काठमाडौं । आउँदो दुइ महिनाभित्र २५ मेगावाटको दोदी ‘ए’ जलविद्युत् आयोजनाले व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्ने भएको छ । लमजुङको फलेनी र ढोडेनी गाउँपालिका स्थित दोर्दी खोलामा निर्माणाधीन आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
हालसम्म आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत पूरा भएको प्रवद्र्धक लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले जनाएको छ । आयोजनाको सिभिल तर्फ बाँध, डिसेन्डर तथा गेट संरचनाका केही काम बाहेक सवैजसो काम पूरा भएका छन् ।
प्रवेश मार्ग निर्माण र कन्ट्रक्सन पावर निर्माणको काम यसअघि नै पूरा भइसकेका छन् । हाइड्रो मेकानिकल अन्र्तगतका सवैजसो काम अन्तिम चरणमा छन् । हाइड्रो मेकानिलतर्फ ९९ प्रतिशत भौतिक प्रगति पूरा भएको छ ।
यसअघि २०७६ चैत ३० गते व्यवसायिक उत्पादन गर्नुपर्ने मिति(आएसीओडी) भएपछि कोरोना महामारीका कारण आयोजना तोकिएको समयभित्र सम्पन्न हुन सकेन् ।
कोभिड १९ महामारीका बिचमै पनि आयोजनाका काम रोकिएनन् । दुई महिनाभित्र आयोजना सम्पन्न गरी व्यवसायिक रुपमा बिजुली उत्पादन हुने प्रवद्र्धक लिबर्टी इनर्जी कम्पनीका सञ्चालक राम पाण्डेले बताए ।
त्यस्तै, कम्पनीले सोही आयोजनाबाट आगामी भदौ ३ गतेदेखि सर्वसाधारणका लागि सेयर बिक्रि गर्दैछ । कम्पनीको जारी पूँजीको २५ प्रतिशतले ३७ करोड ५० लाख बराबरको आईपीओ सेयर विक्रि गर्न लागेको उनले बताए । यसबाट ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर बिक्री गरिनेछ ।
प्रतिकित्ता १०० अंकित मूल्यका कूल ३७ लाख ५० हजार कित्तामध्ये आयोजना प्रभावित स्थानिय बासिन्दाको लागि बिक्री गर्दा बाँकी रहेको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर सर्वसाधरणलाई बिक्री गर्न लागेको छ ।
कम्पनीले निर्माण गरेको आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख ४३ हजार ८३७ रुपैयाँ रहेको छ । माथिल्लो दोर्दी ‘ए’ आयोजनाको कूल लागत ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार पुगेको छ ।