काठमाडौं । लामो प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरणको अन्तिम तयारी भइरहेको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी थप भए पनि काठमाडौं उपत्यकावासीलाई अझै पनि १८ करोड लिटर पानी अपुग हुने देखिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) अनुसार, उपत्यकाभित्र प्रतिदिन ४३ करोड लिटर पानीको माग छ । त्यसमध्ये अहिले ८ करोड लिटर पानीमात्रै वितरण भइरहेको छ ।
मेलम्चीको पहिलो चरणमा १७ करोड लिटर पानी थपिँदा उपत्यकामा २५ करोड लिटर मात्रै पानी वितरण हुनेछ । बाँकी, १८ करोड लिटर पानी अझै उपत्यकावासीलाई अपुग हुने केयूकेएलले जनाएको छ । पहिलो चरणमा मेलम्चीको १७ करोड लिटर पानी थपिँदा पनि काठमाडौं उपत्यकामा मागअनुसार पानी अपुग हुने केयूकेएलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मिलनकुमार शाक्यले बताए । तर, अहिलेको पानीको अभाव टार्न धेरै नै सहज हुने उनको भनाई छ ।
‘मेलम्ची थपिएपछि हामीसँग २५ करोड लिटर मात्रै पानी आपूर्ति हुनेछ । तर, हाम्रो माग प्रतिदिन ४३ करोड लिटर छ । अझै पनि पानी अपुग नै हुन्छ,’ उनले भने, ‘त्यसकारण, चौबीसै घण्टा पानी दिन सक्ने अवस्था हुँदैन । तर, अहिलेको भन्दा धेरै सुविधा चाहिँ हुन्छ ।’ पुरानो पोखरी र धाराबाट पानी वितरण गर्ने केयूकेएलको योजना छ ।
केयूकेएलका अनुसार, हाल ८ करोड लिटर पानी उपत्यकाका २ लाख ३० हजार घरधुरीका धारामा वितरण भइरहेको छ । अहिले मुस्किलले ९ दिनमा एक पटक मात्र उपत्यकावासीका धारामा पानी दिइन्छ । मेलम्चीको पानी थपिँदा कम्तीमा दिनको एक पटक पानी दिने योजनाका साथ अघि बढेको उनको भनाइ छ ।
वर्षायाममा उपत्यकामा पानीको भूमिगत ‘रिचार्ज’ गर्न र पानी सञ्चिति गर्न सकिने हुँदा मागअनुसारको पानी उपलब्धतामा सहज हुनेछ । तर, हिउँदमा भने मेलम्चीको पहिलो चरणमा थपिने पानीले माग नधान्ने केयूकेएलको भनाई छ ।
नयाँ पोखरी र पाइपलाइन निर्माणको काम उपत्यकाभित्र तीव्र रूपमा भइरहेको छ । मेलम्चीको पानी नयाँ खनिएका पाइप, पोखरी र धारामार्फत वितरण गर्न केही ढिला हुने भएपछि सरकारले पुरानै पाइप र धारामार्फत पानी वितरण गर्दैछ । पुरानो पाइपबाट पानी वितरण गर्दा पानीको ‘लिकेज’ बढ्ने खतरा उत्तिकै छ । त्यसको मर्मत, ‘लिकेज’ हुन सक्ने जोखिम न्यूनीकरण र निरीक्षणका गर्न जनशक्ति तयार पारिएको केयूकेएलले जनाएको छ ।
पानी वितरणको साइत चैत १५
आउँदो चैत १५ गते मेलम्चीको पानी पुरानै पाइपमार्फत अहिले भएकै संरचनाअनुसार उपभोक्ताका धारामा परीक्षणका रूपमा छाड्ने सरकारको तयारी छ । खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपाने परीक्षणका लागि पुरानै संरचनाबाट धारामा पानी जाने बताउँछन् ।
‘आउँदो चैत १५ गतेदेखि अहिलेकै वितरणको ‘नेटवर्क’ प्रयोग गरी मेलम्चीको पानी परीक्षणका रुपमा उपभोक्ताका धारामा जान्छ,’ उनले भने, ‘त्यो परीक्षण सफल भयो भने हामी ‘फर्मल्ली’ नयाँ नेटवर्कबाट पानी वितरण गर्छौं ।’ जुन–जुन ठाउँमा केयूकेएलले वितरण गर्ने पुरानो पाइप र धाराको संरचना छन्, त्यहाँ–त्यहाँ मेलम्चीको पानी खस्नेछ । खासगरी चक्रपथभित्रका अधिकांश ठाउँमा पानी वितरण हुनेछ ।
१५ हजार घरधुरीलाई तत्काल दिइने
अहिले विशालनगर, महाराजगन्जको उत्तरी भाग, बसुन्धारा, सामाखुसी, छाउनी, बाफल क्षेत्रमा पाइप बिच्छ्याउने काम अझै बाँकी छ । त्यो बाहेकको उपत्यकाभित्र ११०० किलोमिटर क्षेत्रफलमा पाइप बिच्छ्याइ सकिएको छ । त्यसमध्ये २०० किलोमिटर पाइपमा पानीको परीक्षण भइसकेको छ ।
त्यसबाट झन्डै १५ हजार धारामार्फत उपभोक्तालाई नयाँ पाइपलाइनमार्फत पानी वितरण गर्न सक्ने अवस्था रहेको मेलम्ची खानेपानी आयोजना निर्देशनालयका निर्देशक कमल श्रेष्ठले बताए । उनका अनुसार, हाल करिब ८० हजार धारासहितको घरधुरीलाई पानी वितरण गर्न संरचनाहरु बनिसकेका छन । ९ वटा पानी संकलन केन्द्र वा ट्याङ्की निर्माण भइसकेका छन् । थप एक ट्याङ्की निर्माणकै चरणमा छ ।
यसअघि फागुन १० गते सुरुङमा मेलम्चीको पानी पठाएर परीक्षण सुरु गरिएको थियो । दुई साता लामो परीक्षणपछि मेलम्चीको पानी सुरुङमार्ग हुँदै सुन्दरीजल प्रशोधन केन्द्रमा खसालिएको थियो ।यसअघि इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी एण्ड सिमेन्ट्रिट(सीएमसी)ले आर्थिक संकटका कारण परियोजना छाडेपछि बाँकी कामको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको थियो ।
उसले १२ महिनामा पूरा गर्ने गरी ८५ करोड १ लाख ९४ हजार रुपैयाँमा ठेक्का पाएको थियो । कोरोना महामारीलगायतका कारण परियोजना केही ढिला सम्पन्न भयो ।
सिनो हाइड्रोले सिएमसीले काम गर्दागर्दै छाडेको अम्बाथान, ग्याल्थुम र सिन्धुको कुल १.४ किलोमिटर सुरुङको बाँकी सबै काम सम्पन्न गरेर सुरुङमा पानी परीक्षण भएको थियो । यसअघि सुरुङमार्गमा पानी परीक्षण गर्ने क्रममा टनेलको गेट भत्किँदा एकजना इन्जिनियरको मृत्युसमेत भएको थियो । त्यसपछि, आयोजनाले सुरुङमार्गमा परीक्षणको काम रोकेर पुनः अध्ययन गरेर अडिट टनेल फेरेर पानी परीक्षण अघि बढाएको थियो ।
याङ्ग्री र लार्केको पानी आए पर्याप्त
सिन्धुपाल्चोकको अम्बाथानदेखि काठमाडौंको सुन्दरीजलसम्मको करिब साढे २७ किलोमिटर लामो सुरुङमार्गबाट पानी ल्याइएको छ । सुन्दरीजलमा मेलम्चीबाट आउने १७ करोड लिटर पानी प्रशोधन केन्द्रसम्म ल्याइएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा यो परियोजना अघि बढेको थियो हालसम्म आयोजनाका लागि करिब ३० अर्ब रुपैयाँ खर्च भइसकेको छ । दोस्रो चरणको आयोजनामा लगानी गर्ने प्रतिवद्धता एडीबीले जनाइसकेको छ ।
पहिलो चरणमा मेलम्ची खोलाबाट १७ करोड र दोस्रो चरणमा स्थानीय याङ्ग्री र लार्के खोलाबाट क्रमशः १७÷१७ करोड लिटर पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने योजना हो । याङ्ग्री र लार्के खोलामध्ये कुनै एक खोलाको पानी थपिने बित्तिकै काठमाडौं उपत्यकावासीलाई चौबीसै घण्टा पानीको आपूर्ति हुने केयूकेएलले जनाएको छ । तर, याङ्ग्री र लार्केको पानी ल्याउन अझ केही वर्ष कुर्नुपर्ने छ ।
दोस्रो खण्डअन्तर्गत याङ्ग्री र लार्के खोलाको पानी ल्याउन जग्गा अधिग्रहण लगायतका काम सुरु भएका छन् । याङ्ग्री र लार्केखोला क्षेत्रभित्रका जग्गाधनीलाई मुआब्जा लिनका लागि सूचनासमेत जारी गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडामा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोटबिरुवा, बालीनाली, गोठटहराको मुआब्जा वितरण गर्न सुरु गरिएको हो ।
जग्गा अधिग्रहणलगायतका काम सकेर मेलम्चीको दोस्रो परियोजना थाल्न बोलपत्रमा जाने योजना रहेको आयोजनाले जनाएको छ ।पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उपत्यकामा खानेपानी समस्या समधान गर्न मेलम्ची योजना अघि सारेका हुन । यो आयोजनाको चर्चा चलेको ३ दशक बढी भइसकेको छ ।
धेरैवटा व्यवस्था परिवर्तन, कालखण्ड र सरकारको नेतृत्व झेल्दै मेलम्ची खानेपानी आयोजनाले विस्तारै मूर्तरूपमा लिँदै गएको देखिन्छ ।
औपचारिक रूपमा आर्थिक वर्ष २०५८/०५९ देखि मेलम्चीको काम सुरु भएर आव २०६४/६५ भित्र सम्पन्न गर्ने लक्ष्य थियो । काम सुरु भएको दुई दशकपछि मेलम्चीको पानी राजधानी आउने निश्चित भएको छ ।