काठमाडौं । सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ७ सय ५० रुपैयाँभन्दा माथिको मूल्यमा सर्वसाधारणलाई सेयर बेच्ने गरी (आईपीओ) प्रक्रिया अघि बढाएको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट सेयर मूल्य निर्धारण गरी सर्वसाधारणमा बिक्री गर्ने प्रक्रिया अघि बढाउँदै न्यूनतम मूल्य साढे ७ सय रुपैयाँभन्दा बढी हुने जानकारी दिएको हो ।
पहिलो चरणमा संस्थागत लगानीकर्ताले तोकिएको मूल्य (७ सय ५० रुपैयाँ) भन्दा माथिका मूल्यमा बोलकबोल (बीड) गर्ने छन् । संस्थागत लगानीकर्ताले बोलकबोल गरेको मूल्यमा औसत मूल्य निकालिने र यसरी निकालिएको औसत मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणमा सेयर बेच्ने तयारी सर्वोत्तमको छ ।
नियामक नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ विधिमार्फत सेयर मूल्य निर्धारण गरी सर्वसाधारणलाई सेयर बेच्न पाउने नीति अघि सारेपछि सर्वोत्तम सर्वसाधारणलाई सेयर बेच्न अग्रसर भएको हो । छिटो प्रक्रिया पूरा गरेमा बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई सेयर बेच्ने सर्वोत्तम पहिलो कम्पनी हुनेछ ।
कम्पनीले सर्वसाधारणलाई सेयर बेच्ने प्रक्रिया अघि बढाउँदै पहिलो चरणमा न्यूनतम मूल्य ७ सय ५० रुपैयाँ तय गरेको हो । यद्यपि, सेयर बिक्री गर्ने अवस्थासम्म आउँदा यो मूल्यमा सामान्य हेरफेर हुन सक्ने सम्भावनालाई भने कम्पनीले नकारेको छैन ।
सर्वोत्तमले चुक्ता पुँजीको १५ प्रतिशत सेयर संस्थापक बाहिर बिक्री गर्न लागेको हो । सर्वसाधारणलाई सेयर बिक्री गर्नुअघि सर्वोत्तमको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ छ । सर्वोत्तमले ६० करोड रुपैयाँ बराबरको सेयर बेच्ने प्रक्रिया सुरु गरेको हो ।
त्यमध्ये २४ लाख कित्ता संस्थागत लगानीकर्ता, ८ लाख कित्ता प्रभावित स्थानीयलाई, ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई र २५ लाख कित्ता अन्य सर्वसाधारणलाई बिक्री गर्नेछ । ४ वटै पक्षलाई सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुग्छ ।
२०६७ सालमा प्रतिष्ठित उद्योगी विष्णुप्रसाद न्यौपानेको अगुवाइमा ७ जना मिलेर सर्वोत्तम सिमेन्ट ल्याएका थिए । उद्योग सञ्चालन भएको १० वर्षपछि सर्वसाधारणलाई सेयर बिक्री गरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत गर्ने र सर्वसाधारणको पहुँचमा पुर्याउन लागेको हो । सरकारले पनि बजेटमार्फत ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएको कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गरेमा कर छुट दिने नीति अख्तियार गर्दै प्रोत्साहित गरेको छ ।
सर्वोत्तमको सेयर नेप्सेमा सूचीकृत भएमा दोस्रो सिमेन्ट कमम्पनी बन्ने छ । यसअघि शिवम् सिमेन्ट नेप्सेमा सूचीकृत छ र मंगलबार उसको सेयर मूल्य प्रतिकित्ता १ हजार ३ सय ८८ रुपैयाँ छ । शिवम्ले स्थानीय प्रभावितलाई प्रतिकित्ता २ सय रुपैयाँ र अन्य सर्वसाधारणलाई ३ रुपैयाँमा बेचेको थियो ।
सुरुमा स्थानीय प्रभावितलाई प्रतिकित्ता ३ सय र अन्य सर्वसाधारणलाई ४ सय रुपैयाँ तय गरे पनि बजार निरन्तर घटिरहेको समयमा परेकाले पछि मूल्य घटाएको थियो । यद्यपि शिभम्को मूल्य कायम गर्दा बुक बिल्डिङ विधि अपनाइएको थिएन । सर्वोत्तम सिमेन्टको उत्पादन क्षमता क्लिङ्करमा ३ हजार टन र सिमेन्ट ग्राइडिङमा ७० हजार बोरा प्रतिदिन रहेको छ । ९० वर्षलाई पुग्ने चुनढुङ्गा खानी रहेको कम्पनीले दाबी गरेको छ ।