काठमाडौं । सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई सेयर बिक्री गर्दा प्राप्त हुने रकम ऋण तिर्न र व्यवसाय विस्तारमा खर्चने योजना अघि सारेको छ । ढिलोमा आगामी चैतभित्र सर्वसाधरणलाई सेयर जारी गरिसक्ने नीतिका साथ अघि बढेको सर्वोत्तमले सेयर बिक्री गर्दा प्राप्त हुने प्रिमियम मूल्यले ऋण तिर्न र बाँकी भएको रकम थप व्यवसाय विस्तारमा लगाउने भएको हो ।
सर्वोत्तमका अनुसार अहिले १ अर्ब ५० करोड रुपैयाँ हाराहारी ऋण तिर्न बाँकी छ । उसका अनुसार सेयर बिक्रीबाट प्राप्त भएको करिब ३५ प्रतिशत रकम मात्रै ऋणको सावाँ तथा ब्याज तिर्न उपयोग हुनेछ । बाँकी ६५ प्रतिशत रकम थप व्यवसाय विस्तारमा खर्चनेछ ।
उसले आफ्नो व्यवसाय विस्तारका लागि नयाँ योजनाहरु बनाउने काम भइरहेको दाबी गरेको छ । सर्वोत्तमले प्रतिकित्ता न्यूनतम ७५० रुपैयाँ तय गरेर संस्थागत लगानीकर्तालाई बोलकबोल (बीड) मार्फत बिक्री गर्न खोजिरहेको छ ।
यो पनि हेर्नुहोस
५२ रुपैयाँ प्रतिसेयर कमाई भएको सर्वोत्तमको मूल्य ७५० !
संस्थागत लगानीकर्ताका रुपमा नेपाल धितोपत्र बोर्डले ६४ वटा कम्पनीलाई अनुमति समेत दिइसकेको छ । ती कम्पनीहरुले सर्वोत्तमको सेयरमा बीड गर्न पाउने छन् । संस्थागत लगानीकर्ताहरुले सेयर बिक्री गर्ने कम्पनीले आफ्नो बस्तुस्थिति अध्ययन गरेर तय गरेको मूल्यमा अधिकतम २० प्रतिशत बढाएर र न्यूनतम २० प्रतिशत नै घटाएर बीड गर्न पाउँछन् ।
यसरी बीड गरेको मूल्यको माथिल्लो बिन्दूबाट सेयर बिक्री गर्दै तल्लो बिन्दूतर्फ आउँछ । तल्लो बिन्दू जुन मूल्य कायम हुन्छ, त्यो मूल्य नै ‘कटअफ प्राइस’ हुन्छ । कटअफ प्राइसमा १० प्रतिशत घटाएर सर्वसाधारण, आयोजना प्रभावित स्थानीय र कर्मचारीलाई सेयर बिक्री गरिन्छ । हाल कम्पनीमा ५०० भन्दा बढी कामदार तथा कर्मचारी कार्यरत छन् ।
यो पनि हेर्नुहोस
सर्वोत्तम सिमेन्टको आईपीओ, मूल्य ७५० रुपैयाँ !
तोकिएको मूल्यमा स्थानीयले र कर्मचारीले नकिनेमा त्यो सेयर पनि सर्वसाधारणमा बिक्री हुन्छ । सर्वसाधारणले पनि सेयर नकिनेमा प्रत्याभूतिकर्ता (अण्डरराइटर) मर्चेट बैंकर आफैले किन्नुपर्छ । सर्वसाधरणलाई सेयर बिक्री गर्नुअघि सम्बन्धित मर्चेट बैंकहरुले सेयर बिक्री नभएमा आफैले खरिदको सम्झौता गरेको हुनुपर्ने धितोपत्र दर्ता तथा निश्काशन नियमावली २०७३ मा व्यवस्था छ ।
तीन आर्थिक वर्षदेखि निरन्तर खुद नाफामा सञ्चालन भएको, प्रतिसेयर नेटवर्थ (किताबी मूल्य) प्रति सेयर चुक्ता पुँजीको कम्तिमा १५० प्रतिशत रहेको, संगठित संस्थाको साधारणसभाले बुक बिल्डिङ विधिबाट धितोपत्र जारीको निर्णय गरेको, कम्तिमा औसत वा सो भन्दा माथिको क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेकोको कम्पनीले कुल निश्कासन गर्ने साधारण सेयरमध्ये ४० प्रतिशत संस्थागत लगानीकर्तालाई र ६० प्रतिशत सर्वधारणलाई बिक्री गर्न सक्ने व्यवस्था नियमावलीमा छ । त्यसैलाई टेकेर बोर्डले बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई सेयर बिक्री गर्न बुक विल्डिङ सम्बन्धी निर्देशिका २०७७ जारी गरिसकेको छ ।
यस्तो छ कम्पनीको योजना
कम्पनीले व्यवसाय विस्तारलाई पनि तीब्रता दिएको छ । कम्पनीले छिमेकी मुलुकमा सिमेन्ट निर्यातका लागि पहल कदमी पनि थालेको छ । त्यसैगरी, देशभित्रै रहेका ग्राइन्डिङ युनिटलाई क्लिङ्कर बनाएर बेच्ने योजना पनि बनाएको छ । कम्पनीले निकट भविष्यमा रेडिमिक्स कंक्रिट र ह्वाइट सिमेन्टको पनि उत्पादन थाल्ने योजना बनाएको छ ।
तीन वर्षसम्म आयकरमा ५० प्रतिशत छुट
सरकारले गत आर्थिक वर्षको बजेटमा १ अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पुँजी भएको कम्पनी पब्लिकमा गएको अवस्थामा आयकरमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो । त्यसैअनुरुप सर्वोत्तमले पनि आयकरमा ५० प्रतिशत छुट पाउनेछ । सरकारले निजी कम्पनीलाई पब्लिकमा जानका लागि प्रोत्साहन गर्न यस्तो व्यवस्था ल्याएको हो ।