काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयदेखि पार्किङ गरिएको दुईवटा एमआई १७ हेलिकप्टर नेपाली सेनाका पूर्व कर्णेल भुवन प्रधानले ल्याएको खुलासा भएको छ ।
रुसमा बनेको सो हेलिकप्टर किर्गिजस्थानबाट भारतमा लैजान भनेर केही दिन पार्किङको लागि नेपालमा राख्ने भनिएको थियो । अहिले सो हेलिकप्टर प्रधानको समूहले ल्याएको खुलेको हो ।
नेपालमा १५ वर्ष पुरानो हेलिकप्टर सञ्चालन गर्न बन्देज छ । त्यसैले प्रधान समूहले भारतमा सञ्चालन गर्न लैजाने बताएको छ । तर, भारतमा ३० वर्ष पुरानो हेलिकप्टर पनि सञ्चालन गर्न पाइँदैन ।
प्रधानसहितको समूहले अहिले नेपालमा अन्नपूर्ण हेलिकप्टर कम्पनी दर्ता गरेका छन् । यदी,सो कम्पनीले सञ्चालन अनुमति (एओसी) भने लिइसकेको छैन । प्रधानसँगै पूर्व कर्णेल रवीन्द्र बस्नेतको समेत संलग्नता रहेको स्रोतले बतायो ।
उनीहरु दुबै जना नेपाली सेनाले सञ्चालन गरेको एमआई १७ हेलिकप्टरका क्याप्टेन हुन् । उनीहरुसँग यो हेलिकप्टर सञ्चालनको अनुभव भएकोले पनि नेपालमा ल्याएको हुन सक्ने अनुमान गरिएको छ ।
यस विषयमा हेलिकप्टरका एजेण्ट एवम अन्नपूर्ण हेलिकप्टरका सञ्चालक भुवन प्रधानसँग पटक-पटक सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन भने मानेन् । उनलाई लागेको आरोपको विषयमा बुझ्न खोज्दा पनि अहिले सम्पर्क विहिन बनेका छन् ।
नेपालमा १५ वर्षभन्दा पुरानो हेलिकप्टर सञ्चालनमा रोक लगाइएको छ । तर,उनले ३० वर्ष पुरानो हेलिकप्टर ल्याएपछि अहिले उड्डयन क्षेत्रमा आशंका बढेको छ ।
प्रधानले नेपाल नागरिक उड्ड्यन प्राधिकरणसँग सुरुमा डेमोका लागि अनुमति मागेका थिए । प्राधिकरणले पुरानो हेलिकप्टर डेमोको लागि अनुमति दिन नसक्ने भनेपछि भारतमा लैजाने बाहना बनाएर नेपालमा ल्याएको हो ।
सुरुमा एक साताको लागि पार्किङ अनुमति मागेको भए पनि अहिले २९ तारिकसम्मका लागि म्याद थप गरिएको छ । त्यो मात्र हैन, हेलिकप्टर उडाएर ल्याएको पाइलटहरु नै बेपत्ता भएको समेत हल्ला चलाइएको छ ।
प्राधिकरण स्रोतका अनुसार प्रधान सहितको टोलीले अहिले प्रभावमा पारेर नियमनै परिवर्तन गराउने खेलमा लागेका छन् । उसले नेपालमा पुराना हेलिकप्टरहरु सञ्चालन गर्न सकिने समेतको नियम बनाउने वा सो जहाज नेपालमै राखेर त्यसभित्र रहेको पार्टपुर्जा बिक्री गर्ने रणनीति बनाइरहेको बुझिएको छ । यदी,यो भयो भने नेपालमा फेरि पुराना हेलिकप्टरहरुको डम्पीङ साइट बन्ने खतरा बढ्ने हेलिकप्टर सञ्चालकहरुको भनाइ छ ।
यति मात्र हाेइन, भुवनको समूहले तत्कालका लागि यो हेलिकप्टर नेपालमा राख्ने र नेपाली सेनालाई बिक्री गर्ने समेतको रणनीति बनाएको बुझिएको छ । नेपाली सेनाले अहिले एमआई १७ हेलिकप्टर पनि सञ्चालन गरिरहेको छ । आफूहरु पनि पूर्व क्याप्टेन भएकोले नेपाली सेनालाई सहजै रुपमा सो हेलिकप्टर बिक्री गर्न सक्ने दाउ उनीहरु छन् ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भारतमा लैजानलाई पार्किङ अनुमति दिएको बताए । ‘यस्ता हेलिकप्टरहरु नेपालमा उडानका लागि अनुमति दिन मिल्दैन र दिँदैनौं,’ महानिर्देशक पोखरेलले भने । महादिर्नेशक पोखरेलले धेरै समय विमानस्थलमा राखिए लिलामी गर्नेसमेत बताए ।