मङ्गलबार, असोज १२ २०७८ ०४:१९ PM

×

यान्त्रीकरणमा दाङको मकै सुपरजोन, बीउ छर्नेदेखि छोडाउनेसम्म मेसिनकै प्रयोग

images

दाङ । दाङको राजापुर गाउँपालिका–१ मा रहेको मकै सुपरजोन यान्त्रीकरणतर्फ उन्मुख भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकैको सुपरजोन क्षेत्रमा मकै बीउ छर्नेदेखि थन्क्याउनेसम्म मेसिनकै माध्यमबाट हुने गरेको हो ।

सरकारले कृषिमा आधुनिकीकरण र यान्त्रीकरण गर्ने लक्ष्यअनुरूप मकै सुपरजोनका किसानले मकैको बीउ उत्पादनदेखि मकै छर्ने, मकै गोड्ने, मकै खन्ने, मकै भाँच्ने र मकै छोडाउने काम मेसिनले नै गर्न थालेका हुन् ।

उक्त मेसिन सबैजसो किसानमाझ पुर्याइएको छ । मेसिनकै प्रयोगबाट ५ तरिकाले मकै छर्न सकिन्छ । ठूलो एरियामा मकै खेती हुने भएकाले पनि मेसिनबाटै मकै लगाइएको छ ।  दाङमा करिब २० देखि २५ वटा (कस्टम हाररिङ सेन्टर) छन् । जसमा करिब ८० प्रतिशत कस्टम हायरिङ सेन्टर सञ्चालनमै छन् । 

यसले लागत घटाएको छ । प्रतिबिघामा परम्परागत रूपमा मकै खेती लगाउँदा करिब १२ हजार लागत लाग्ने गर्छ । तर, मेसिनको प्रयोगले ४ घण्टामा २५ सय रुपैयाँको लागत लाग्छ । यसरी मेसिनको सहायताले मकै खेती गर्दा उत्पादन लागत नै निकै कम लाग्ने गरेको किसानहरू बताउँछन् ।

No description available.

यसले उत्पादन लागत घट्नुका साथै समयको बचत र श्रमशक्तिको कटौती भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै सुपरजोनका वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले क्यापिटल नेपालसँग बताए ।

सो क्षेत्रमा वार्षिक तीन सिजन मकै उत्पादन हुन्छ । खासगरी हिउँदे, बर्खे र बसन्ते प्रकृतिको मकै सो क्षेत्रमा उत्पादन हुन्छ । मकै सुपरजोनअन्तर्गत झन्डै ४८ सय किसान आबद्ध छन् । झन्डै २३ हजार हेक्टर जमिनमा मकै उत्पादन हुन्छ । त्यसमध्ये मकैको सुपरजोनअन्तर्गत साढे ६ हजार हेक्टर जमिनमा मकै उत्पादन हुने गरेको रेग्मीले बताए । बसन्ते र हिउँदे जातको मकै भने हाइब्रिड नै लगाउने गरिएको छ । प्रतिहेक्टर जग्गामा ३ मेट्रिक टन मकै उत्पादन हुने गरेको छ ।

मकैको बीउ उत्पादनदेखि हार्भेस्ट मेसिन तथा उपकरणबाट गर्दा धेरै सजिलो हुँदै गएको रेग्मीको भनाइ छ । चितवनलगायत विभिन्न जिल्लाबाट विद्यार्थी र अन्य व्यक्तिहरू मेसिन तथा यान्त्रीकरण हेर्न आउने गरेका छन् । 

No description available.

सुपरजोनअन्तर्गत रहेको सतबरिया कृषि सहकारी संस्थामा आबद्ध ४२ जनाले सामूहिक रूपमा मकै खेती गरिरहेका छन् । मेसिनको प्रयोगले १५ सेन्टिमिटर गहिराइमा मकै छर्न सकिने र हावाहुरीले पनि ढल्दैन । झन्डै १२ बिघामा सो सहकारीमा आबद्ध किसानहरूले यान्त्रीकरणमार्फत मकै खेती गरिरहेको सहकारी अध्यक्ष तथा सुपरजोन संयोजक देउमणी चौधरीले जानकारी दिए ।

सिँचाइ पुगेपछि बाँझो जमिनमा मकै खेती

घोराहीस्थित गुरुङ खोलाको पानी सोलारमार्फत ९०० मिटर माथि तानेर बाँझो जमिनमा सिँचाइ गरी मकै खेती गरिएको छ । कृषक व्यवस्थित चक्लाबन्दी कार्यक्रमअन्तर्गत गुरुङखोलाको पानी बोरिङ गरेर बाँझो रहेको १५ बिघा जमिनमा सिँचाइ गरी मकै खेती गरिएको छ । सिँचाइ नहुँदा तोरी, मकै र कपास हुने क्षेत्रमा अहिले मकै खेती फस्टाइरहेको छ ।

सोलारमार्फत पानी तान्ने दुईवटा मेसिनले गुरुङ गाउँमा सिँचाइ पुर्याउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग पुर्याएको सुपरजोन कार्यक्रमका प्रमुख महेश रेग्मी बताउँछन् । सिँचाइ सेवा पुर्याउन पीएमएएमपी कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ अनुदान दिइएको छ । बाँझो रहेको जग्गालाई पनि उपयोग गर्दै उत्पादन बढाउने उद्देश्यले लिफ्टमार्फत सिँचाइ सेवा पुर्याइएको उनले बताए ।

No description available.

सिँचाइमार्फत मकै खेती गर्न पाएपछि आम्दानीसँगै जीविकोपार्जनमा सहयोग पुग्ने गुरुङ गाउँका किसान लालबहादुर मगर बताउँछन् । उनले सिँचाइ पुगेपछि गाउँ नै स्वर्ग जस्तो भएको महशुस गरेका छन् । उनले करिब १५ कठ्ठामा मकै खेती गरिरहेका छन् ।

उनले वार्षिक पाँच हजार क्विन्टल मकै उत्पादन गर्छन् । कृषक मगरले जस्तै स्थानीय किसानले पनि उनको सिको गरिरहेका छन । अरुण बीउ घोराइ, गुरुङ गाउँका किसानले प्रयोग गरिरहेका छन् । बीउका लागि भने चुरे सहकारी संस्थासँग समन्वय रहेको कृषक लालबहादुर मगर बताउँछन् ।

No description available.

सिँचाइ पुगेपछि किसानले सामूहिक रूपमा २ हजार बोट सुन कागती लगाइरहेका छन् । त्यो बाहेक सिजनमा टमाटर र तरकारी खेती गर्ने त्यहाँका किसानको योजना छ ।
त्यहाँका किसानले पनि मेसिनकै प्रयोगले मकै छर्ने, गोड्ने र भित्र्याउने जीवनशैली अँगालेका छन् । पीएमएएमपी कार्यक्रमले ५० प्रतिशत अनुदानमा दुईवटा मेसिनसमेत उपलब्ध गराएको छ ।

‘तरकारी किनेर खानुपर्दैन’

गुरुङ गाउँका अर्का किसान टेकबहादुर बूढाले पनि करिब १ बिघा जमिनमा मकै खेती गरिरहेका छन् । छोराछोरीबाट छुट्टिएर बसेका उनी सिँचाइ गर्न गुरुङखोलाबाट पानी आए पछि मख्ख छन् । उनले अहिले हिउँदे मकै लगाइसकेका छन् । त्यसपछि तरकारी, टमाटर, खुर्सानी र गोभी लगाउने उनको योजना छ ।

सिँचाइ नपुग्दा तरकारी किनेर खानुपर्ने अवस्था अब अन्त्य हुने उनको तर्क छ । ‘गाउँमा पानी नआउँदा तरकारी सबै कुरा किनेर खानुपथ्र्यो’ उनले भने, ‘अब दैलोमै सिँचाइ गर्न पानी आएपछि तरकारी किन्नु पर्दैन जस्तो लागेको छ ।’

No description available.

सिँचाइ नहुँदा त्यहाँका अधिकांश गाउँलेहरू ढुंगा, माटो र ठेक्काका काम गर्थे । अहिले टोलमा सिँचाइ गर्न पानी पुगेपछि दैनिकी फेरिएको छ । अधिकांश किसानहरूको समय मकैं बारीमै बित्ने गरेको छ । पहिले जस्तो ढुंगा, माटोको काम भन्दा आफ्नै खाली जग्गामा तरकारी उत्पादन गर्न लागि परेको अर्का किसान विष्णबहादुर ओली बताउँछन ।

सिँचाइ नपुग्दा गुरुङ गाउँमा सामान्य रुपमा छरुवा मकै र कपास खेती हुने गथ्र्यो । सिँचाइ पुगेपछि तरकारी, कागती र आलू लगाउन सकिने अर्का किसान उज्जवल सिँह बताउँछन् ।

No description available.

बिहीबार ५ चैत २०७७ १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया