काठमाडौं । भारतको उत्तर प्रदेश, मध्यप्रदेश र राजस्थान लगायतका क्षेत्रमा सलह फटेङ्ग्राले व्यापक क्षति पुर्याएपछि नेपालमा पनि भित्रिने जोखिम थियो ।
त्यसकारण, सलह किरा नेपालमा आउने र अवस्था के छ भनेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्लान्ट क्वारेन्टिन एवम विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको संयोजकत्वमा सलह किराको आगमन तथा व्यवस्थापन सम्वन्धि विशेष प्राविधिक कार्यदल बनाएर अध्ययन गर्यो ।
कार्यदलले अध्ययन गरी प्रतिवेदन बुझाउँदै तत्काल सलह नेपालमा आउने सम्भावना नरहेको निष्कर्ष निकाल्यो । गठित समितिले विज्ञहरुसँगको परामर्शमा नेपालमा यो वर्ष सलहको प्रकोप नपर्ने तर आउँदा वर्षका लागि सावधानी अपनाउनु पर्ने निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो ।
वायुको वेगसँग सापेक्ष भएर उड्ने भएकाले यो वर्ष अफ्रिकाबाट भारतसम्म आइपुगेका सलहको हूल नेपाल आउने खालको मौसमी प्रणाली हाललाई नरहेको कार्यदलको निष्कर्ष थियो ।
तर, शनिबार विहान एकाएक बारा, सर्लाही, पर्सा, भैरहवा, नवलपरासी लगायतका जिल्लामा सलह किरा प्रकोप देखिन थालेको छ । कार्यदलले तत्काल सलह आउने सम्भावना नभएको बताए पनि कसरी सलहको प्रकोप भित्रियो ? भन्ने प्रश्न अहिले उब्जिएको छ ।
याे पनि पढ्नुहाेस, नेपालमा पनि भित्रियो सलह किरा, ४ जिल्लामा प्रकाेप फैलिएकाे पुष्टि
कार्यदलका संयोजक सहदेवप्रसाद हुमागाईँले अध्ययनबारे प्रष्ट पार्दै त्यतिबेला भनेका थिए, ‘सलहबारे लामो समयदेखि अध्ययन गरेका र उनीहरुको मार्गको पूर्वानुमान गर्ने विज्ञहरुसँगको परामर्श तथा मौसमी अवस्थाको विश्लेषण गर्दा यो वर्ष सलहको प्रकोप नेपालमा नपर्ने देखियो । तर, आउँदा वर्ष भने सम्भावना रहकाले सावधानीका लागि गर्नु पर्ने पूर्वतयारीमा अहिलेदेखि नै जुट्नु पर्ने हुन्छ ।’
उनले आउँदा वर्षमा भने सम्भावना रहेको बताए पनि अहिले नै सलह भित्रिनु कार्यदलको अध्ययनमाथि नै प्रश्न उठेको छ । कृषि अनुसन्धान परिषद्को काम र औचित्य माथि पनि प्रश्न उठ्न थालेका छन् । नार्कका वैज्ञानिक अहिले देखिएको सलह ठूलो झुण्ड वा समुहको नभइ छिटफुट मात्रै रहेको बताउँछन् ।
बर्खायामको कारण र वायुको गति अनुकुल नभएकाले ठूलो समुहमा सलह आउन नसक्ने कुरामा अझै पनि नेपालका कृषि वैज्ञानिक आशावादी छन् । नेपालको नजिकको भारतको उत्तर प्रदेशबाट ठूलो झुन्डका रुपमा सलह नेपालमा नआएको र केही सानो झुन्ड मात्र भित्रिएको हुन सक्ने नार्कका कीट अनुसन्धान विभागका प्रमुख वैज्ञानिक डा. प्रेमनिधी शर्माले बताए ।
उनले बाक्लो र ठूलो समुहमा सलह भित्रियो भने नियन्त्रण गर्न नसकिने बताए । ‘मलाइ लाग्छ अहिले देखिएको केही सानो झुन्ड मात्र हो । ठूलो झुन्डका रुपमा नेपालमा आएको जस्तो लाग्दैन्’ उनले भने, ‘ठूलो झुण्डमा सलह किरा आएमा नियन्त्रण गर्न गाह्रो हुन्छ । यो त जंगल, खोला, खेतमा पनि फैलिन सक्छ । त्यो अहिले सबैतिर फैलिएको हो कि होइन् भनेर अध्ययन हुनु जरुरी छ ।’ पातलो र सानो झुण्डको रुपमा फैलिएको हो भने त्यतिकै हराएर जाने सम्भावना हुने सक्ने शर्माले बताए ।
यता, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यदि सलह प्रकोप भित्रिएमा कसरी नियन्त्रण गर्ने भन्ने बारे अहिलेसम्म पनि रणनीति बनाएको छैन् । कार्यदलले तत्काल सलह भित्रिने सम्भावना नरहेको बताएपछि त्यति चासो र ध्यान नदिएको मन्त्रालयका एक कर्मचारीले क्यापिटल नेपाललाई बताए । तर, सलहको ठूलो झुण्ड भित्रिएमा कसरी नियन्त्रण गर्ने भन्ने तयारी अहिलेसम्म भएको देखिदैन् ।
सलह नियन्त्रण र व्यवस्थापनमा लाग्छ सरकारको तयारी ‘जब पर्छ राती, तब बुढी ताती’ जस्तै अवस्थामा छ । सलह किरा मार्न प्रशस्त बिषादी तथा कीट चाहिन्छ । यदि सलहको प्रकोप व्यापक फैलिएमा विभिन्न बिषादी जोगाड अहिले नै गर्नुपर्ने हो । तर, त्यसतर्फ कृषि मन्त्रालयले ध्यान दिएको देखिदैन् ।
याे पनि पढ्नुहाेस्, पर्सामा सलह प्रकोपः दश बजे किसानको गुनासो,अझै फिल्डमा पुगेनन् प्राविधिक
विभिन्न जिल्लामा प्रकोप देखिन थालेपछि मात्र मन्त्रालयले आकस्मिक बैठकका भनेर नार्कका वैज्ञानिक, प्रभावित जिल्लाका कृषि ज्ञान केन्द्र प्रमुख, कार्यदलका सदस्य तथा मन्त्रालयका पदाधिकारीबीच सुचना प्रविधिका माध्यमबाट अर्थात ‘जुम’ मार्फत मिटिङ भने गरेको छ । उक्त बैठकमा पनि थोरै र सानो झुण्डको सलह देखिएकाले थप अध्ययन र नियन्त्रणका लागि सवै निकायलाइ आग्रह मात्र गरिएको बुझिएको छ ।
कुन कुन क्षेत्रमा, कस्तो खालको किरा हो, त्यसको पहिचानका लागि कृषि प्राविधिक ‘फिल्ड’ खटेर अध्ययन गरेपछि मात्रै थप आवश्यक तयारी अघि बढाइने मन्त्रालयले स्रोतले जानकारी दिएको छ । यसबारे बुझ्न खोज्दा मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीसँग सम्पर्क हुन सकेन ।
के हो सलह ?
सलह फट्याङ्ग्रा जातको एक किरा हो । संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनले यो किराको नाम प्लेग दिएको छ । सलहको यसको वैज्ञानिक नाम नाम हो । यो किरा समुहमा बस्छ र कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पुर्याउछ । सलह किरा करोडौंको संख्यामा हुन्छन । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ ।
यस्तै, एक दिनमा १५० किलोमिटर भन्दा बढी टाढासम्म पुग्न सक्छन्। यो किरा यसअघि भारतको राजस्थान हुँदै दिल्ली तथा आग्राको क्षेत्रमा प्रकोपका रुपमा देखिएको थियो । सलह किराको हुलले सिंगो खेती हुने बाली केही छिनमै सखाप पार्ने गर्छ । एक वर्ग किलोमिटर क्षेत्रफलमा १५० लाखसम्म हुने यिनीहरु दैनिक ९० माइल १५० किमी सम्मको यात्रा दुरी पार गर्न सक्छन । औसतमा एउटा बथानले २५ हजारभन्दा बढी मानिसलाई खान पुग्ने खाना एक दिनमा सखाप पार्ने गरेको जनाइएको छ ।
सलह नियन्त्रण गर्ने यस्ता छन् विधि
सलह किराको व्यापक रुपमा फैलिएमा यसले ठूलो बालीनाली क्षति पुर्याउने छ । अनिकाल तथा भोकमरीको बिकराल समस्या सलह किराकै कारणले उत्पति हुन सक्छ । त्यसका लागि पनि बेलैमा सलह नियन्त्रण तथा व्यववस्थापनतर्फ सरकार जुट्नुपर्छ ।
सलह किरा नियन्त्रण विभिन्न विधीबाट गर्न सकिन्छ । सलह नियन्त्रण ४ प्रकारका गर्न सकिने बताएका छन् । मानवको पहुँचभन्दा धेरै टाढा मरुभूमिमा मात्र वंशवृद्धि गर्ने, अन्यत्र चलायमान र वयस्कको विखन्डित झुन्डको रुपमा मात्र नेपालमा आउन सक्ने भएकाले एकीकृत व्यवस्थापनको विधि सान्दर्भिक हुने वैज्ञानिकको धारणा छ । बिषादी बाहेक अन्य विकल्प पनि छन् । सहल पोसिलो किरा भएकाले जालोको पासोमा संकलन गरी दाना बनाउन सकिन्छ ।
सलह आउँदै गरेको अवस्थामा ध्वनी, धुँवा आदिको प्रयोगबाट बाधा पुर्याउन सकिन्छ । नर्सरी वा खेती हुने क्षेत्रलाइ झुल वा जालीले छोपेर पनि बाली जोगाउन सकिन्छ । तर, त्यो सम्भावना निकै न्यून छ । प्लाष्टिक घर भित्रको बालीलाइ वरिपरी किरा छेक्ने गरी जालीले बेरेर पनि सलहबाट जोगाउन सकिन्छ ।
त्यस्तै, बिषादी छर्केर पनि सलह किरा मार्न सकिन्छ । ५० प्रतिशत ईसी मालाथियन ९२५ ग्राम बिषादीमा ३ मिलिलिटर पानी मिसाएर ६०० लिटर तयारी झोल छर्कन सकिन्छ । ल्याम्डा साइहेलोथ्रीन ५ प्रतिशत ईसी, क्लोरपाइरिफोस २० प्रतिशत र्इसी, डेल्टोमेथ्रिन २.८ प्रतिशत ईसी र डेल्टोमेथ्रिन ११ प्रतिशत ईसी बिषादीमा पानी मिसाएर बिषादी छर्कर्नुपर्छ । यसो गरेमा सलह किरा मर्ने र नियन्त्रण हुने वैज्ञानिकको निष्कर्ष छ ।