काठमाडौं । यसवर्षको तिहारको लक्ष्मीपुजाको दिन बिजुलीको माग साढे ११ सय मेगावाट हुने प्रक्षेपण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, लक्ष्मीपूजाका दिन अर्थात आज बिजुलीको माग बढी हुनेछ । गतवर्षको लक्ष्मीपूजाको दिन बिजुलीको माग १०८९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले गतवर्षको लक्ष्मीपूजाको दिनको भन्दा केही बढी बिजुलीको लोड हुने बताए । लक्ष्मीपूजाको दिन खपत हुने बिजुली अधिकांश स्वदेशी हुने र केही भारतबाट पनि ल्याउनुपर्ने उनले बताए ।
उनले झन्डै डेढ सय मेगावाट बिजुली भारतबाट आयात हुने बताए । गतवर्षको लक्ष्मीपूजाको दिन भारतबाट १०७ मेगावाट विद्युत् आयात भइ खपत भएको प्राधिकरणले जनाएको छ ।
हिन्दु नेपालीहरुको दोस्रो महान पर्व तिहारको लक्ष्मीपूजाको दिन सवैभन्दा बढि विद्युत् माग हुने समय हो । तिहारका बेला झिलिमिली बत्ती, चिम लगायतका विद्युत्तीय बत्तीले झिलिमिलि पार्ने गरिएको छ । प्राधिकरणले तिहारको अवधिभर माग अनुसारको विद्युत् आपूर्तिको बन्दोवस्त र तयारी गरेको प्रवक्ता तिम्सिनाले बताए।
११२० मेगावाट देखि ११५० मेगावाट सम्म लक्ष्मीपूजाका दिन खपत हुने देखिएको उनले बताए । केही बिजुली रिजर्भमा पनि राखिने उनले बताए । कहीँ कतै केही प्राविधिक समस्या आइपरेमा त्यसको लागि केही बिजुली रिजर्भमा राखिएको उनले बताए । साढे ११ सय मेगावाट भन्दा बढी बिजुलीको लोड भएपनि धान्न सक्ने गरी तयारी भएको तिम्सिनाले बताए ।
काठमाडौं उपत्यकामा ३०० मेगावाट हाराहारीमा बिजुलीको लोड हुने उनले बताए । कोभिडका कारण उद्योगधन्दा बन्द भएपछि बढी लोड काठमाडौं उपत्यकामा नभएको हो । झिलिमिली बत्ती र चिम बत्तीले मात्र धेरै लोड नतान्ने उनले बताए ।
लक्ष्मीपूजाका दिन प्राधिकरणले कर्मचारीलाई कार्यक्षेत्रमै खटाएको छ । कुनै समस्या आइहालेमा तुरुन्त कार्यक्षेत्रमा जान र समस्या समाधान नर्ग नो लाइट, मोबाइल टिमहरु खटिने उनले बताए ।
त्यस्तै, लक्ष्मीपूजाको दिन आवश्यक पर्ने बिजुलीको माग पूर्ति गर्न १०६ मेगावाटको कुलेखानी अर्धजलाशय आयोजना पनि चलाइनेछ । ‘कुलेखानी पनि चलाउनुपर्छ । कुल क्षमतामा चलाउनु नपर्ला, आधा क्षमतामा चलाउनुपर्छ होला’ उनले भने, ‘केही बिजुली रिजर्भ राख्छौं ।’