काठमाडौं । सरकारले चकलेटको भन्सार दर १० प्रतिशत विन्दूले घटाएसँगै विशाल ग्रुपले ल्याउने चकलेटको आयातमा उच्च वृद्धि देखिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेटमा चकलेट आयातको भन्सार ४० प्रतिशतबाट घटाएर ३० प्रतिशतमा झारेका थिए ।
विशाल ग्रुपले ल्याउने चकलेटको भन्सार दर घटाएको भन्दै अर्थमन्त्री खतिवडाको सडकदेखि सदनसम्म चर्को विरोध भएको थियो ।
भन्सारदर घटेसँगै ग्रुपले चकलेट आयातलाई पनि बढावा दिइरहेको तथ्यांकले पुष्टि गर्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनमा ३८ हजार ६७१ किलो चकलेट आयात भएकोमा चालू वर्षको साउनमा २ लाख ९३ हजार ५९० किलो चकलेट नेपाल भित्रिएको छ ।
यो आयात गत आवको सोही अवधिको तुलनामा ६६० प्रतिशत बढी हो । दर कम हुने बित्तिकै चकलेट आयातमा व्यापक वृद्धि हुनुले भन्सार घटाउँदा नै नीतिगत चलखेलको पुष्टि भएको भन्सार विभागका अधिकारीहरुले बताएका छन् ।
‘चालू आवको साउनमा जसरी चकलेट आयात भएको छ । यो अत्यधिक वृद्धि हो’ भन्सार विभागका एक उच्च अधिकारी क्यापिटल नेपाललाई भने, ‘अत्यावश्यक बाहेकका र आम नागरिकको पहुँच भन्दा बाहिरको खाद्य वस्तुको आयातमा तीब्र हुँदा विदेशी मुद्रा सञ्चितिमा समेत ठूलो असर गर्छ ।’
ती अधिकारीले चकलेट आयात वृद्धिको यो रफ्तारले आन्तरिक रुपमा उत्पादन हुने चकलेटहरुको खपतमा पनि गम्भीर गर्ने बताए ।
सरकारका प्रमुखदेखि अर्थमन्त्रीसम्म गहिरो पहँुच बनाएका विशाल ग्रुपको प्रभावमा आएर अर्थमन्त्री खतिवाडले बजेटमा भन्सार दर घटाउँदा अहिले चकलेट आयात व्यापार वृद्धि देखिएको हो ।
ग्रुपका उपाध्यक्षद्वय त्रिलोक अग्रवाल र तुलसी अग्रवालदेखि प्रवन्ध निर्देशक अशोक अग्रवालसम्म अर्थमन्त्री खतिवडाको भान्सासम्म पहुँच राख्छन् । त्यही पहुँचका आधारमा खतिवडाले भन्सारदर परिवर्तन गरेर ३० प्रतिशतमा झारेका थिए । चकलेटको भन्सारदर घटेपछि नीतिगत भष्ट्राचार बढेको भन्दै अर्थमन्त्री खतिवडालको नैतिकतामाथि प्रश्न उठेको छ ।
भन्सार विभागका अनुसार गतवर्ष हार्मोनी कोर्ड (एचएस) मा १८०६९०१० मा चकलेट आएका थिएनन् । तर, चालू आवका माथि उल्लेखित एचएस कोर्डमा झण्डै ४५ हजार किलो चकलेट आएको छ ।
त्यसैगरी, एचएस कोर्ड १८०६३२०० अन्तर्गत ४२ हजार १८४ किलो चकलेट आयात आएको देखिएको छ । गत आवको उक्त एचएसको कोर्डमा चकलेट आएको भएको थिएन ।
त्यसैगरी, एचएस कोर्ड १८०६३१०० अन्तर्गत चालू आवमा २२ हजार ७५७ किलो चकलेट आयात भएको देखिएको छ । गत आवको सोही अवधिमा उक्त एचएस कोर्ड अन्तर्गत चकलेट आएको भएको देखिएको छैन् ।
विभागका अनुसार चालू आवको साउन महिनामा एचएस कोर्ड १८०६१००० मार्फत ८ हजार ४१३ केजी चकलेट आयात भएको छ । त्यसैगरी, १८०६२००० एचएस कोर्डमार्फत ९० हजार ७९१ किलो, एचएस कोर्ड १८०६३१०० एचएस कोर्डमार्फत २२ हजार ७५७, एचएस कोर्ड १८०६३२०० एचएस कोर्डमार्फत ४२ हजार १८४ किजी, एचएस कोर्ड १८०६९०१० मार्फत ४५ हजार किलो चकलेट आयात भएको देखिएको छ । एचएस कोर्ड १८०६९०९० मार्फत ८५ हजार २६१ किलो चकलेट आयात भएको छ ।
उक्त एचएस कोर्डमार्फत नेपाल भित्रिने चकलेटहरु धनाढ्य व्यक्ति मात्रै खान्छन् । यी चकलेटमा सामान्य मान्छेको पहुँच हुँदैन । तर, पनि खतिवडाले सोही चकलेटको भन्सार घटाएका हुन् । चकलेटमा घटाएको भन्सारदरलाई बढाएर पूर्ववत् अवस्थामा पुर्याउन सांसद्देखि अर्थ मन्त्रालयका कर्मचारीहरुले लविङ गरिरहेका छन् ।