काठमाडौं । नेपालस्थित टर्किस एयरलाइन्स र मेगाबाइट ट्राभलको मिलेमतोमा नेपालबाट यूरोप र अमेरिका जाने यात्रुलाई महँगोमा टिकट बिक्री गरेको पाइएको छ ।
चार्टर्ड उडानका मौका छोपी एयरलाइन्स र ट्राभल कम्पनी मिलेर टिकटको अस्भाविक मूल्य लिएको नेपालबाट यूरोप र अमेरिका पुगेका यात्रुहरुले बताएका छन् । यात्रुहरुले तालुक मन्त्रालयमा यस विषयमा खबर गरेपछि मन्त्रालयका अधिकारीहरुले छानविन गर्ने भएको छ ।
टर्किस एयरलाइन्सकी बेनाजिर खान र मेघाबाइट ट्राभलका चित्र गुरुङको मिलेमतोमा टिकटलाई महँगो बनाइएको यात्रुहरुले आरोप लगाएका छन् । लकडाउन भएपछि अन्तराष्ट्रिय उडान बन्द हुँदा टर्किस एयरलाइन्सले अमेरिकाका लागि एक हजार ९ सय डलरमा उपलब्ध गराएको टिकट मेगाबाइट ट्राभलले यात्रुलाई २२ सय ५० डलर मा बिक्री गरेको मन्त्रालयमा उजुरी परेको छ ।
पछिल्लो पटक टर्किसले १३ सय डलरमा उपलब्ध गराएको टिकटलाई सोही ट्राभलले १६ सयदेखि १६ सय ५० सम्ममा बिक्री गरेको पाइएको हो ।
त्यस्तै, यूरोपका लागि १ हजार ५० डलरमा उपलब्ध गराएको टिकटलाई ट्राभलले १३ सय डलरमा बिक्री गरेको थियो । संकटमा यात्रुहरुले महँगामो टिकट खरिद गर्नुपर्ने बाध्य भएपछि उनीहरुले उजुरी दिएका हुन् । यात्रुहरुले टर्किमा एयरपोर्ट खुल्ला भएर अनलाइन बुकिङ भएपनि चार्डर्ड उडानकै रुपमा टिकट बेचेकोसमेत आरोप लगाएका छन् ।
एयरलाइन्स र ट्राभलको मिलेमतोमा सिसिएमसीले उडान अनुमति नदिँदा पनि नेपाल नागरिक उडड्यन प्राधिकरणलाई प्रभावमा पारी चार्टर्ड अनुमतिसमेत लिएको पाइएको छ । सिसिएमसीले जुलाईको १५ देखि २२ सम्म मलेसिया र खाडीका मुलुकहरुका लागि मात्र चार्टर्ड उडान अनुमति दिएपनि क्यानले टर्किस र कतार एयरलाइन्सलाई १८ जुलाईमा चार्टर्डका लागि उडान अनुमति दिएको थियो । सिसिएमसीले १५ देखि २२ जुलाईसम्म नेपाल वायुसेवा निगम, हिमालयन एयरलाइन्स, एयर अरेविया, फ्लाई दुबई, जजिरा–२ र मालिन्दो एयरलाइन्सलाई अनुमति दिएको थियो । टर्किस एयरलाइन्सले लकडाउनको अवधिमा ६ वटा चार्टर्ड उडान गरेको थियो ।
नेपालस्थित टर्किस एयरलाइन्सकी मार्केटिङ तथा सेल्स म्यानेजर बेनाजिर खानले टर्किस एयरलाइन्सले टिकट महँगोमा नबेचेको र ट्राभलले कसरी बेचेको त्यो थाहा नभएको बताइन् । ‘मेगाबाइटले पनि महँगोमा बेचे जस्तो लाग्दैन । सब–एजेन्टहरुले महँगोको बेचेका हुन सक्छन्,’ उनले भनिन् । ‘लकडाउन सुरु हुँदा अरु एयरलाइन्सले महँगोमा टिकट बेचिरहँदा हामीले मात्र सस्तोमा टिकट दिएका थियौं ।’
मेगाबाइट ट्राभलका चित्र गुरुङलाई हामीले सम्पर्क राख्न खोज्दा उनी सम्पर्कमा आएनन र म्यासेज पठाउँदा त्यसको रिप्लाइ समेत गरेनन् ।
सामान्य अवस्थामा ५ सयदेखि १५ सय नाफा लिएर टिकट बिक्री गरेको ट्राभलले संकटको बेला ३६ हजार रुपैयाँ नाफा राखेर टिकट बिक्री गरेको हो ।
पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्रालयका एक सहसचिवले एयरलाइन्स र ट्राभलको मिलेमतोमा यात्रुलाई महँगोमा टिकट बेचेको विषयमा पछिल्लो पटक पनि गुनासो र उजुरी आएका छानविन गरिरहेको बताए । ‘अहिले केही ट्राभललाई बोलाएर हामीले बयान पनि लियौं, त्यसमा केहि ट्राभल र एयरलाइन्स दोषी देखिएका छन् उनीहरुलाई कारवाही हुन्छ,’ उनले भने ।
यसअघि पर्यटनमन्त्री योगेश भटट्राईले पनि ट्राभल एजेन्सीले धेरै भाडा लिएको पाइएमा लाइसेन्स खारेज गर्ने चेतावनीसमेत दिएका थिए । एकातिर पर्यटन मन्त्रालयले कारवाही गर्ने बताइरहँदा पर्यटन मन्त्रालयकै सहयोगमा ट्रकिस एयरलाइन्सले उडान अनुमति पाएको भन्दै मन्त्रालयभित्र नै केही अधिकारीको मिलेमतोको आशंका भएको मन्त्रालयका एक अधिकृतले क्यापिटल नेपाललाई बताए ।
‘यहाँ एकातिर कारबाही कुरा र अर्काेतिर उनीहरुसँग मिलेमतोको कुरा हुन्छ, त्यसैले कारबाही हुने कुरामा शंका छ,’ उनले भने ।