×

‘इन्टरनेट कन्टेन्ट’मा पनि क्लीन फिड लागू गर  

images

कात्तिक ७ गतेदेखि नेपालमा पनि विदेशी च्यानलहरू विज्ञापनरहित (क्लीन फिड) रूपमा प्रसारण हुन थालेका छन् ।

खासगरी केबल टेलिभिजनहरूले क्लीन फिड लागू गर्छन् कि गर्दैनन् भन्नेमा धेरैको आशंका मेट्दै मुलुकभरका साढे तीन सयभन्दा बढी केबल व्यवसायीहरूले क्लीन फिड लागू गरेका छन् । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लीन फिड लागू नहुँदा मुलुकलाई आर्थिक र सांस्कृतिक रूपले क्षति पुगेको भनेर लामो समयदेखि आवाज उठ्दै आएको थियो ।

टेलिभिजनमा क्लीन फिड लागू गर्ने विषयलाई राष्ट्रिय हित र सञ्चार उद्योगको विकाससँग जोडेर हेरिँदै आएको छ । क्लीन फिड लागू भएसँगै नेपालको विज्ञापन बजार विस्तारित हुने अनुमान धेरैको छ । सामान्य अवस्थामा हाल नेपालको विज्ञापन बजार करिब ११ अर्ब रुपैयाँ हाराहारी भएको अनुमान छ ।

त्यसमध्ये दुईतिहाइ बढी हिस्सा बहुराष्ट्रिय कम्पनीको छ । कुल विज्ञापनमध्ये करिब २५ देखि ३० प्रतिशत हिस्सा टेलिभिजनको रहेको अनुमान छ । त्यसैका आधारमा नेपाल विज्ञापन संघले क्लीन फिड लागू गर्ने पक्षमा वकालत गर्दै आएको थियो । त्यसैको परिणाम सरकारले ‘विज्ञापन (नियमन गर्ने) ऐन, २०७६’ कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

क्लीन फिड नीति, २०७३ अनुसार २०७४ साउन १ देखि क्लीन फिड लागू गर्न सरकार अग्रसर हुँदा विभिन्न क्षेत्रले विरोध गरेपछि ऐन बनाएर क्लीन फिडका पक्षमा निर्णय गरिएको हो । ऐनको दफा ६ मा क्लीन फिडसम्बन्धी व्यवस्था छ र विदेशी टेलिभिजन च्यानलहरूले नेपालमा प्रसारण गर्दा क्लीन फिड मात्र होइन विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्नसमेत नपाउने व्यवस्था गरेको छ । 

क्लीन फिड नीति लागू गरेर टेलिभिजनमा विदेशी च्यानल प्रसारण रोक्ने अनि ओटीटीमार्फत उपभोक्ताको सहज पहुँचमा रहने हो भने क्लीन फिड नीतिकै उपहास हुन जान्छ । क्लीन फिड नीति लागू गर्नुको एउटा उद्देश्य विदेशीले नेपालमै र नेपालीमै विज्ञापन बनाउन र प्रसारण होउन भन्ने हो ।

विश्वभर दर्शकले पैसा तिरेर र निःशुल्क गरी टेलिभिजन हेर्नए पाउने अभ्यास छ । निःशुल्क टेलिभिजन च्यानलहरूले विज्ञापनसहित कन्टेन्ट प्रसारण गर्छन् भने दर्शकबाट शुल्क लिने च्यानलहरूले आफ्नो कन्टेन्ट मात्र दिनुपर्ने हुन्छ । अर्थात दर्शकबाट शुल्क लिएर विज्ञापनविहीन सामग्री मात्र प्रसारण गर्ने टेलिभिजन च्यानल ‘क्लीन फिड’ हो । 

क्लीन फिडको विपक्षमा रहेकाहरूले क्लीन फिडले नेपाली च्यानलहरूलाई धरासायी बनाउने दाबी गर्दै आएका छन् । उनीहरूले भारतबाट अवैध ढंगले भारतीय डीटीएचका सेटअप बक्सहरू भित्रिए नेपाली च्यानलहरू पनि प्रभावित हुने दाबी गर्न छाडेका छैनन् । यस्तो अवस्थामा सरकारले गैरकानुनी रूपमा हुन सक्ने सेटअप बक्सको आयात रोक्न दरिलो संयन्त्र बनाउनु आवश्यक छ । 

वास्तवमा आधिकारिक वितरकमार्फत मात्रै विदेशी च्यानल वितरण हुनुपर्छ । यसो हुँदा सरकारले पनि राजस्व प्राप्त गर्छ । अहिले पनि कतिपय च्यानलहरू आधिकारिक वितरकबिनै प्रसारण भइरहेका छन् भने सशुल्क च्यानलहरूले पनि विज्ञापन बजाउँदै आएका छन् । अर्कोतिर मोबाइलका लागि ओभर द टप (ओटीटी) एप्समार्फत पनि विदेशी च्यानलहरू सहजै हेर्न मिल्छ ।

टेलिभिजनमा बन्द भएका च्यानलहरू मोबाइलमा उपभोक्ताले सहजै हेर्न मिल्ने भएपछि टेलिभिजन अपरेटरहरूको व्यवसायमा स्वाभाविक धक्का लाग्छ । यसबाट राज्यले राजस्वका रूपमा ठूलो रकमसमेत गुमाउने अवस्था आउँछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफैं वा नेपाल दूरसञ्चार प्राधिकरणमार्फत ओटीटी एप्सको सहज व्यवस्थापन गर्नुपर्छ ।

क्लीन फिड नीति लागू गरेर टेलिभिजनमा विदेशी च्यानल प्रसारण रोक्ने अनि ओटीटीमार्फत उपभोक्ताको सहज पहुँचमा रहने हो भने क्लीन फिड नीतिकै उपहास हुन जान्छ । क्लीन फिड नीति लागू गर्नुको एउटा उद्देश्य विदेशीले नेपालमै र नेपालीमै विज्ञापन बनाउन र प्रसारण होउन भन्ने हो ।

तर, पछिल्ला दिनहरूमा विज्ञापन नीतिमा व्यापक परिवर्तन आएको छ । विज्ञापनका लागि सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्न थालिएको छ । यस्तो अवस्थामा विदेशी कम्पनीहरूले नेपालमा विज्ञापन बनाउलान् भनेर अपेक्षा गर्नु मूर्खता पनि हुनसक्छ । यदि विदेशी कम्पनीहरूले नेपाली भाषामा विज्ञापन बनाउने र प्रसारण गर्ने नीति अख्तियार गरेनन् भने नेपाली विज्ञापन बजार बढ्छ भन्ने कल्पना कोरा कल्पनामै सीमित हुन जान्छ ।

क्लीन फिड नीतिलाई टेलिभिजन सेटमा मात्र होइन इन्टरनेट सेवा प्रदायकहरूमा पनि लागू गरेर सामाजिक सञ्जालमा गरिने जथाभावी विज्ञापनलाई नियमन गर्नु आवश्यक छ । अहिले पनि नेपालका स्थापित बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीहरू, उत्पादनमूलक कम्पनीहरूले फेसबुकमा विज्ञापन ‘बुस्ट’ गराइरहेका छन् ।

स्वयं सञ्चार माध्यमहरूले पनि आफ्ना कन्टेन्टलाई फेसबुकमा बुस्ट गराउनेहरूको सूची लामै छ । फेसबुकलगायत सामाजिक सञ्जालका विभिन्न स्वरूपहरू आधिकारिक रूपमा नेपालमा दर्ता नभएकाले त्यहाँ हुने विज्ञापनका लागि नेपालले कर पनि प्राप्त गर्ने अवस्था छैन ।  क्लीन फिड लागू गर्ने निर्णयसँगै ग्राहकसँग थप शुल्क लिने आवाज मुखरित भइरहेको छ ।

इन्टरनेटको प्रचुर प्रयोगले पछिल्लो समय विज्ञापन गर्ने शैली, तरिका र आयाम फेरिएको छ । आफ्ना कन्टेन्ट÷विज्ञापनहरूलाई बुस्ट गराउँदा नेपालबाट औपचारिक रूपमा विदेशी मुद्रा बाहिर गइरहेको छ ।

यसले उपभोक्तालाई थप मारमा पार्ने सम्भावना पनि उत्तिकै छ । यसतर्फ सरकार चनाखो हुनुपर्छ ।

इन्टरनेटको प्रचुर प्रयोगले पछिल्लो समय विज्ञापन गर्ने शैली, तरिका र आयाम फेरिएको छ । आफ्ना कन्टेन्ट÷विज्ञापनहरूलाई बुस्ट गराउँदा नेपालबाट औपचारिक रूपमा विदेशी मुद्रा बाहिर गइरहेको छ ।

विज्ञापनवापतको ठूलो रकम भुक्तानी गर्न हुन्डीको कारोबार बढ्दै गइरहेको छ । यसले औपचारिक अर्थतन्त्रको उपहास पनि गरिरहेको छ । 
क्यापिटल म्यागेजिनबाट
 

बुधबार १७ मंसिर २०७७ १२:५४ PM मा प्रकाशित

प्रतिक्रिया