काठमाडौं । ठूला लगानीकर्ता, केही धितोपत्र दलाल व्यवसायी (ब्रोकर) र प्राविधिक विश्लेषकहरुले बजार अझै घट्छ भने हल्ला चलाउँदा बुधबार पनि सेयर बजार प्रभावित हुन पुगेको छ । उच्च अंकबाट निरन्तर झरेको बजार अझै थामिने संकेत देखिएको छैन ।
बुधबार पनि बजार तिब्र चलखेल हुँदै उच्च अंकको गिरावट देखिएको छ । खासगरी प्रतिनिधिसभा पुनस्र्थापना भएपछि सेयर खेलाडीहरुले बजार घट्ने मन्त्र सुनाउँदै आएका थिए । जसको असर बजारमा परेको छ । ठूला लगानीकर्ता र ब्रोकरहरु आफूसंग भएको सेयर बेच्ने र नयाँ सेयर नकिन्दा ‘प्यानिक सेल’ का कारण बजार झनझन ओरालो लागिरहेको छ ।
कारोबार रकममा आएको गिरावटले पनि बजारमा ठूला लगानीकर्ता मौन छन । बुधबारको कारोबार र नेप्से प्यार्टनले बिहीबार केही हदसम्म बजार सुधारिने आशंका गर्न सकिन्छ । यो साताभर नै साना लगानीकर्ताहले बजार थेग्ने कोशिस गरे पनि त्यो संभव देखिएको छैन ।
यद्यपी केही ब्रोकरहरुले सिमित कम्पनीहरुमा आफ्नो प्रभुत्व देखाउन खोजेको पाइन्छ । बुधबार कारोबार सुरु भएदेखि नै पटक पटक बजार उठ्ने र घट्ने गरेको छ । कारोबार सुरु हुँदा २४५० अंकमा रहेको नेप्से लगत्तै २४१९ अंकमा झरेको थियो ।
त्यसपछि फेरी बजार बढेर २४५३ अंकसम्म पुग्यो । यतिबेला कारोबार सुरु भएको पौने एक घण्टा मात्र भएको थियो । त्यसपछि भने बजार निरन्तर ओरालो लाग्यो ।
कारोबारको साढे २ घण्टामा २३९१ अंकसम्म झर्यो । त्यसपछि बजारले सकरात्मक संकेत गर्दै २४२८ मा चढ्यो । तर, यो बढाइले पनि निरन्तरता पाएन । बजार पुनः घटेर २४०३ सम्म झर्यो । त्यसपछि भने बजारले फेरी बढ्ने संकेत गर्दै उकालो लाग्यो ।
मंगलबार २४५५ मा रोकिएको नेप्से परिसूचक बधबार कारोबार बन्द हुँदा ३९ अंकले घटेर २४१५ अंकमा रोकिएको छ । बुधबार सेयर कारोबार रकममा उत्साहजनक सुधार हुन सकेन ।
कुल ६ अर्ब २५ करोड रुपैयाँ करोबार भएको बजारमा चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको १० प्रतिशतले मूल्य बढेको छ । कारोबारको अन्ततिर केही जलविद्युत कम्पनीहरुको सेयर मूल्य अचानक उकालो लागेको छ । हिमालयन पावर पार्टनर, नेसनल हाइड्रोपावर, हिमालयन ऊर्जा विकास, अरुण भ्याली, घलेम्दीलगायत ३५ कम्पनीहरुको भने सेयर मूल्य बढेको छ ।
व्यापार र होटल तथा पर्यटक उपसूचक बढेको बजारमा अन्य सबै समूह सूचकहरु घटेका छन । जीवन बिमा उपसूचकमा साढे ४०० को गिरावट आएको बुधबार ४० प्रतिशत लाभांश घोषणा गरेको नेपाल टेलिकमको सबैभन्दा बढी २९ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी सेयर मूल्य घटेको एसियन लाइफ इन्स्योरेन्स ६.३६ प्रतिशतले घटेर दोस्रो बढी कारोबार अर्थात २८ करोड ९ लाख रुपैयाँ भएको छ ।