काठमाडौं । देशभित्र औद्योगिक प्रवद्र्धन गर्न स्थापना गरिएको विशेष आर्थिक क्षेत्र विकास प्राधिकरण (सेज)को अधिकार कटौती भएको छ । सेजमा लाग्ने उद्योगको सम्पूर्ण प्रक्रिया त्यहीबाट गर्ने भनेर स्थापना गरिए पनि अहिले त्यहाँको अधिकार खोसेर उद्योग विभागमा लगिएको छ ।
अब सेजभित्र उद्योग स्थापना गर्न विभागमा गएर दर्ता गर्नुपर्ने बनाइएको छ । झन्झटिलो उद्योग दर्ता प्रक्रियालाई सहजीकरण गर्ने उद्देश्यले सेजमै उद्योग दर्ता गर्ने व्यवस्था गरिएको थियो । तर, त्यो अधिकारलाई खोजेर विभागमा लगिएको सेजका एक अधिकारीले बताए ।
उद्योग मन्त्रालयले औद्योगिक व्यवसाय ऐनमै संशोधन गरेर सेजमा खोलिने उद्योगको दर्ता उद्योग विभागबाट गर्ने व्यवस्था गरेपछि सेजको अधिकार कटौती भएको हो ।
‘अधिकार खोस्ने बित्तिकै सेजको औचित्य समाप्त भएको छ,’ ती अधिकारीले क्यापिटल नेपालसँग भने, ‘सेजमा खुल्ने हरेक उद्योग दर्ता गर्न विभागमै पुग्नुपर्ने भएपछि सेज र अन्य ठाउँमा उद्योग खोल्नुमा कुनै फरक छैन ।’
सरकारले विशेष सुविधासहित सेज सञ्चालनमा ल्याएको थियो । उद्योग दर्ता, आयात÷निर्यात, कच्चा पदार्थको ढुवानी, राजस्व बुझाउनेलगायत सम्पूर्ण काम सेजमै गरिने व्यवस्थालाई उल्ट्याउने प्रयास भएको सेजका अधिकारीले जानकारी दिए ।
एकातिर अहिलेसम्म उद्योगीहरू सेजमा आकर्षित हुन सकेका छैनन् । उद्योग खोल्नका लागि प्रस्ताव हालेका उद्योगीले समेत त्यहाँ उद्योग नलगाइरहेका बेला सरकारले उद्योग दर्ता प्रक्रियालाई थप झन्झटिलो बनाएको छ ।
अधिकारीका अनुसार सरकारले सेजलाई उद्योग विभागको एउटा शाखको रूपमा विकास गर्न चाहेको छ । ‘भन्ने बेलामा सेजलाई प्राथमिकता प्राप्त भन्ने तर, त्यहाँ दिएका सम्पूर्ण अधिकार कटौती गर्दै जान थालिएको छ,’ ती अधिकारीले भने, ‘उद्योग प्रशासनसम्बन्धी अधिकार कटौती गरेर सेजमा उद्योग चल्दैन ।’
सेजमा आउने १०÷२० वटा उद्योग खोल्न पनि उद्योग विभागमा जानु पर्यो भने सेज कुनै हालतमा नचल्ने उनीहरूको बुझाइ छ । ३ देखि ६ महिनामा पनि उद्योग विभागमा उद्योग दर्ता हुँदैन । त्यस्तो तरिकाले सेजमा आएका उद्योग कसरी चल्छन् ? भएभरका उद्योग कटौती गरेपछि सेजमा किन उद्योग खोलिरहनु पर्यो ?
सेजमा उद्योग लगाउन विभाग जाने, भन्सार विभाग जानु परेपछि त्यसको औचित्य समाप्ततर्फ उन्मुख भएको छ । औद्योगिक व्यवसाय ऐनले सेजको अधिकार कटौती गरेर उद्योग विभागलाई दिएपछि सेजको सम्भावना सकिएको त्यहाँ रहेका कर्मचारीहरू बताउँछन् ।
‘निजामती कर्मचारीमा आफ्नो अधिकार आफै लिनुपर्छ । कसैलाई दिनुहुँदैन भन्ने मानसिकता छ । त्यसैको शिकार सेज बनेको उनीहरूको बुझाइ छ । सेजलाई अघि बढ्न नदिन उद्योग मन्त्रालय नै बाधक बनेको छ ।
उद्योग विभागका प्रवक्ता डा. नारायण रेग्मीले देशका जुनसुकै ठाउँमा उद्योग लगाए पनि दर्ता उद्योग विभागबाटै हुनुपर्ने र कानुनले पनि त्यही भनेको बताए । ‘सेज होस्, वा अन्य क्षेत्र ।
जहाँ भए उद्योग दर्ता उद्योग विभागबाटै हुन्छ,’ रेग्मीले भने, ‘कानुनले उद्योग दर्ता प्रक्रिया उद्योग विभागमै गर्नुपर्छ भनेर प्रष्ट रूपमा भनेको छ । त्यही कानुनलाई विभागले अनुशरण गरेको हो ।’