काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई जोडेर आधारहिन तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण भएको भन्दै आपत्ति जनाएका छन ।
उनले बिहीबार प्रेस विज्ञप्ति जारी गरी यस्ता समाचार सम्प्रेषण नगरिदिन अनुरोध गरेका छन । ‘मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई जोडेर बिगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम, सामाजिक संजाल र गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ’ उनले विज्ञप्तिमा भनेका छन ।
विद्युत प्राधिकरण सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन, मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरु हासिल भएको घिसिङले स्पष्टपारेका छन ।
लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन प्रधानमन्त्री र ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन महत्वपूर्ण रहेको बताउदै उनले भने ‘प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई नाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन ।’
सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने सरकारको नीति रहेको उनले स्पष्टपारेका छन ।
यसैगरी प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा संचालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाईजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको सयरधनी कार्यक्रमको प्रभाकारी कार्यन्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाईन आयोजनाहरुको निर्माण गर्ने लगायतका योजना सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको समेत उनले स्पष्टपारेका छन ।
सरकारले घिसिङलाई २०७३ भदौ २९ गते विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गरेको थियो ।