काठमाडौं । विश्वको सबैभन्दा लामो केवलकार मुक्तिनाथको निर्माण निजी लगानीमा आगामी वर्षदेखि हुने भएको छ । विकासकर्ता मुक्तिनाथ दर्शन प्रालिले केवलकार संरचना निर्माणका लागि प्रारम्भिक काम सुरु गरेको छ ।
यो वर्ष विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृति, आयोजना विकास सम्झौता (पीडीए), वित्तीय व्यवस्थापन र निर्माण सम्झौताको काम सकेर आगामी २०७८ पुसदेखि केवलकार संरचनाको निर्माण थाल्ने मुक्तिनाथ दर्शनका प्रवन्ध निर्देशक श्रीधर सापकोटाले बताए ।
मुक्तिनाथले केवलकारको डीपीआर तयार पारी कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको छ । बोर्डको प्राविधिक टोलीले डीपीआरको अध्ययन गरिरहेको उनले सुनाए । प्रस्ताव गरिएका काम निर्धारित समयमा सम्पन्न भएमा एक वर्षभित्र केवलकारको सिभिल संरचना निर्माण थाल्ने सापकोटाको भनाइ छ ।
उनका अनुसार काम सुरु भएको ४३ महिनाभित्र निर्माण सकेर केवलकार सञ्चालन गर्ने लक्ष्य छ । सबैको सहयोग भएमा निर्धारित समयमा आयोजना सम्पन्न हुने उनको भनाइ छ । सन् २०७८ पुसको दोस्रो सातादेखि अर्थात सन् २०२२ जनवरीदेखि केवलकार संरचना निर्माण थाल्ने योजना कम्पनीको छ ।
यो पनि हेर्नुहोस
मुक्तिनाथ दर्शनले बुझायो विश्वकै लामो केवलकारको डीपीआर, लगानी बोर्डमा अध्ययन हुँदै
डीपीआरले केवलकार पूर्वाधार बनाउन ५३ अर्ब रुपैयाँ लाग्ने देखाएको छ । यद्यपि, यो १ डलरबराबर १ सय १७ रुपैयाँको आधारमा यो रकम लाग्ने देखाइएको हो । डलर तलमाथि भइरहेकाले लागतमा केही घटबढ हुनेछ । यसअघिको संभाव्यता अध्ययनअनुसार केवलकार संरचना बनाउन ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।
लगानी जुटाउने प्रक्रिया धेरै अघि बढिसकेको प्रवन्ध निर्देशक सापकोटाको भनाइ छ । यस्तै केवलकारको सिभिल संरचना निर्माणको काम नेपाली निर्माण व्यवसायीले पाउने भएका छन् । इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति विदेशीले पाउने भएको छ । विदेशी कम्पनी पनि छनोट भइसकेको छ । नेपालको पैसा विदेश नजाओस् भनेर नेपाली निर्माण व्यवसायीलाई सिभिलतर्फको जिम्मेबारी दिन लागेको प्रवन्ध निर्देशक सापकोटले स्पष्टपारे ।
‘मुक्तिनाथले नेपाली बैंकहरूसँग कुरा गरिरहेको र सकारात्मक संकेत आइरहेको छ,’ उनले भने, ‘वाणिज्य बैंकहरू बाहेक नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायत अन्य पूर्वाधार बैंकहरू हुन सक्छन् ।’ करिब ४३ अर्ब बैंकहरूबाट ऋण लगानी हुने र बाँकी १० अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) जुटाउने काम हुनेछ । लगानी जुटाउन सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने योजना मुक्तिनाथको छ ।
यस्तै विदेशी बैंकहरूसँग लगानी जुटाउन छलफल भइरहेको उनले सुनाए । २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण हुने गरी लगानी संरचना तयार पारिएको छ । केवलकारको पूर्वाधार बनाउन कम्पनीले ‘क्राउड फन्डिङ’ मोडालिटीबाट लगानी जुटाउने तयारी गरेको जनाएको छ ।
आधा रकम उपकरण आपूर्तिकर्ताबाट १० वर्षसम्म उधारोमा खरिद गर्ने, बाँकी विदेशी बैंक र सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेर लगानी जुटाउने तयारी मुक्तिनाथको छ । क्राउड फन्डको एजेन्सी र ‘ननफण्डेड ग्यारेन्टी’ नेपाल बैंकबाट हुने संभावना छ । आर्थिक रूपमा संभाव्य छ । प्रतिफल १३ प्रतिशत देखिएको छ ।
काँस्कीको बीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकारको लम्बाइ ८०.१५ किलोमिटर हुनेछ । केवलकारमा ७७६ वटा गोन्डा राख्न प्रस्ताव गरिएको छ । गण्डकी प्रदेश सरकारले केवलकारलाई गौरवको परियोजनामा राखेको छ । केवलकार सञ्चालनको पहिलो वर्ष नेपाल भित्रिने १० प्रतिशत विदेशी पर्यटक जाने भएका छन् । विस्तारै पर्यटकको संख्या बढ्नेछ ।
‘केवलकारले नेपाललाई विश्वमा चिनाउनेछ । विश्वको अग्लो शिखर कहाँ छभन्दा नेपालमा भनेको जस्तै विश्वको लामो केवलकार पनि नेपालमा रहेको सन्देश जानेछ,’ उनले भने । हालसम्म सबैभन्दा लामो केवलकार बोलेभियाको लापाचामा छ । विभिन्न चरणमा विस्तार भई यसको लम्बाइ ३२ किलोमिटर पुगेको छ ।
मुक्तिनाथ केवलकार १ हजारदेखि ३ हजार ७ सय मिटरको उचाइसम्म पुग्नेछ । केवकारको प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना विकासकर्ताको छ । रिसोर्ट मुक्तिनाथले नबाउने भएको छ । उसले स्थानीय लगानीकर्तालाई अवसर दिनेछ । ‘एउटै कम्पनीले सबै काम गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो, सोहीअनुसार स्थानीय लगानी प्रवद्र्धन गर्नका लागि रिसोर्ट तथा होटल बनाउने दिने छौं,’ उनले भने ।
केवलकारमा टप र वटन गरी १९ वटा स्टेसन हुनेछ । यसमध्ये ८ वटा स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्छ । ५ वटा स्टेसनमा अत्यावश्यक भएमा मात्र ओर्लिन पाउने र बाँकी ६ वटामा झर्न पाइँदैन जानैपर्छ । ११ वटा स्टेसनमा बासबसेर जान पाइने व्यवस्था छ । यद्यपि, एउटा टिकटको ७ दिन समय हुनेछ । ७ दिनभित्र फर्किनुपर्छ ।
वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको छ । यही क्षमताको गोन्डला राखिने प्रस्ताव गरिएको छ । पहिलो वर्ष ३० प्रतिशत मात्र हुने अनुमान छ । विस्तारै बढ्नेछ । ८० प्रतिशतसम्म हुने अनुमान गरिएको छ ।
नीतिगत व्यवस्था, जग्गा प्राप्ति, वन र वातारणको क्लियरेन्समा सरकारले सहयोग गर्नुपर्नेछ । यही प्रक्रियमा झन्झट हुने गरेको छ । यसले गर्दा केवलकारको काम अवरुद्ध हुने चिन्ता विकासकर्तालाई छ ।
१३ मेगावाट बिजुली चाहिने
केवलकार संरचना बनेर सञ्चालनमा आएपछि १३ मेगावाट बिजुली चाहिने भएको छ । लामो र ठूलो केवलकार भएकाले १३ मेगावाट बिजुली खपत हुने डीपीआरमा उल्लेख छ । केवलकार नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक हुनेछ ।
‘यसको सौन्दर्य भनेको विश्वकै सबैभन्दा लामो केवलकार हुनेछ । विदेशी वित्तीय संस्थाहरूलाई पनि विश्वको लामो केवलकारमा लगानी भएको गर्व अनुभूति हुनेछ’ प्रवन्ध निर्देशक सापकोटाले भने, ‘यो विश्वकै ‘युनिक’ आयोजना हो ।’ ०७५ भदौ २७ गते लगानी बोर्ड र मुक्तिनाथ दर्शनबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।
केवलकारको पहिलो स्टेसन बीरेठाँटीमा हुनेछ । बीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर हुनेछ । दोस्रो स्टेसन घोडेपानीदेखि तातोपानीसम्म १२.७३, तेस्रो तातोपानी लेते १६.४४, चौथो लेतेदेखि जोमसोमसम्म २३.९२, चौथो जोमसोमदेखि कागवेनी ८.२४ र कागबेनीदेखि रानीपौवा मुक्तिानाथसम्म ९ किलोमिटर रहेको कम्पनीले जनाएको छ ।
गोरखाको मनकामना, काठमाडौंको चन्द्रागिरी र दोलखाको कालिञ्चोकमा केवलकार सञ्चालनमा छन् । यस्तै मौलाकाली, स्वर्गद्वारीलगायत एक दर्जन स्थानमा केवलकार निर्माणको काम सुरु भइसकेको छ । आईएमई ग्रुपले ७ वटै प्रदेशमा केवलकार बनाउने घोषणा गरेको छ ।
नेपाल राष्ट्र बैंकले पर्यटकीय गन्तव्यमा पूर्वाधार विकासका लागि पुनर्कर्जा दिने नीति लिएको छ । केवलकार, होटल र रिसोर्टलगायत अन्य मनोरञ्जन पूर्वाधारको विकासमा लगानीकर्ताहरूलाई केन्द्रीय बैंकले ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउनेछ ।