काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले लागू गरेको सेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र (टी प्लस टू) लाई आइतबारबाट कार्यान्वयनमा ल्याइँदै छ । आजबाट कारोबार भएको दिनबाहेक दुई दिनमा किनेको सेयर तथा बेचेको पैसा खातामा आइसक्नेछ ।
सरकारले टी प्लस टू लागू गर्ने निर्णय गरेसँगै लगानीकर्ताहरुमा उत्साह देखिएको छ । टी प्लस टूको नियम लागू गर्ने निर्णयपछि बजार निरन्तर उकालो लागिरेको छ ।
यस अघिसम्म टी प्लस थ्री थियो । अर्थात कारोबार भएको दिनबाहेक तीन दिनमा राफसाफ गर्नुपर्ने व्यवस्था थियो । त्यसलाई सरकारले एक दिन घटाएको हो ।
नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै सीडीएससीले उक्त व्यवस्था लागू गरेको हो । सीडीएससीले धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ को उपविनियम १३ लाई संशोधन गरि बोर्डमा स्वीकृतिका लागि पेस गरेको थियो । जसलाइ बोर्डले गत पुस २६ गते नै स्वीकृति दिएको थियो ।
सरकारले टी प्लस टू लागू गरेपछि बजार ओरालो लाग्ने ब्रोकर कम्पनीको अनुमान फेल खाएको छ । उनीहरुले टी प्लस टूले बजारले उकालो यात्रा समाउने भन्दा पनि ओरालो यात्रा रोज्न सक्ने अनुमान लगाएका थिए । त्यसो भएन ।
ब्रोकर कम्पनीले पनि टि प्लस टूलाई कार्यान्वयन गर्ने बताइसकेका छन् । उनीहरुले शुक्रबार विज्ञप्ति निकालेर सरकारले ल्याएको नियमलाई पूर्ण रुपमा पालना गर्ने बताएका हुन् ।
धितोपत्रको बिक्री कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण बिक्री कारोबारको पूँजीगत लाभकर गणनाका लागि आवश्यक डब्लुएसीसी सम्बन्धी विवरण विक्रीकर्ता लगानीकर्ताबाट प्राप्त गरि टी प्लस टूको बिहान ११ बजे भित्र राफसाफ तथा फछ्र्यौट प्रणाली (सीएनएस) मा प्रविष्टि गर्नुपर्छ ।
धितोपत्रको बिक्री कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण बिक्री कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यका लागि आवश्यक धितोपत्र आफ्नो राफसाफ खातामा जम्मा भएको यकिन गरि कुनै बिक्रीकर्ताले निर्धारित समयावधिभित्र आफ्नो राफसाफ खातामा जम्मा नगराएको खण्डमा टी प्लस टूको मध्यान्न १२ बजे भित्र सो बिक्रीकर्ताको बिक्री कारोबारको सरटेज मार्क गरिसक्नु पर्छ ।
धितोपत्रको खरिद कारोबार गर्ने राफसाफ सदस्यले सम्पूर्ण बिक्री तथा खरिद कारोबारको गणना गरि सोको नेटिङ पश्चात् हुने रकम तथा अन्य कमिसन बुझाउनुपर्ने देखिएमा टी प्लस टूको मध्यान्न १२ बजेभित्र आफ्नो राफसाफ बैकमा रहेको राफसाफ खातामा जम्मा गरिसक्नु पर्छ ।
त्यस्तै, धितोपत्रको खरिद कारोबार गर्ने राफसाफ सदस्यले राफसाफ भइसकेको धितोपत्र सम्बन्धित खरिदकर्ताको हितग्राही खातामा टी प्लस टूमा राफसाफ तथा फछ्र्यौट सम्पन्न भए पश्चात् यथाशीघ्र राफसाफ तथा फछ्र्यौट प्रणाली (सीएनएस) मार्फत् हस्तान्तरण गर्नुपर्छ ।
निक्षेप सदस्यले हरेक दिन बिहान ११ बजे भित्रमा मेरो सेयर मार्फत् प्राप्त ईडीआईएसको फाईल जेनेरेट गरि केन्द्रीय निक्षेप प्रणालीमा अपलोड गरि सोको कारोबार सफल भएको यकिन गरि मेरो सेयरमा सो ईडीआईएस फाईल प्रोसेस गर्नुपर्छ ।