काठमाडौ । प्रिमियम दर (थप मूल्य)मा प्राथमिक निश्कासन (आईपीओ) गर्न लागेको सर्वोत्तम सिमेन्टको प्रति सेयर आम्दानी (ईपीएस) ५२ रुपैयाँ छ । सर्वोत्तमले पहिलो चरणमा संस्थागत लगानीकताई बुक विल्डिङ विधिबाट सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइरहेका बेला कम्पनीको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ उल्लेख गरेको छ ।
सवोत्तमले न्यूनतम ७५० रुपैयाँ मूल्य राखेर बुक विल्डिङ विधिबाट सेयर बिक्री गर्ने प्रस्ताव गरेको छ । अहिले कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ छ । सर्वोत्तमले औसतमा बार्षिक १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा गरेको जनाएको छ । यद्यपि, कोभिड–१९ को प्रभावले गत आर्थिक वर्षको नाफामा केही ‘हिट’ गरेको उल्लेख गरेको छ ।
कम्पनीले बिगत तीन वर्षमा गरेको नाफालाई औसतमा निकाल्दा सर्वोत्तमको ईपीएस ५२ रुपैयाँ देखाएको हो । एक दशकदेखि सञ्चालनमा रहेको सवोत्तमले निरन्तर नाफा गर्दै आएको छ । व्यावसायिक हिसावले बजारमा आक्रमक रुपमा प्रस्तुत भइरहेको सर्वोत्तमको सेयर बिक्री प्रक्रिया सुरु हुन अघि नै प्रतिसेयर ५२ रुपैयाँ भएको जनाएको छ ।
अहिले सेयर लगानीकर्ताहरुले विगत, वर्तमान र प्रक्षेपित अवधिमा अन्य कुरा बाहेक सबैभन्दा पहिला ईपीएस कति छ भनेर हेर्ने गर्छन । जुन कम्पनीको इपीएस राम्रो छ, सो कम्पनीको सेयर मूल्य (नेपाल स्टक एक्सचेञ्ज) नेप्सेमा समेत बढि हुने गरेको छ । सवोत्तमले सर्वसाधारणलाई सेयर बिक्री गर्न इक्रा नेपालबाट ‘इक्रा इनपी आइआर बीबीबी प्लस’ रेटिङ पाएको छ । यो रेटिङ औसतभन्दा राम्रो मानिन्छ ।
सर्वोत्तम बुक विल्डिङबाट सेयर जारी गर्ने पहिलो कम्पनी बन्दै छ । अहिलेसम्म बुक विल्डिङबाट सेयर जारी भएको छैन । कम्पनीको वित्तीय अवस्थालाई प्राविधिकहरुले गरेको विश्लेषणमा कम्पनीको आम्दानी र आगामी प्रक्षेपणलाई आधार मानेर प्रिमियम दरमा आईपीओ ल्याउन लागेको हो । संस्थागत लगानीकर्ताले भने कम्पनीले दिएको न्यूनतम मूल्य भन्दा माथि बोल कबोल गर्नुपर्ने हुन सक्छ ।
सर्वोत्तमको आर्थिक वर्ष २०७४/०७५ मा ५८.२५ प्रतिशत इपीएस थियो । २०७५/०७६ मा ५९.१८ प्रतिशत थियो । आर्थिक वर्ष २०७६/०७७ मा ३९.३ प्रतिशत इपीएस आएको थियो । विगत दुई वर्षमा इपीएसको दर बढ्दोक्रममा रहे पनि २०७६/०७७ मा कोरोना भाइरसका कारण सिमेन्टको उत्पादन तथा बिक्रीमा ठूलो गिरावट आए पछि इपीएस केही घटेको थियो । तर, चालू आवमा २०७५/०७६ को भन्दा बढी इपीएस निस्किने कम्पनीको प्रक्षेपण छ । तीन वर्षको इपीएसलाई औसतमा निकाल्दा ५२ रुपैयाँ आएको हो ।
याे पनि पढ्नुस् ः सर्वोत्तम सिमेन्टको आईपीओ, मूल्य ७५० रुपैयाँ !
कम्पनीको स्वास्थ्य अवस्था बलियो भएको र उच्च गतिमा नाफा कमाएकाले कम्पनीले प्रिमियम दरमा आईपीओ ल्याउन लागेको हो । कम्पनीले उपलब्ध गराएको विवरण अनुसार आर्थिक वर्ष २०७६/०७७ मा कम्पनीको खुद बिक्री ७ अर्ब ३५ करोड रुपैयाँ भन्दा माथि रहेको देखिन्छ ।
२०७७ पुस मसान्तसम्म कम्पनीको रिजर्भमा २ अर्ब १५ करोड रुपैयाँ छ । त्यसैगरी फेयर मार्केट भ्यालू वा रिप्लेसमेन्ट भ्यालु बेसिसमा कम्पनीको सम्पत्ति २० अर्ब बराबरको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डले यो सम्पूर्ण विवरण बुझाइसकेको छ ।