काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सिस्टम फेल हुँदा उद्योगीलाई करोडौं रुपैयाँ नोक्सान भएको छ । प्राधिकरणको भारप्रेषण केन्द्रको सिस्टम फेल भएकाले उद्योगीलाई नोक्सान भएको हो ।
हिजो अस्वाभाविक रुपमा ट्रिपिङ भएको हो, जसले उद्योगमा ठूलै असर गरेको विद्युत् प्राधिकरणका भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले क्यापिटलसँग भने, ‘प्राधिकरणको स्युचाटारमा भएको भारप्रेषण केन्दको सिस्टम फेल भएपछि त्यसको असर भैरहवा–बुटवलमा रहेका उद्योगलाई ठूलो क्षति भएको हो ।’
उनका अनुसार वर्षादको समयमा उसै पनि ट्रिपिङ बढी हुने गर्छ । त्यसमा पनि हिजो (मंगलबार) सिस्टम फेल भएकाले समस्या आएको हो ।
अन्य दिनको तुलनामा मंगलबार बढी ट्रिपिङ हुँदा उद्योगमाथि क्षति पुगेको प्राधिकरणले स्वीकार गरेको छ । हावाहुरीले गर्दा ३३ केभिए लाईन ट्रिपिङ भएको र त्यो लाइनबाट बिजुली लिने उद्योगलाई असर परेको झाले जानकारी दिए ।
एक सय ३२ केभिएमै समस्या आएपछि हाम्रो सिस्टम अनस्टेवल भएपछि दुई पटक ट्रिप भयो । बेलुका १२ बजे औद्योगिक फिडर लगाउँदा १० मिनेट पछि सिस्टम फेल भएको झाले जानकारी दिए । आजबाट सुधार भइरहेको उनले जानकारी दिए । भोलिबाट पूर्ण रुपमा सुधार हुने उनको भनाइ छ ।
सिस्टममा समस्या आएकाले बढि नै लाइन ट्रिपिङ भएको नेपाल विद्युत् प्राधिकरणको ५ नम्बर प्रदेश प्रमुख नवराज सुवेदीले जानकारी दिए । ‘हामीसँग भएको धेरैजसो आयोजना नदिमा आधारित छन्,’ उनले भने, ‘बाढीका कारण धेरैजसो आयोजनाहरु पूर्ण क्षमतामा सञ्चालनमा छैनन् । त्यसले गर्दा पनि केही समस्या भएको छ ।’
सिस्टम गएपछि लाइन गयो र सिस्टम बनेपछि लाइन आउँदा एकैपटक ओभरलोलिङ भयो । त्यसले उद्योगको केही क्षति पुगेको हुन सक्ने सुवेदीले जानकारी दिए । ‘भैरहवा–बुटवलमै लाइन ट्रिपिङको समस्या छ । सिस्टम पटक पटक डिस्टव छ’ उनले भने, ‘त्यसले अहिले ठूलो समस्या निम्त्याएको छ । तर, आजबाट केही सुधार भइरहेको छ ।’ बर्खाको समय भएकाले ट्रान्समिसनलाईनमा पनि केही समस्या आउँछ, पावरहाउस पनि पूर्ण क्षमतामा नचलेको अवस्थाले गर्दा सिस्टममा समस्या आउने गरेको उनको भनाइ छ । यो समस्या केही दिनमा समाधान हुने उनको भनाइ छ ।
लाइन ट्रिपिङले कतिपय संवेदनशील उद्योगलाई धेरै नोक्सान हुने गरेको उद्योगीहरु बताउँछन् । प्राधिकरणका कारण उद्योगीलाई नोक्सान भएको हो, त्यसको क्षतिपूति कसले दिने ? एक उद्योगीले भने ।
केन्द्रका प्रमुख सुवेदीका अनुसार अहिले जुन तरिकाले सिस्टममा समस्या आएको छ । हाम्रो काबुभन्दा बाहिरको समस्या भएकाले छिटो समाधान गर्न नसकिएको उनको भनाइ छ ।
याे पनि पढ्नुस्ः बारम्बारको लाइन बिजुली ट्रिपिङपछि भैरहवा र वीरगञ्ज करिडोरका ९० प्रतिशत उद्योग ‘सटडाउन’