काठमाडौं । समयमै मल आपूर्ति नगरेपछि सरकारले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रतिनिधिलाई बोलाएर स्पष्टीकरण सोधेको छ । कृषिमन्त्री धनश्याम भूसालले मल आपूर्तिमा भएको ढिलाईका बारे कृषि सामग्री र साल्ट्र टेड्रिङका प्रतिनिधीलाई बोलाएर जानकारी लिएका हुन ।
कृषि सामग्रीले कोरोना भाइरस महामारीका कारण मल आपूर्तिमा ढिलाई भएको बताएको थियो । त्यस्तै, आपूर्तिकर्ता शैलुङ कन्ट्रक्सनको भगिनी संस्था शैलुङ इन्टरप्राइजेजले दुई हप्ताभित्र मल कलकत्ता ल्याइपुर्याउने लिखित विवरण दिएकाले उक्त समयसम्म कुर्नपर्ने कम्पनीले मन्त्रालयलाई जानकारी गराएको थियो ।
कम्पनीले ओमनबाट रासायनिक मल ल्याउने जनाएको छ । मल आयातको लागि ‘बुक’ भइसकेको जनाएकाले दुई हप्ताभित्र कलकत्ता ल्याउने बताएकाले त्यो समयभित्र कुर्नुपरेको कृषि सामग्रीका प्रवक्ता बिष्णुप्रसाद पोखरेलले बताए
शैलुङले टेण्डर लिँदाभन्दा अहिले मलको अन्र्तराष्ट्रिय मूल्य बढी छ । त्यसकारण पहिले नै मल ‘बुक’ गरेको भए मात्रै मल कम्पनीले ल्याउन सक्नेछ । टेण्डर लिँदा अन्र्तराष्ट्रिय बजारमा मलको मुल्य प्रतिमेट्रिकटन १९० अमेरिकी डलर थियो ।
शैलुङले मल खरिद, ढुवानी, भन्सार लगायतका खर्चसहित २१५ अमेरिकी डलरमा मल ल्याउने गरी टेण्डर पाएको थियो । अहिले मलको अन्र्तराष्ट्रिय मुल्य क्रमशः बढ्दै गएर २६० अमेरिकी डलर पुगेकाले अहिलेसम्म पनि मल ‘बुक’ नगरेको भए मल आउने सम्भावना नहुने पोखरेलको भनाइ छ ।
‘आपूर्तिकर्ता कम्पनी शैलुङले दुई हप्ताभित्र मल कलकत्ता ल्याइसक्ने लिखित जवाफ दिएको छ । त्यो अवधिमा मल आएन भने उहाँहरुले मल ल्याउनुहुन्छ भन्ने कुरामा विश्वास रहदैन’ उनले भने ।
कृषि सामग्रीले आपूर्तिकर्तालाई मल ल्याउने भेसल र लोड भएको ‘पोर्ट’को ठाउँको विवरण मागेपनि उसले दिएको छैन् । कम्पनीले उक्त विवरण उपलव्ध गराउन पुनः आपूर्तिकर्तालाई पत्राचार गरेको छ । आपूर्तिकर्ताले लिखित रुपमा मल ‘बुक’ भइसकेकाले दुई हप्तामा कलकत्ता ल्याइपुर्याउने बताएको छ ।
यदि, आपूर्तिकर्ता कम्पनीले मागेको समयभित्र पनि मल ल्याएन भने सम्झौताअनुसार कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए । ‘दुई हप्ताभित्र पनि उसले कलकत्तासम्म मल ल्याएन भने सम्झौतअनुसार, उसलाई थप समय दिनु पर्ने हो या कारबाही गरेर सम्झौता खारेज गर्ने भन्ने विषयमा हाम्रो छलफल हुन्छ ।’ उनको भने ।
मल आपूर्तिमा भएको ढिलाई प्रति कृषि सामग्री र साल्टसँग मन्त्रालयले बेला बेलामा संवाद गरिरहेको प्रवक्ता केसीले बताए । ‘मल किन आएन, मल ल्याउन नसक्ने हो भने ठेकेदारहरुलाई कारबाही किन गरिएन् भन्ने हिसावले कुराकानी र छलफल भइरहेको छ’ उनले भने ।
शैलुङ कम्पनीले मल खरिद गर्न २ अर्ब १४ करोड रुपैयाँको ठेक्का पाएको थियो । उसले ल्याउनुपर्ने ८५ मेट्रिक टन युरिया मल हो । पुसमै ठेक्का पाएर जेठसम्म मल ल्याउने सम्झौता भएपनि भदौ पहिलो हप्ता लाग्दासमेत मल ल्याउन सकेको छैन् ।
आपूर्तिकर्ता कम्पनीले कोरोना महामारीका कारण ढुवानी हुन नसकेको बाहना बनाएर मल आपूर्ति नगर्दा अहिले देशभर मलको हाहाकार नै भएको छ ।