काठमाडौं । माघ लागेसँगै अधिकांश बैंकहरुले घर तथा जग्गाकर्जाको ब्याज बढाएका छन् । असारदेखि कात्तिक सम्म सस्तो ब्याजदरमा घरकर्जा दिन प्रतिस्पर्धा गरेका बैंकहरुले माघ लागेसँगै त्यस्तो कर्जाको ब्याजदर बढाएका हुन् ।
कोरोना महामारी पछि देशमा भएको लकडाउन र व्यापारमा आएको सुस्ततासँगै बैंकले सस्तो ब्याजदर निर्धारण गरेर घर तथा जग्गा कर्जामा ऋण प्रवाह गर्ने स्कीम नै सार्वजनिक गरेका थिए ।
तीनमहिना अघिसम्म बैंकहरुले आधार दरमै घर कर्जा उपलब्ध गराएका थिए । तर, अहिले बैंकले एक्कासी घरकर्जाको ब्याजदर उचाइमा पुर्याएका हुन् ।
केही ठूला बैंक र केही साना बैंकले अहिले पनि सस्तो ब्याजदरमै घर तथा जग्गाकर्जा उपलब्ध गराइरहेका छन् । एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार मंसिर पछि आर्थिक गतिविधि बढेको र औद्योगिक क्षेत्रतिर ऋणको माग बढेकाले बैंक तथा वित्तीय संस्थाले धमाधम घरजग्गाको कर्जाको ब्याज ह्वात्तै बढाएको बताउँछन् ।
असार, साउन, भदौ, असोज र कात्तिकसम्म सबै बैंकले आधार दरमै ऋण प्रवाह गरिरहेका थिए । त्यो बेलाऋण लिएका ऋणीहरुको ब्याजदर अहिले ११ प्रतिशत माथि १४ प्रतिशतसम्म पुगेको छ ।
विशेषगरी कर्जाको ब्याजदर कमवा बढी हुनुमा उक्त बैंकको आधार दरमा भर पर्छ । साथै, निक्षेप र कर्जाब्याजदर अन्तर (स्प्रेड दर)पनि ४ दशमलव ४ प्रतिशतको अनुपातमा राख्नुपर्ने नीतिगत व्यवस्था छ ।
बैंकहरुले यसैलाई आधार बनाएर ब्याजदर निर्धाणर गरेको बताएका छन् । तर, बैंकहरुले आधारदर माथि ६ देखि ८ प्रतिशतसम्म प्रिमियम थपेर ब्याजदर तय गरेका छन् ।
कृषि विकास बैंकको आधार दर ८ दशमलव ५३ प्रतिशत छ । तर, उसले १३ दशलमव ५३ प्रतिशतमा घरकर्जा उपलब्ध गराउने भएको हो । त्यसैगरी प्राइमकमर्सियल बैंकको बेसरेट ८ दशलमव १२ प्रतिशत छ । तर, उसले घरकर्जाको ब्याजदर १४ दशलमव२४ प्रतिशत पुर्याएको छ ।