्दा उद्योगले उपकरणीय क्षतिसँगै समयमै वस्तु उत्पादन गर्न सकेका छैनन् ।

वर्षौं पुराना प्रसारण लाइन, ट्रान्सफर्मर र नयाँ पूर्वाधार संरचना निर्माणमा ध्यान नजाँदा बुटवल–लुम्बिनी खण्डमा पर्ने उद्योगहरूले अहिले पनि अघोषित लोडसेडिङको मार खेप्नुपरेको छ । कमजोर प्रसारण लाइन र विद्युत् ओभरलोडका कारण पटक–पटक प्रणालीमा खराबी आउँदा त्यसक्षेत्रका उद्योगक्षेत्र प्रभावित बनेका हुन् । छिनछिनमा लाइन जाँदा उद्योगहरूलाई करोडौंको उपकरणीय क्षति बेहोर्नु परेको छ । 

पछिल्लो पटक दिनको ६ देखि १० पटकसम्म लाइन ‘जाने’ गरेको उद्योगी बताउँछन् । बत्ती गइरहने समस्या बढेपछि उद्योगले डिजेल वा कोइलाबाट उद्योग चलाउन बाध्य छन् ।

चलिरहेको उद्योगमा एक पटक लाइन ट्रिपिङ हुँदा आधा घण्टादेखि ४५ मिनेटसम्मको उत्पादन ‘नोक्सान’ हुन्छ । त्यो बाहेक उद्योगका अन्य उपकरण बिग्रने र पड्किने समस्या हुन्छ । लाइन ट्रिपिङ ५/६ पटकसम्म हुँदा उद्योग क्षमताअनुसार उत्पादन गर्न नसकेको जगदम्बा सिमेन्ट प्रालिका महाप्रवन्धक बिदुर ढुंगानाले क्यापिटल नेपाललाई जानकारी दिए ।

‘प्राधिकरणको गैरजिम्मेवारीपनले उद्योगले पटक–पटक लाइन ट्रिपिङको समस्या खेप्नुपरेको छ,’ उनले भने, ‘एउटै जम्पर बिग्रेमा बनाउन ६/७ घण्टा लगाउँछ । कहाँ बिग्रेको हो पत्ता लगाउनै सक्दैन ।’ हावाहुरी लाग्ने बित्तिकै लाइन गइहाल्ने उनी बताउँछन् ।

सो क्षेत्रमा ४१ घण्टाका लागि बुटवल ग्रीड शाखामा ट्रान्सफर्मरको तेललाई फिल्टर गर्न प्राधिकरणले विद्युत् सेवा बन्द गरेको छ । सूचना दिएरै ग्रीड शाखाले विद्युत् आपूर्ति सुधारका लागि विद्युत् सेवा बन्द गरेको छ ।

विगत २ महिनादेखि लाइन ट्रिपिङको समस्या बढेको र भोल्टेजमा पनि समस्या आइरहेको घराना फुड्स प्रालिका महाप्रवन्धक विकास गोयन्का बताउँछन् । ४३० भोल्टेज आउनुपर्नेमा ३५० भोल्टेजको बिजुली आइरहेको उनी बताउँछन् । 

यता, भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार यादवले विगतको तुलनामा पछिल्लो पटक ट्रिपिङ अवस्था बढेकै स्वीकारे । सकेसम्म ट्रिपिङ हुन नदिन र भोल्टेज सुधार गर्ने प्रयत्न भए पनि भारतको रामनगरबाट सप्लाई भएको बिजुली गुणस्तरीय नहुँदा समस्या आएको उनले बताए । ‘पहिलेभन्दा ‘ट्रिपिङ बढेकै हो ।

सकेसम्म घटाउन प्रयत्न गरेका छौं, तर सकिरहेका छैनौं,’ उनले भने, ‘भारतको रामनगर क्षेत्रबाट सप्लाई भएको बिजुलीको ‘क्वालिटी’ राम्रो छैन । एक त भोल्टेज पनि कमी र अर्को ट्रिपिङ भइरहने समस्याका कारण उद्योगलाई केही समस्या छ ।’

भारतको रामनगरबाट विद्युत् ल्याउनु अघि भने धेरै हदसम्म भोल्टेज सुधार र ट्रिपिङको समस्यामा सुधार भएको केन्द्र प्रमुख झा बताउँछन् । हिउँद लागेसँगै नदीमा पानीको बहाव घटेसँगै भैरहवाका केही उद्योगलाई बिजुली आपूर्ति गर्न भारतको रामनगरबाट बिजुली ल्याइएको छ । 

विगतमा कोरोनाका कारण धेरै उद्योग चल्न सकेनन् । कोरोना महामारीको अवस्था कम हुँदै जाँदा भैरहवाका धेरै उद्योग चल्न थाले । उद्योग चल्न थालेपछि आवश्यक बिजुलीको लोड ह्वात्तै बढ्यो । जुन, राष्ट्रिय ग्रीडमार्फत सो लोड धान्न सक्ने अवस्था नभएपछि भारतको रामनगरबाट ६० मेगावाट बिजुली आयात गरेर उद्योगलाई सप्लाई गरिरहेको छ ।

खासगरी, भारतबाट तानिएको बिजुली अर्घाखाँची, जगदम्बा, विशाल सिमेन्ट लगायतका केही उद्योगलाई सप्लाई गरिरहेको छ । भारतबाट ल्याइएको बिजुलीको भोल्टेज त्यति राम्रो नभएको र ट्रिपिङ अत्यधिक हुँदा ती उद्योगसहित अन्य उद्योगले पनि गुणस्तरीय बिजुली पाउन सकेका छैनन् । भारतको रामनगर हुँदै गण्डक–बर्दघाट–बुटवल १३२ केभी लाइनमार्फत ६० मेगावाट बिजुली आयात गरी उद्योगलाई सप्लाई भइरहेको छ ।

भैरहवाका उद्योगले गुणस्तरीय बिजुली पाउन मैनहवा १३२ केभी सबस्टेसन छिटो बन्नुपर्छ । त्यस खण्डको प्रसारण लाइन र सबस्टेसन छिटो बन्ने वातावरण सिर्जना गर्न उद्योगपतिबाट समन्वय र सहजीकरण नभएको बुटवल ग्रीड शाखा प्रमुख उमेश झा बताउँछन् ।

‘भैरहवाका उद्योगले गुणस्तरीय बिजुली पाउन मैनहवा सबस्टेसन ‘माइलोस्ट्रोन’ प्रोजेक्ट नै हो । त्यसमा पनि विभिन्न ठाउँमा विवाद हुन्छ,’ उनले भने, ‘अलिकति उद्योगपतिबाट पनि समन्वयकारी भूमिका हुनुपथ्र्यो । त्यो देखिँदैन ।’ 

उनले सबस्टेसन निर्माणमा कहाँ–कहाँ अवरोध र समस्या भइरहेको छ, ती समस्या हटाउँदै सबस्टेसनको काम छिटो सम्पन्न हुने दिशातर्फ त्यहाँका उद्योगपति र स्थानीयले सहयोग गर्नुपर्ने उनको तर्क छ । मैनहवा सबस्टेसनमा भइरहेको ढिलाइ र समस्या समाधान गर्न उद्योग वाणिज्य संघ र अन्य उद्योगपतिबाट अहिलेसम्म कुनै डेलिकेसन र समस्या समाधानका लागि पहल नभएको उनले बताए ।

चिनियाँ ठेकेदार कम्पनीले जिम्मा पाएको १३२ केभीको लाइन जुन बुटवल–भैरहवा खण्डमा राजमार्गमा अन्डरग्राउन्ड बनाउनुपर्छ । झन्डै २ किलोमिटर अन्डरग्राउन्ड लाइन बनाइरहेको छैन । चिनियाँ ठेकेदारले अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिन नलगाई नआउने भन्दै काम रोकिएको छ । 

सरकारले गत २०७५ वैशाख ३१ गते औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङ औपचारिक रूपमा अन्त्य भएको घोषणा गर्यो । उद्योग क्षेत्रलाई अब लोडसेडिङ हुँदैन र गुणस्तरीय बिजुली उपलब्ध गराउने आश्वासन पनि दिलाइयो । 

त्यसक्षेत्रका उद्योगले एकातिर गुणस्तरीय बिजुली पाएका छैनन् भने अर्कोतिर मागेजति बिजुली पाउन सक्ने अवस्था छैन । बिजुली आउने–जाने हुने भएकाले अधिकांश उद्योगले जेनेरेटर र ‘ब्याकअप’ को प्रयोग गरिरहेका छन् ।

शुक्रबार​ १३ चैत २०७७ ०९:१६ AM मा प्रकाशित

प्रतिक्रिया