काठमाडौं । सरकारले आन्तरिक उडानमा विदेशीहरुसँग लिँदै आएको ‘डलर फेयर’ हटाउने भएको छ । सुगम क्षेत्रको हवाई भाडा समायोजन गरेको दुई वर्षपछि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशीहरुसँग नेपालीहरुले तिर्ने अधिकतम भाडा लिने गरि डलर फेयर हटाउन लागिएको हो ।
पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु सम्मिलित एक अध्ययन समितिले गरेको हवाई भाडा समायोजनमा डलर फेयर हटाएर नेपालीहरुलाई लिदै आएको अधिकतम भाडा लिने प्रस्ताव गरिएको छ । डलर फेयर हटेसँगै हाल भएको भाडा दरमा समायोजन गरि केहि बढी भाडा लिन प्रस्ताव गरिएको छ । यद्यपी संलग्न अधिकारीहरुले आधिकरीक रुपमा केही बताउन चाहेका छैनन् ।
पर्यटन मन्त्री नियुक्त भएलगत्तै योगेश भट्टराईले डलर फेयर हटाउने बताउँदै आएका थिए । नेपालमा विदेशीहरुलाई लिँदै आएको हवाई भाडा महंगो भएको गुनासो गर्दै आएका धेरै राजदूतहरुले यस विषयमा पर्यटनमन्त्री भट्टराईको पनि ध्यानाकर्षण गराएका थिए ।
मन्त्री भट्टराईले वायुसेवा सञ्चालकहरुलाई पटकपटक डलर भाडा हटाएर नेपाली सरह भाडा लिन आग्रह गरेपनि कुनै परिणाम ननिस्किएपछि अध्ययन समिति बनाएका थिए । समितिको प्रतिवेदनलाई प्राधिकरण सञ्चालक समितिले पास गरेर मन्त्रीस्तरबाट पारित भएपछि कार्यान्वयनमा आउने बताइएको छ ।
विदेशमा जाँदा नेपालीहरुले छुट्टै हवाई भाडा तिर्नुनपर्ने उदाहरण पेश गर्दै भट्टराईले स्वस्फूर्त रुपमा व्यवसायीहरुले भाडा समायोजन नगरे हस्तक्षेप गर्ने चेतावनी दिँदै आएका थिए । त्यतिबेला वायुसेवा सञ्चालकहरुले डलर फेयर घटाए व्यवसाय नै बन्द गराउने चेतावनी समेत दिएका थिए ।
बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले प्राधिकरणको एक कार्यक्रममा मन्त्री भट्टराईले डलर फेयर हटाएमा सरकारलाई व्यवसायको साँचो बुझाउने चेतावनी दिएका थिए । व्यवसायीहरुको चेतावनीपछि केहि समय मौन रहेको मन्त्रालयले फेरी भाडा समायोजन गर्ने प्रक्रिया अघि बढाएको हो ।
भाडा समायोजन गर्दा निजी क्षेत्रको तर्फबाट पनि प्रतिनिधित्व हुनुपर्नेमा डलर फेयरकै विषयमा असमति भएका कारण समितिमा निजी क्षेत्रको कसैको पनि सहभागिता छैन । निजी क्षेत्रको प्रतिनिधित्व नभए पनि प्राधिकरण र मन्त्रालयका अधिकारीहरु सम्मिलित समितिले एक्लौटी रुपमा भाडा समायोजन गरी प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बुझाएका छन् ।
सरकारले लामो दुरी र छोटो दुरीको न्युनतम र अधिकतम हवाई भडाको सीमा तोकेर बढाउने वा घटाउने गर्दछ । २०७५ सालमा सुगम क्षेत्रको हवाई भाडा समायोजन गरेको सरकारले दुर्गम क्षेत्रको भाडा भने २०६७ सालदेखी नै समायोजन गरेको छैन ।
राष्ट्रिय हवाई नीति, २०७६ अनुसार हरेक २÷२ वर्षमा भाडा समायोजन गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले पनि मुल्य बृद्धिलाई ध्यानमा राखी हरेक २/२ वर्षमा भाडा समायोजन हुनुपर्ने भनेको छ । सरकारले इन्धनमा शुल्क बढाउँदा÷घटाउँदा वायुसेवा कम्पनीले पनि इन्धन शुल्कका आधारमा हवाई भाडा बढाउने/घटाउने गर्दछन् ।
हवाई भाडामा समायोजनमा इन्धनबाहेक अन्य खर्च तथा उपकरणको लागतलाई आधार मान्ने गरिन्छ । २०७७ जेठ २५ गतेको हवाई भाडाअनुसार नेपालीहरुलाई माउन्टेन फ्लाइटको अधिकत भाडा १० हजार ९० र काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढीको भाडा ११ हजार ३४५ रुपैयाँ छ ।