काठमाडौं । कोभिड–१९ कै बीचमा विदेशी पर्यटकहरू नेपाल आउन इच्छुक देखिएका छन् । सरकारले कात्तिक १ गतेबाट विदेशी पर्यटकहरूलाई नेपाल खुला गरेसँगै ‘बुकिङ’ सुरु भएको हो ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा)का वरिष्ठ उपाध्यक्ष विनय बस्नेतले अन्तर्राष्ट्रिय उडान खुलेसँगै पर्यटकहरूले नेपाल आउने मनसाय राखेर बुकिङ सुरु गरेको बताए । टिकट र प्याकेज बुकिङ भइरहे पनि नेपाल आउने भिसा प्रक्रियामा जटिलता थपिएका कारण केही समस्या भएको उनको भनाइ छ ।
विगतमा पर्यटकहरूलाई ‘अनअराइभल भिसा’ दिने गरिएकोमा कोभिड–१९ को बढ्दो प्रकोपसँगै बन्द छ । अनअराइभल भिसा बन्द हुँदा भिसा लगाउन सम्बन्धित मुलुकको नेपाली दूतावास धाउनुपर्ने प्रावधानका कारण केही असहज भएको छ । सरकारले गत फागुनदेखि सबै मुलुकका लागि अनअराइभल भिसा बन्द गरेको थियो ।
कोभिड–१९ को प्रभाव नेपालमा देखिनुअघिसम्म इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्वीट्जरल्याण्ड, सोमालिया, क्यामरुन, लाइबेरिया, इथोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाले मात्रै अनअराइभल भिसा पाउँदैनथे । तर, कोभिड कहरकाबीच सरकारले पर्यटक आगमन खुला गरे पनि भिसा प्रक्रियालाई पुरानै अवस्थामा नफर्काउँदा समस्या भएको पर्यटन व्यवसायीको भनाइ छ ।
कोभिड कहरकैबीच पनि युरोप, अमेरिका र भारतीयहरूले नेपाल आउन विशेष चासो देखाएको व्यवसायीहरूको भनाइ छ । बुद्ध एयरका मार्केटिङ म्यानेजर रुपेश जोशीका अनुसार ५÷६ वटा ग्रुपले नेपाल आउन बुकिङ गरिसकेका छन् । सरकारले बाह्य उडानसँगै असोज १ गतेदेखि आन्तरिक उडान र लामो दूरीको सार्वजनिक सवारी पनि सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
त्यसैगरी होटल तथा रेस्टुराँका साथै ट्रेकिङ र माउन्टेन क्षेत्र पनि खुला भएकाले पयर्टकहरू नेपालप्रति आकर्षित भएका हुन् । खासगरी कात्तिक १ गतेपछिलाई विदेशी ग्रुपले टिकट बुकिङ सुरु गरेका छन् ।
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विदेशी पर्यटकहरूलाई नेपाल आउन खुला गरेसँगै धमाधम बुकिङ हुनुलाई उत्साहजनक रुपमा हेर्नुपर्ने बताउँछन् । विशेष गरी नोभेम्बरका लागि बुकिङ रद्द नगरेकाहरू र केही नयाँ ग्रुपले बुकिङ गरेको उनको भनाइ छ । पर्यटक आकर्षणका लागि अहिले खुला भएको क्षेत्रले मात्रै नपुग्ने भन्दै पूर्वसीईओ जोशीले विशेष प्याकेज ल्याउनुपर्ने बताए ।
‘नेपाल आएका पर्यटकहरूलाई स्वास्थ्य सुरक्षा मापदण्ड राम्रोसँग प्रयोग गरी खुसी बनाएर पठाउन सके आगामी दिनमा राम्रो हुन्छ,’ उनले भने, ‘विशेष प्याकेजसँगै जंगल सफारी, एडभेन्चर, हेरिटेज क्षेत्रको यात्रा पनि खुला गर्नुपर्छ ।’
होटल एसोसिएसन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष एवम् होटल एयरपोर्टका सञ्चालक विनायक शाहकाअनुसार नेपालमा आउन चाहने धेरै पर्यटकहरूले क्वारेन्टाइनसम्बन्धी व्यवस्था र कोभिड प्रोटेक्सनका बारेमा बढी सोध्ने गरेका छन् । सरकारले अहिले विदेशीहरूलाई अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेका कारण धेरै पर्यटकहरू नेपाल भ्रमण गर्ने÷नगर्ने अलमलमा रहेको शाहको भनाइ छ ।
तर, पर्यटन क्षेत्रलाई खुला गरेका विश्वका अधिकांश मुलुकहरूले ७२ घण्टाको पीसीआर रिपोर्टको आधारमा घुम्न दिइरहेको छ । ‘विश्वमा चलेको विधिअनुसार नै नेपालमा पनि पर्यटक आउन÷बस्न दिने हो भने मुर्झाएको पर्यटन व्यवसायलाई चलायमान बनाउन सहयोग पुग्छ’ उपाध्यक्ष शाहले भने, ‘सरकारले आफ्नो पुरानो निर्णयलाई छिटोभन्दा छिटो परिमार्जन गरी विश्वलाई जानकारी दिन ढिलाइ गर्नुहुँदैन ।’
ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष खुमबहादुर सुवेदीले केहि बुकिङहरु आउन थालेको बताए । सुरुवाती चरणलाई उत्साहजनक रुपमा लिएका छौं,उनले भने ।
पर्यटन व्यवसायी एवम् सम्पदा गार्डेन होटलका सञ्चालक कुमार अधिकारीले नेपाल आएका विदेशीहरूसमक्ष सेफ्टी प्रोटोकलहरू पूर्ण रुपमा कडाइका साथ प्रयोग गरेको सन्देश दिनु जरुरी छ । ‘यसका लागि ट्राभल एजेन्सी, होटल तथा रेस्टुराँ, एयरलाइन्स, पथप्रदर्शकसँगै समुदाय पनि उत्तिकै सबै सचेत हुनु आवश्यक छ,’ अधिकारीले भने ।