काठमाडौं । हाल कायम रहेको ब्रोकर कमिसनको दरलाई धितोपत्र बोर्डले घटाउने भएको छ । यहाँको ब्रोकर कमिसन संसारकै महँगो भएको भन्दै बोर्ड त्यसलाई घटाउन लागेको हो ।
बोर्डले दसैं र तिहारबीचमै ब्रोकर कमिसन घटाउने तयारी गरे पनि बोर्डका कर्मचारीमा कोरोना देखिएपछि रोकिएको छ । तिहार लगत्तै ब्रोकर कमिसन घटाउने बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले जानकारी दिए ।
बोर्डका अध्यक्ष ढुङ्गानका अनुसार ब्रोकर कमिसनका बारेमा काम गर्न बोर्डका जुन कर्मचारीलाई जिम्मेवारी तोकेको थिए, उही कर्मचारीलाई कोरोना संक्रमण भएकाले केही समय ढिला भएको हो ।
‘ब्रोकर कम्पनीलाई ब्रोकर कमिसन घट्छ भनेर जानकारी गराइसकेको छु,’ अध्यक्ष ढुङ्गानाले भने, ‘उनीहरू पनि यस विषयमा सहमत छन् ।’ यसअघि पनि एक पटक ब्रोकर कमिसन घटिसकेको छ । त्यो बेला सबै कुरा मेनुअल गर्ने प्रचलन थियो ।
तर, अहिले आएर सबै काम अनलाइनमार्फत हुन थालिसकेको छ । अहिले मान्छेको उपस्थितिबिना कारोबार गर्न सकिने अवस्था भएकाले हालको ब्रोकर कमिसन अत्यधिक भएको र त्यसलाई समायोजन गर्न लागिएको अध्यक्ष ढुङ्गानाको भनाई छ ।
ब्रोकरहरूको कामकारबाही पनि घटेको छ । अर्कोतिर कारोबार पनि द्रूत गतिमा बढेको छ । दुईवटा कारणले हालकायम रहेको ब्रोकर कमिसन ‘रिभिजन’ गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ । त्यही भएर तिहार लगत्तै बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय हुने उनले जानकारी दिए ।
हालको दरलाई घटाएर कति कायम गर्ने भन्ने विषयमा सबै सरोकारवालासँग छलफलका साथै अर्थ मन्त्रालयको आवश्यक राय सुझाव लिएर मात्रै निर्णय हुने बताए । ‘यति नै कमिसन कायम हुन्छ भन्न अहिले सकिँदैन्,’ उनले भने, ‘हालको कमिसन दर अवश्य घट्छ ।’
ब्रोकर कमिसनलाई के कसरी समायोजन गर्ने भनेर बोर्डले एउटा अध्ययन पनि गराइसकेको छ । त्यो अध्ययन प्रतिवेदनमाथि ‘इन्भेष्टर’सँग छलफल गर्ने तयारीसमेत भइरहेको उनको भनाइ छ ।
अर्को कुरा, यसैमा नेप्सेको कमिसन पनि छ । त्यसैले नेप्सेसँग र ब्रोकरसँग एक पटक बोर्डले छलफल गर्न लागेको उनको भनाइ छ । ब्रोकर कमिसनको बारेमा बोर्डले ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिसँग पनि छलफल गरिसकेको बताए ।