काठमाडौं । सोमबार अन्तिम समयमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सामान्य दोहोरो अंकले बढेको छ । आइतबार ५० अंकले बढेको नेप्से सोमबार भने नयाँ उचाइ लिए पनि कारोबारको बीचमा आइतबारको भन्दा तल झरेर कारोबार भएको थियो । तर, त्यसपछि बजार सम्हालिएको थियो ।
सोमबारको कारोबारको समग्र सूचक परिचालनलाई हेर्दा ‘डबल भी’ र ‘डब्ल्यू’ आकार बनेको छ । यसले मंगलबार सुरुमै थप उचाइ समाउने सम्भावना छ ।
लगानीकर्ताहरुबीच बजार बढाउन र घटाउन तीब्र प्रतिस्पर्धा हुँदा अन्तिम समयमा बजार बढेर बन्द भएको छ । कारोबारको सुरुमै बजार बढेर आइतबार २४२४.८४ अंकमा रोकिएको बजार सोमबार बजार खुलेको ५ मिनेटभित्र ३२ अंक बढेर २४५६.२२ अंकमा चढेको थियो ।
तर, ५ मिनेटपछि बजार घटेर आधा घण्टाभित्र २४२५.५९ अंकसम्म झरे पनि लगत्तै बजार बढेर १२ नबज्दै २४५० अंकसम्म पुगेको थियो । तर,बजारको चाल यतिमै रोकिएन । आइतबारको अंकलाई पछि छाड्दै १ बजेतिर २४०८ अंकसम्म झर्यो । त्यसपछि सामान्य उतारचढावबीच कारोबार भइरहेको बजारमा अन्तिम समयमा १६.०४ अंक बढेर २४४०.८७ अंकमा बजार रोकिएको छ ।
सूचक मात्रै बढेको छैन । सोमबार कारोबारमा पनि उछाल कायमै छ । यसदिन ८ अर्ब ९० करोड ३५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यद्यपि, यो कारोबार रकम आइतरबारको ९ अर्ब ३७ करोडको तुलनामा केही कम हो ।
आइतबारको कारोबारमा बैंकिङ समूह निरन्तर उचाइ पर्के पनि अन्य कतिपय उपसमूहमा गिरावट आएका कारण बजार सूचक सोचेजति माथि लागेन । आइतबार बैकिङ सूचक २४.२२, व्यापार ९०.७७ निर्जीबन बिमा ७९.३४, म्युचुअल फण्ड शून्य दशलमव ०५ र अन्य समूह ३१ दशमलव ६ अंकले बढेको छ भने बाँकी सबै समूह घटेका छन् ।
आइतबारको १० ठूला कारोबारमध्ये ५ वटा वाणिज्य बैंक छन् भने ५ वटा बिमा कम्पनी छन् । नेपाल लाइफको सबैभन्दा धेरै ६० करोड ३७ लाख बरारबको कारोबार भएको छ भने त्यसैकै करिब आधा ३३ करोड १७ लाख रुपैयाँ बराबरको नबिल बैंकको भएको छ ।
नबिलसँग मर्ज हुने हल्ला पिटिएको र खरिद चाप भएको भनेर आइतबार नेपाल स्टक एक्स्चेञ्चले स्पष्टीकरण सोधेको एनसीसी बैंकको ३१ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यद्यपि, एनसीसीले गम्ने/गाभिने वा प्राप्ति गर्ने तथा बैदेशिक रणनीतिक साझेदार भित्र्याउने विषय साधारणसभाले पास गरे पनि अहिलेसम्म कोही कसैसँग छलफल नभएको जनाएको छ ।