काठमाडौं । कर्मचारीमा कोरोना पोजेटिभ देखिने वित्तिकै सरकारले उद्योग गर्न थालेपछि उद्योगीले त्यसको विरोध गरेका छन् । उद्योग बन्द नै कोरोनाको औषधि जसरी सरकारी अधिकारीले बुझेपछि उद्योगी/व्यवसायीले त्यसको विरोध गरेका हुन् ।
उद्योगमा काम गर्ने एक दुई जना कर्मचारीमा कोरोना पोजेटिभ देखिने वित्तिकै उद्योग बन्द गरिहाल्ने प्रवृत्ति केही दिनदेखि बढ्दै गएपछि देशभरका उद्योगीले त्यो कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।
‘देशभर कोरोना संक्रमणको दर उच्च गतिमा फैलिरहेका बेला उद्योगमा काम गर्ने कर्मचारीमा देखिन सक्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले भने, ‘कोरोना पोजेटिभ देखिएका कर्मचारीलाई आइसोलेसनमा राखेर उपचार गर्ने र उद्योगलाई निर्वाध रुपमा चल्न दिनुपर्छ ।’

यसरी उद्योगमा काम गर्ने कर्मचारीमा कोरोना देखिने वित्तिकै उद्योग बन्द गर्ने हो भने केही दिनमा देशभरका सम्पूर्ण उद्योग ठप्प हुन्छन् । ‘उद्योग बन्द हुनु भनेको उत्पादन ठप्प हुनु हो,’ मुरारकाले भने, ‘त्यही भएर सरकारले उद्योग बन्द गराउने भन्दा पनि सुरक्षापूर्वक उद्योग सञ्चालन गर्ने र कोरोना देखिए त्यस्ता कर्मचारीलाई सुरक्षित स्थानमा राखेर उपचार गर्नुपर्छ ।’
तर, अहिले उद्योगमा काम गर्ने कर्मचारीमा कोरोना पोजेटिभ देखिने वित्तिकै सरकारी अधिकारीहरु गएर उद्योग बन्द गराइहाल्ने काम भइरहेको छ । उद्योगमा भएका सम्पूर्ण कर्मचारीमा कोरोना पुष्टि भए, त्यो पनि ठिकै हो । तर, ३ सय जना काम गर्नेमा १/२ जनालाई कोरोना पोजेटिभ देखिँदैमा उद्योग नै बन्द गर्नुपर्छ । वा उद्योग बन्द नै कोरोनाको औषधि हो जस्तो गर्न नहुने उद्योगीहरु बताउँछन् ।
सरकारले जहाँ कोरोना देखियो, त्यही सिल गर्ने गरेको छ । अस्पतालमा कोरोना संक्रमित भेटिने वित्तिकै अस्पताल सिल गर्ने, उद्योगमा देखिने वित्तिकै उद्योग सिल गर्ने गरेको छ, यो कार्यलाई सरकारले तत्काल रोक्नुपर्ने नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले बताए ।

‘अस्पतालमा काम गर्ने कर्मचारी, डाक्टर, नर्स वा बिरामीमा कोरोना देखियो भन्दैमा अस्पताल नै सिल गर्न थाले पनि अन्य रोगका बिरामीलाई कहाँ उपचार गर्ने ?’ अग्रवालले भने, ‘अहिले सरकारले उद्योगमा पनि एक जनालाई कोरोना देखिने वित्तिकै सबैभन्दा पहिला उद्योग सिल गर्ने गरेको छ ।’
उद्योग सिल गर्ने भन्दा पनि त्यो उद्योगले सुरक्षाका उपायहरु अपनाएको छ कि छैन् । कोरोना पोजेटिभ देखिएका कर्मचारीलाई आइसोलेसनमा राखेर उपचार गरेको छ कि छैन भन्ने कुरा हेर्नुपर्ने र उद्योगलाई निर्वाध रुपमा चल्न दिनुपर्ने अग्रवालको भनाइ छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग बन्द गर्ने बरु त्यो उद्योगले सरकारले बनाएको सुरक्षा मापदण्ड अनुशरण गरेको छ कि छैन, त्यसतर्फ सरकारी निकायले ध्यान दिनुपर्ने बताइसकेका छन् । गृहमन्त्री रामबहादुर थापाले उद्योगमा काम गर्ने कर्मचारीमा कोरोना देखिए ती कामदारलाई सुरक्षित स्थानमा लगेर उपचार गराउने र उद्योग पनि चलाउने बताइसक्दा पनि स्थानीय निकाय र प्रहरीले त्यो कुरालाई कुनै ख्याल नगरेको उनीहरुको आरोप छ ।
याे पनि पढ्नुस्,
कर्मचारीमा कोरोना देखिने वित्तिकै उद्योग बन्द ! समाधान यही मात्र हो ?
भैरहवाका उद्योगी राजेश अग्रवालका अनुसार छिमेकी मुलुकका उद्योगमा काम गर्ने कर्मचारीमा कोरोना देखिए, ती कर्मचारीलाई उपचार गरिन्छ । तर, त्यहाँ उद्योग बन्द गरिँदैन । यहाँ सबैभन्दा पहिला उद्योग बन्द गर्ने काम भइरहको बताए । ‘सरकारले बनाएको सुरक्षा मापदण्ड अनुसार कर्मचारीमा कोरोना परीक्षण गरियो । उद्योगमा भएका कर्मचारीमध्ये केहीमा कोरोना पोजेटिभ देखियो । उनीहरुलाई आइसोलेनमा राखेर उपचार पनि गराइराखेका छौं, तर स्थानीय सरकारले उद्योग पनि बन्द गरिदिएको छ,’ उनले भने, ‘कोरोना संक्रमित व्यक्तिलाई उपचार गर्ने र उद्योगलाई सहज रुपमा सञ्चालन गर्न स्थानीय प्रशासनले सहयोग गनुपर्छ ।’

कर्मचारीमा कोरोना पोजेटिभ देखिने वित्तिकै सरकारले देशभरका आधा दर्जन भन्दा बढी ठूला र एक दर्जन भन्दा बढी साना तथा मझौला उद्योग बन्द गरिसकेको छ । त्यहाँ काम गर्ने २ हजार जना भन्दा बढी व्यक्ति बेरोजगार हुने अवस्था आएको शंकर ग्रुपका प्रवन्ध निर्देशक शाहिल अग्रवालले बताए ।

‘विदेशमा जुन कामदारलाई कोरोना पोजेटिभ देखिन्छ, त्यसलाई आइसोलेसनमा राखेर उपचार गरिन्छ भने उद्योगलाई पूर्ण रुपमा चलाइन्छ,’ नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनका अध्यक्षसमेत रहेका अग्रवालले भने, ‘तर, नेपालका कुनै उद्योगमा काम गर्ने कामदारमा कोरोना पोजेटिभ देखिए, सबैभन्दा पहिला उद्योग बन्द गर्ने काम भइरहेको छ । जुन देश, उद्योगी, बैंक र स्वयम् कामदारको पनि अहितमा छ ।’
लक्ष्मी ग्रुपका प्रवन्ध निर्देशक अञ्जन श्रेष्ठले सरकारले उद्योग बन्द गराउने भन्दा पनि उद्योगले सचेतना अपनाएका छन कि छैनन् भनेर हेर्नुपर्ने बताए । ‘तर, उद्योगमा कोरोना संक्रमित भेटिने वित्तिकै उद्योग नै बन्द गरिहाल्ने काम भइरहेको छ,’ उनले भने, ‘यो कार्य तत्काल बन्द गर्नुपर्छ ।’
